भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङका धेरै घर, बस्ती, विद्यालय, सडक र पुल बगाएको छ। बाढीका कारण धेरै विद्यालयमा पढाइ पनि रोकिएको छ।
विद्यालय र विद्यार्थीको सम्बन्ध पनि टुटेको छ। धेरै बालबालिकाले आफ्ना बुबा, आमा, दाजुभाइ, दिदीबहिनी र आफन्त गुमाएका छन्। पत्रपत्रिका अनलाइनमा आएको विवरणअनुसार ४६ जना विद्यार्थी अभिभावकविहीन भएका छन्।
युनिसेफका अनुसार बाढीबाट १७ हजार बालबालिका प्रभावित भएका छन्। १९ विद्यालयमा पढ्ने ६ हजार ९ सय १ विद्यार्थी बाढीबाट प्रभावित भएका छन्। रसुवा र नुवाकोटका ६ सय २२ विद्यार्थी सम्पर्कविहीन छन्। पाँच विद्यार्थी मृत फेला परेका छन्।
उनीहरू पनि हामीजस्तै साना–साना बालबालिका हुन्। खेल्ने, परिवारसँग रमाउने, साथीहरूसँग हाँस्ने र विद्यालयमा पढ्ने उमेर हो उनीहरूको। तर बाढीले उनीहरूको घर मात्र बगाएन, खुसी पनि खोसेको छ। आफ्ना आमाबुबा र आफन्त गुमाएर उनीहरू अहिले ठुलो दुःखमा छन्।
अभिभावक गुमाएका र होल्डिङ सेन्टरमा रहेका ती बालबालिका फोटो भिडियो देख्दा मेरो मन निकै दुख्छ। उनीहरू आफन्तबिनै बस्दा कति डर लागिरहेको होला? मनमा कति धेरै चिन्ता होला? हामीले पनि त्यो दुःख राम्रोसँग कल्पना गर्न सक्दैनौँ।
बाढीको त्यो डरलाग्दो घटना उनीहरूको आँखामा अझै घुमिरहेको होला। राति सुत्दा सपनामा पनि त्यही बाढी आएको देखिरहेका होलान्। आफ्ना बुबाआमा, दाजुभाइ, दिदीबहिनी र आफन्तसँग खेलेका र रमाएका दिनहरू सम्झना आइरहेको होला। आफ्ना मान्छेहरू अब साथमा छैनन् भन्ने सम्झँदा उनीहरूको मन कति रोएको होला। कतिलाई त बाबुआमा गुमेको थाहा पनि छैन होला।
उनीहरूलाई राति राम्रोसँग निद्रा नलागेको हुन सक्छ। खाना खान पनि मन नलागेको हुन सक्छ। राम्रोसँग बस्न र सुत्न नपाउँदा कति दुःख भएको होला। कतिपय बालबालिका बिरामी पनि परेका होलान्। यस्तो ठुलो दुःखले उनीहरूको मनमा पनि नराम्रो असर पर्न सक्छ। त्यसैले उनीहरूलाई अहिले खाना र बस्ने ठाउँ मात्र होइन, माया, सुरक्षा र राम्रोसँग बाल्ने मानिस पनि चाहिन्छ। एकदिन हामी आफन्तसँग छुट्टिनुपर्दा त कति दुखी हुन्छौँ भने उनीहरू त अहिले कति पीडामा होलान्।
धेरै मानिसहरूले यस्ता बालबालिकालाई कक्षा १२ सम्म पढाइदिने, खान र बस्न दिने भनेर सहयोग गर्ने कुरा गरेका छन्। यस्तो सहयोग गर्नु राम्रो कुरा हो। तर हामीले बालबालिकाको सुरक्षाबारे पनि सोच्नुपर्छ। कसैले सहयोग गर्छु भनेर फकाएर लैजाने अनि पछि नराम्रो व्यवहार गर्ने पो हो कि? घरमा लगेर केही दिन पढाएजस्तो र माया गरेजस्तो गर्ने अनि पछि काम लगाउने पो हो कि? यस्तो हुनु हुँदैन। अभिभावक गुमाएका बालबालिकालाई कसैले पनि दुःख दिनु हुँदैन।
त्यसैले यस्ता अभिभावकविहीन बालबालिकाको जिम्मा सरकारले नै लिनुपर्छ भन्ने मलाई लाग्छ। सरकारले उनीहरूलाई सुरक्षित छात्रावासमा राख्नुपर्छ। त्यहाँ खाने, बस्ने र पढ्ने राम्रो व्यवस्था गर्नुपर्छ। उनीहरूको पढाइको जिम्मा पनि सरकारले लिनुपर्छ। कक्षा १२ सम्म राम्रोसँग पढ्न पाए उनीहरूले आफ्नो भविष्य बनाउन सक्छन्। पढ्न, लेख्न, खेल्न पाउनु बालबालिकाको अधिकारै हो नि। यस्तो बेलामा त झन् चाहिन्छ। उनीहरूका साथीहरू छुटेका छन्। विद्यालय जाने अवस्था छैन। धेरै दुख छ नि।
अहिले आफन्त गुमाएका बालबालिकाको मनमा धेरै चिन्ता होला। पढ्न सक्ने अवस्थामा छैनन्। कोही आफन्तको घरमा बसेका छन् भने कोही होल्डिङ सेन्टरमा। यस्तो बेलामा उनीहरूको दुःख देखाएर फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नु हुँदैन। उनीहरूलाई झन् दुःख हुने काम गर्नु हुँदैन। बरु सकिन्छ भने उनीहरूलाई सहयोग गरौँ। उनीहरूलाई हामी एक्लै छैनौँ भन्ने महसुस गराऔँ।
अहिले धेरै बालबालिकाले पनि बाढीपीडितलाई विद्यालयमार्फत सहयोग गरिरहेका छन्। कतिपय विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका छन्। कतिपयले आफ्ना अभिभावकसँग सहयोग मागेर पैसा जम्मा गरेका छन्। विद्यालयमार्फत पनि सामूहिक रूपमा सहयोग पठाइएको छ। साना बालबालिकाले पनि आफ्नो खुसीको केही कुरा छोडेर दुःखमा परेका साथीहरूलाई सहयोग गर्नु निकै राम्रो कुरा हो। हामीले दिएको सहयोग उनीहरूको लागि कपि, किताब, कलम, खाजा खर्च होस्।
हामीले पनि रिलायन्स इन्टरनेशनल एकेडेमीका सबै छात्रछात्राले बाढीपीडितका लागि सकेको सहयोग रकम अभिभावकसँग मागेर विद्यालयमा बुझाएका छौँ। हाम्रा गुरुहरूले त्यहाँ पठाउनुहुनेछ। साथीहरू हामीले त सकेको सहयोग गर्यौँ। यसरी सहयोग गर्दा बाढीपीडित साथीहरूलाई केही भए पनि राहत मिल्नेछ।
बालबालिका देशका भविष्य हुन् भनेर हामी पढिरहेका छौँ। त्यसैले उनीहरूले पनि राम्रोसँग लेख्न, पढ्न, खान बस्न पाउनुपर्छ। हामीले पनि आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नुपर्छ। दुःखमा परेका ती साथीहरूको अनुहारमा फेरि खुसी ल्याउन हामी सबै मिलेर सहयोग गरौँ।
(शिवांशी खड्का रिलायन्स इन्टरनेशनल एकेडेमी, बुढानीलकण्ठ काठमाडौँको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्।)