काठमाडौं जानु अघिल्लो दिन साथीको फोन आयो, 'मेरो सामान छ, ल्याइदे है।'
उसलाई म तिमी वा तपाईंभन्दा पनि तँ भन्न बढी रूचाउँछु। उसको काम अलि प्रतिष्ठित नै छ। त्यसैले उसको कर्मलाई सम्मान गरौँ भन्ने लाग्छ। तर कहिलेकाहीँ सोच्दा हाँसो उठ्छ, बिचरा, उसको कर्मले समेत त ‘को’ सम्बोधन पाउँछ।
यस्तै वातावरणमा हुर्किएको अर्को साथी पनि काठमाडौं बसेर पढ्दै थियो। उसले भने ठाडै भन्यो, 'काले, मेरो ल्यापटप पनि ल्याइदे, नत्र नआइज।'
हामी तीन भाइको प्रायः बोल्ने शैली नै यस्तै हो। आफूलाई काम पर्दा उल्टै होच्याउने, थर्काउने, गाली गर्ने अनि भेटेपछि त्यही कुरामा हाँस्ने।
बाहिरबाट हेर्दा हाम्रो मित्रता अलि अनौठो देखिन सक्छ, तर हामीबीच त्यही नै अपनत्वको भाषा हो। माया देखाउन फूल चाहिँदैन, कहिलेकाहीँ एउटा गाली नै काफी हुन्छ।
साथीकी दिदीले बाटो खर्च दिनुभएको थियो। त्यही पैसा बोकेर भोलिपल्ट बिहानै काठमाडौंका लागि लागेँ। बाटो खर्च पाएको खुसीले होला, एकछिन त गाडी नै नचढी हिँडेर काठमाडौं पुगिदिन्छु कि जस्तो पनि लाग्यो। तर केही समयपछि आफ्नै खुट्टाले मेरो उत्साहलाई सम्झायो, काठमाडौं त्यति नजिक पनि छैन।
काठमाडौं जानुको मुख्य कारण थियो, मेरो चार वर्षको सम्पत्ति लिनु। त्यो सम्पत्ति अरू केही थिएन, मार्कसिट थियो।
चार वर्ष सँगै पढेका साथीहरूले मैले गर्नुपर्ने धेरै काम गरिसकेका रहेछन्। कागजपत्र तयार पारेर राखिदिएका रहेछन्। अब बाँकी थियो, म आफै गएर आफ्नो चार वर्षको मेहनत चार पानामा बुझेर फर्किनु।
अस्तिको बाढीले होला, बाटोको अवस्था निकै खराब थियो। बाहिर हेर्दा बाटोभन्दा बढी अस्तव्यस्तता देखिन्थ्यो। तर त्यो दिन म बाहिरको दृश्य हेर्नुभन्दा पनि गाडीको भाडादर र हिसाबमै अल्झिएँ। मनमनै सोच्दै थिएँ, यो गाडीले दिनमा कति कमाउँदो रहेछ? कति खर्च हुन्छ होला? चालकले कति बचाउँदो होला?
काठमाडौं पुगेँ। म झर्ने बेलामा दुई जना साथी मलाई लिन आएका रहेछन्।
'तँलाई केही थाहा छैन, हराउँछस् भनेर लिन आएको,' उनीहरूको तर्क थियो।
बाटो नजिकै साथीको कोठा थियो। त्यहीँ गएर बसेँ। भेट भएपछि फेरि पुरानै संसार सुरु भयो—जिस्किने, कोट्याउने, पिट्ने, उडाउने।
धेरै समयपछि भेटिएका थियौँ, त्यसैले गफको विषयभन्दा पनि एकअर्कालाई जिस्क्याउने विषय धेरै थिए। हाम्रो भेटमा औपचारिकता कहिल्यै टिक्दैन। केही बेरमै चार वर्षअघिको कलेजको बेन्चमा फर्किसकेका थियौँ।
त्यसपछि ब्याचलर पढेका साथीहरूलाई फोन गरेँ। 'म धेरै बस्दिनँ, काम सकेर गइहाल्छु,' भनेँ। उनीहरूले भोलिपल्ट भेट्ने निर्णय गरे।
भोलिपल्ट हामी भेटियौँ र मार्कसिट लिन बल्खुतिर लाग्यौँ। बाटोभरि खासै ठूलो कुरा भएन। तर हामी सबैका आँखामा भने आ–आफ्नै सपना झल्किरहेका थिए। चार वर्षअघि एउटै कक्षामा बसेका हामी अहिले आ–आफ्नो बाटोमा हिँडिरहेका थियौँ। कसैलाई जागिरको चिन्ता थियो, कसैलाई आफ्नै ठाउँमा केही गर्ने रहर। सपना फरक थिए, तर संघर्ष सबैको आफ्नै थियो।
