गोठको अँध्यारोमा रात बिताएका ७० वर्ष पार गरेका पूर्णबहादुर विश्वकर्माले बिहान आँखा खोल्दा काखमा सुतेकी सात वर्षीया नातिनीलाई उठाउन खोजे।
नातिनी उठिनन्। अघिल्लो साँझ खाएको एक मुठी कागुनोको चामल र एक घुट्को पानी नै उनको अन्तिम खाना बनेको थियो।
नातिनीलाई उपचार गराउन सुविधासम्पन्न ठाउँतर्फ हिँडेका पूर्णबहादुरको यात्रा त्यही गोठमा टुंगियो। बाटोमा बास पाउनसमेत जातीय विभेद झेल्नुपरेका वृद्धले नातिनीको उपचारको सपना बोकेर यात्रा थालेका थिए।
तर सामान्य उपचारसमेत नपाएर नातिनीले ज्यान गुमाएपछि उनको समृद्ध कर्णालीको सपना पनि त्यही अँध्यारो गोठमा हरायो।
मञ्चमा पूर्णबहादुर फेरि बाँचिरहेका हुन्छन्। उनको सपना फेरि ब्युँझिन्छ। यस पटक उनले देख्ने कर्णाली भोक, गरिबी, विभेद र अभावले थिचिएको कर्णाली होइन, उत्पादन, शिक्षा, स्वास्थ्य, प्रविधि र आत्मनिर्भरताले भरिएको समृद्ध कर्णाली हो।
मुगुको छायानाथ रारा नगरपालिका–१ का स्वर्गीय नाट्यकार एवं पत्रकार सुमन मल्लले करिब २८ वर्षको उमेरमा 'सुइना कर्णाली' को परिकल्पना गरेका थिए। कर्णालीको तत्कालीन सामाजिक, आर्थिक र मानवीय पीडालाई नजिकबाट देखेका मल्लले वास्तविकताको ठीक विपरीत एउटा समृद्ध कर्णालीको कल्पना गरे।
कर्णालीमा त्यति बेला भोकमरी, गरिबी, स्वास्थ्य सेवाको अभाव र यातायातको कठिनाइ सामान्यजस्तै थियो। औषधिको एउटा ट्याब्लेट पाउन नसक्दा झाडापखालाले अकालमै मृत्युको मुखमा पुग्न बाध्य कर्णालीको पीडा कहालीलाग्दो थियो। नदीमा पुल नहुँदा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। सरसफाइको अभाव, कुपोषण, झाडापखाला, रुघाखोकीलगायतका कारण अकालमै ज्यान गुमाउने अवस्था थियो।
सीमित भोकको पीडा थाम्न पाँच किलो चामल र एक किलो नुनका लागि समेत खाद्य संस्थानको गोदाममा दिनभर लाइन बस्नुपर्ने अवस्था थियो। यही यथार्थबाट मल्ल प्रश्न गरिरहन्थे— कर्णाली यस्तो मात्र किन रहिरहने?
त्यसको उत्तर उनले नाटकमा खोजे—'सुइना' अर्थात् सपनामा।
त्यहाँ कर्णालीले अन्न निर्यात गर्छ। सुइना कर्णालीको संसारमा कर्णालीको कुनै जमिन बाँझो छैन।
धान, कोदो, जौ, गहुँ, फापर, आलु, चिनो, कागुनो, स्याउ, ओखरदेखि जडीबुटीसम्मको उत्पादनमा समृद्धि छ। कर्णालीबाट बर्सेनि हजारौं मेट्रिक टन अन्न बाहिरिन्छ। जडीबुटी प्रशोधन हुन्छन् र औषधि उत्पादन गरेर विश्व बजारमा निर्यात गरिन्छ।
कर्णालीका खोलानाला र नदीबाट हजारौं मेगावाट विद्युत उत्पादन हुन्छ। विद्युत विदेशसम्म निर्यात हुन्छ। नाटकको कर्णालीमा ठूला विश्वविद्यालय छन्। देश–विदेशका विद्यार्थी त्यहाँ अध्ययन गर्न आउँछन्। अत्याधुनिक अस्पतालमा उपचार गराउन संसारका विभिन्न देशबाट बिरामी आउँछन्।
हिमाली क्षेत्रमा केबलकार र रेल छन्। गाउँबस्ती सडकविहीन छैनन्। सडकका दायाँबायाँ हरियाली छ। हवाई यातायातको व्यापक विस्तार छ।
आधुनिक सञ्चार प्रविधि प्रत्येक नागरिकको हातमा छ। आफ्नै भू–उपग्रहदेखि आफ्नै भाषाका विश्वविद्यालयसम्मको कल्पना गरिएको छ। त्यहाँका मन्त्री, कर्मचारी र सर्वसाधारण बोल्नुभन्दा काम गर्न व्यस्त छन्।
प्रधानमन्त्री र मन्त्रीले कर्णालीको भ्रमण गर्दा पनि मन्त्रीहरू उनीहरूको स्वागतमा मात्र उभिएर बस्दैनन्। कोही ऊन कातिरहेका छन्, कोही स्विटर र टोपी बुनिरहेका छन्, कोही विकास योजनाको खाका तयार गरिरहेका छन्।
प्रधानमन्त्री अचम्म मान्छन्।
'कर्णाली समृद्ध हुनुको कारण के हो?'
उत्तर हुन्छ— काम, व्यस्तता र परिश्रम।
सपनाको कर्णालीमा विभेद छैन।
सुइना कर्णालीको सबभन्दा महत्वपूर्ण पक्ष केवल भौतिक विकास होइन। जातीय र लैंगिक विभेद अन्त्य भएको समाज नाटकको अर्को ठूलो सपना हो
सुइना कर्णालीका नाटकको मूल मर्म कर्णाली प्रदेशका मानिसहरूले भोग्नुपरेको गरिबी, अभाव, अशिक्षा, बेरोजगारी र सामाजिक पछौटेपन उजागर गर्नु हो। नाटकले कर्णालीका जनताको दुःख, संघर्ष र कठिन जीवनसँगै उनीहरूमा रहेको आशा, सपना र परिवर्तनको चाहना प्रस्तुत गरेको छ।
यसले कर्णालीलाई केवल पिछडिएको क्षेत्रका रूपमा हेर्नुभन्दा त्यहाँका मानिसका समस्या बुझेर शिक्षा, रोजगारी, विकास र अवसर उपलब्ध गराउनुपर्ने सन्देश दिन्छ। साथै, कठिन परिस्थितिमा पनि आफ्नो सपना पूरा गर्न निरन्तर प्रयास गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ।
पूर्णबहादुर विश्वकर्माले बाटोमा बास नपाएको दृश्यबाट सुरू हुने कथा अन्ततः यस्तो समाजमा पुग्छ, जहाँ नागरिकको परिचय जातले होइन, समान अधिकारले हुन्छ। नाटकले कर्णालीको विकासलाई सडक, भवन, विमानस्थल र विद्युत्मा मात्र सीमित गर्दैन। सामाजिक सम्मान, समानता र मानवीय गरिमालाई पनि समृद्धिको आधार मान्छ।
२०६६ सालमा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सुइना कर्णालीका प्रदर्शन भयो। गुरूकुल थिएटर हलमा मञ्चन भएको नाटक हेर्न मन्त्रीदेखि कूटनीतिक नियोगका उच्च अधिकारी, विद्यार्थी र रंगकर्मीको भीड लागेको थियो।