अनि अन्ततः हाम्रो हातमा आयो चार वर्षको मेहनत। जम्मा चार पाना।
कहिलेकाहीँ लाग्छ, एउटा मार्कसिट कति निर्दयी कागज हो। त्यसले चार वर्षको मेहनत, रात–रातभरि पढेको समय, परीक्षा अगाडिको तनाव, असफलताको डर, सफलताको खुसी, साथीहरूसँग बिताएका दिन र कलेजका हजारौँ सम्झनालाई केही अंक र केही अक्षरमा सीमित गरिदिन्छ।
तर हाम्रो कथा त्यहाँ सकिएन।
त्यसपछि हामी टीयू ग्राउन्डतिर लाग्यौँ। रुखै–रूखको मुनि बसेर एकअर्कालाई गिल्ली गर्न थाल्यौँ। कोही कसैको कुरा उडाउँदै थियो, कोही पुरानो घटना सम्झाउँदै थियो। अनि हामी मस्त हाँस्यौँ।
एकजनाले भन्यो, 'आज त धेरै दिनपछि मज्जाले हाँसियो।'
त्यो वाक्यले एकछिन सोच्न बाध्य बनायो। कोही आफन्तको घरमा बसेका थिए, कोही आफ्नै कोठामा, कोही कता, कोही कता। सबै आ–आफ्नो व्यस्ततामा थिए। काठमाडौंले सबैलाई दौडाइरहेको थियो।
उनीहरूलाई हेर्दै मनमा एउटा प्रश्न आयो के काठमाडौंमा साँच्चै हाँसोको अभाव छ?
हुन पनि हो।
यहाँ सबै जना व्यस्त छन्। एक्लै हाँस्यो भने पागल भन्लान्, मोबाइल हेरेर हाँस्यो भने लभ परेछ भन्लान्। कसैसँग बसेर मन खोलेर हाँस्न खोज्यो भने समय हुँदैन। सहर ठूलो हुँदै जाँदा मानिसको खाली समय र हाँसो भने सानो हुँदै जाँदो रहेछ।
मन नलागी–नलागी हामी छुट्टियौँ।
मैले घर जाने भनेर बिदा भएँ।
भोलिपल्ट बिहानै साथीलाई भनेँ, 'न्युरोड जानुछ, सामान किन्न।'
उसले भन्यो, 'यति छिट्टै खुल्दैन।'
मैले फेरि आफ्नै घमण्ड देखाउँदै भनेँ, 'तैँले मलाई नसिका।'
त्यसपछि न्युरोडतिर लागेँ।
पुगेपछि साथी सही रहेछ भन्ने प्रमाणित भयो।
बजार चकमन्न थियो। पसलहरू खुलेका थिएनन्। अन्ततः नकराई फर्किएँ। केही कुरा अनुभवबाट सिक्नुपर्छ, साथीको कुरा सुनेर होइन।
घर फर्कने तयारी गर्दै थिएँ। त्यही बेला साथीकी दिदी फेरि सानो–सानो पत्रकारजस्तै सक्रिय हुनुभयो। कताबाट पाँच–छ सिटे गाडी घरतिर आउँदै रहेछ। त्यसलाई सम्पर्क गरेर आइज भन्नुभयो। अनि म पनि राजासरी त्यही गाडीमा गल्छी, धादिङ, आरूघाट, घ्याम्पेसाल हुँदै गोरखातिर लागेँ।
गाडी अगाडि बढ्दै थियो। काठमाडौंको भिड बिस्तारै पछाडि छुट्दै थियो। मनमा भने काठमाडौंमा बिताएका ती केही दिन घुमिरहेका थिए साथीको गाली, कोठाको हाँसो, चार वर्षको मार्कसिट, टियुको रूखमुनिको गफ, न्युरोडको बन्द बजार र अन्त्यमा घर फर्कने बाटो।
हातमा चार वर्षको मेहनत थियो चार पानामा। तर मनमा चार वर्षभन्दा धेरै कुरा थियो। साथीहरू छुट्टिए, बाटाहरू छुट्टिए, बसाइ छुट्टियो। तर एउटै बेन्चमा बसेर बनाएको मित्रता कहाँ सजिलै छुट्टिन्छ र?
सायद पढाइ सकिनु भनेको कलेजबाट मात्र टाढिनु होइन रहेछ। त्यो त एउटै चिया बाँडेर खाने बानीबाट, एउटै बेन्चमा बस्ने अधिकारबाट, बिना कारण हाँस्ने समयबाट र एकअर्कालाई बेइज्जत गरेरै माया गर्ने त्यो स्वतन्त्रताबाट बिस्तारै टाढिँदै जानु पनि रहेछ।
चार वर्ष बिते।
चार पानामा सीमित भए।
तर ती चार वर्षभित्र बाँचेका कथा, हाँसो र मित्रता सायद जिन्दगीभरि पनि चार पानामा अट्दैनन्।