नाटक निर्देशन आरोहण गुरूकुलका सुनिल पोखरेलले गरेका थिए।
पूर्णबहादुर विश्वकर्माको भूमिकामा स्वयं लेखक सुमन मल्ल थिए। नन्दप्रसाद खत्री, ईरानीसुन्दरी भाम, कविराज भाम, सूर्य मणि हमाल, हिरा बिजुल्ली, राज्यलक्ष्मी मल्ल, तारा खत्री, आषिशकुमार मल्ल, माया खड्का, पूर्णबहादुर भाम, कमल नेपाली, धनबहादुर बिटालु, लक्ष्मण रोकाया र गगनबहादुर बुढालगायत कलाकारले विभिन्न भूमिका निर्वाह गरेका थिए।
बालकलाकारका रूपमा ईरानीसुन्दरी भामले पूर्णबहादुरकी नातिनीको भूमिका निर्वाह गरेकी थिइन्। नाटकले कर्णालीको पीडालाई केवल सुनाएन, त्यसलाई दर्शकको आँखाअघि दृश्यमा उतार्यो। अनि त्यही पीडामाथि समृद्धिको सपना निर्माण गर्यो।
सुइना कर्णालीका मञ्चमा आएको डेढ दशकभन्दा बढी भइसकेको छ। नाटककार मल्लको दृष्टिमा त्यस बेलाको सपनासँग बुनिएको र रंगाइएको कर्णालीसँग तुलना गर्दा केही सपना वास्तविकतामा परिणत भएका छन् भने धेरै सपना अझै अधुरै छन्।
विकट हुम्लादेखि कर्णालीका अन्य जिल्लाका नागरिक जिल्ला सदरमुकामबाट मोटर चढेर राजधानी पुग्न सक्ने अवस्था बनेको छ। हुम्लामा सुत्केरी बोक्ने एम्बुलेन्सको व्यवस्था भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि कर्णालीमै चिकित्सक उत्पादनको बाटो खुलेको छ। सीमित कर्णाली मात्र नभएर अहिले जुम्लामा चिकित्सक अध्ययनका लागि भारतबाट विद्यार्थीहरू आएका छन्। पहिले कर्णालीले डाक्टर पाउन मुश्किल हुन्थ्यो भने अहिले कर्णालीले डाक्टर सरकारलाई पठाउन सक्ने बनेको छ। जुम्लामा डाक्टर पढ्न विद्यार्थीहरू रमाउने गरेका छन्।
पाँच किलो चामल र एक किलो नुनका लागि नेताको भनसुन तथा गोदाममा लामो लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ। सहरदेखि गाउँबस्तीसम्म सडक सुविधा पुगेपछि स्थानीयलाई दैनिक उपभोग्य वस्तु प्राप्त गर्न सहज बनेको छ। सहरबाटै गाडी चढेर गाउँमा पुग्न सकिने सुविधा भएको छ।
सरकारले खोलादेखि कर्णाली नदीसम्मका सयौं पुराना तुइन विस्थापित गरी झोलुंगे पुल, बेलिब्रिज र पक्की पुल निर्माण गरेको छ। कर्णालीमा अब ती जोखिमपूर्ण तुइनका दिन सपना जस्तै हुन थालेका छन्।
संघीयता लागू भएसँगै स्थानीय सरकार सञ्चालनमा आएपछि गाउँ, वडा, पालिका र नगरपालिकाबाटै धेरै सरकारी सेवा लिन सकिने भएको छ। गाउँमै नागरिकता, जन्म तथा मृत्यु दर्ता, विकासका योजना स्थानीयले पाउन थालेपछि विगतका दुःखका पीडाहरू क्रमशः मेटिँदै गएका छन्।
औषधिको सिटामोलसमेत नपाइने विगतको अवस्था अहिले सुधारिँदै गएको छ। प्रत्येक गाउँबस्तीमा स्वास्थ्य सेवा र प्रसूतिगृह स्थापना भएपछि गर्भवती आमादेखि सामान्य रोगका बिरामीलाई औषधि उपचार गर्न सुविधा भएको छ।
विगतमा अकालमा ज्यान गुमाउँदै आएका गर्भवती महिला अहिले गाउँमै प्रसूति सेवा केन्द्रमा सहज र सुरक्षित तरिकाले सुत्केरी हुने गरेका छन्।
'अहिले गर्भवती आमाहरू गाउँमै सुरक्षित हिसाबले बच्चा जन्माउने गरेका छन्,' मुगुको कालै प्रसूतिगृहमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही भन्छिन्।
जोखिममा रहेका सुत्केरी आमालाई सरकारले एयर एम्बुलेन्सको समेत व्यवस्था गरिदिएको उनको भनाइ छ।
सञ्चारको पहुँच पनि विस्तार भएको छ। सदरमुकाम पुगेर आफन्तलाई फोन गर्नुपर्ने बाध्यता हटेको छ। घरको आँगनबाटै विदेश वा देशका अन्य ठाउँमा रहेका आफन्तसँग कुरा गर्न मात्र नभई इन्टरनेटबाट भिडिओ कलसमेत गर्न सकिने अवस्था बनेको छ।
नेपाल टेलिकमले विकट गाउँबस्तीमा फोरजी इन्टरनेट सेवा विस्तार गरेपछि कर्मचारी, विद्यार्थी र स्थानीयले अहिले घरबाटै देश–विदेशमा भिडिओ कल गर्न, समाचार हेर्न तथा गाउँका राम्रा कुराहरू भिडिओ र फोटो खिचेर आफ्नो सामाजिक सञ्जालमा अपलोड गर्न सक्ने सुविधा पाएका छन्।
साक्षर महिलाहरूले पनि मोबाइल चलाउन जान्ने भएका छन्। इन्टरनेटको सुविधाले दुर्गमका महिला अचेल घाँस–दाउरा र मेलापात जाँदा मोबाइलमा गीत सुन्दै थकान मेटाउने गरेका छन्।
विद्यालयमा पाठ्यपुस्तकको उपलब्धता र कर्णालीका विभिन्न जिल्लामा हवाई सेवाको पहुँच पनि विगतभन्दा विस्तार भएको छ। विगतका वर्षमा विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएरै च्यातिएका पुस्तक पढेर वार्षिक परीक्षा दिनुपर्ने बाध्यता थियो। अहिले शैक्षिक सत्र सुरू हुने एक महिनाअघि नै विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुग्छ।
दुर्गमका विद्यार्थीहरू कक्षाकोठामा कम्प्युटरमा रमाउँछन्। विभिन्न संघसंस्था तथा सरकारी निकायले विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरूले सुविधा महसुस गरेका छन्।
यी परिवर्तनलाई नाटककार मल्ल कर्णालीका केही सपना विपनामा परिणत भएको रूपमा हेर्न चाहन्थे।
तर उनको प्रश्न अझै बाँकी नै थियो— के कर्णालीको मूल पीडा अन्त्य भयो?
सुइना कर्णालीका नाटकमा गरिबी र भोकमरीको पीडा मात्र उजागर गरिएको छैन। गाउँबस्तीमा उत्पादन हुने अर्गानिक अन्न, स्याउ, फलफूल र जडीबुटी बाहिर निर्यात गर्ने परिकल्पना गरिएको थियो, त्यो अहिले साकार बनेको छ। गाउँमा सडक पुगेपछि त्यहाँको उत्पादन अहिले सहर पुगेको छ।
सडक सुविधाले गर्दा मुगु, जुम्ला र डोल्पाको स्याउले पर्याप्त बजार पाएको छ। कर्णालीका किसान अहिले स्याउ बेचेर आत्मनिर्भरतातिर बनेका छन्।
तर मल्लको दृष्टिमा संघीयता आएपछि स्थानीय सरकारसम्म विकासको अधिकार र स्रोत पुगे पनि त्यसको प्रभाव अपेक्षित रूपमा देखिन सकेको छैन। भ्रष्टाचार र विकृति अन्त्य अझै हुन सकेको छैन।
उनका अनुसार राजनीतिक नेतृत्व, सरकार र संयन्त्रमा कामभन्दा कुरा र भाषणको बाहुल्यता बढेको अनुभूति हुन्छ। बेरोजगारी र गरिबीको अन्त्य हुन सकेको छैन। रोजगार खोज्दै युवायुवतीहरू गाउँ छोडेर विदेश पलायन हुने क्रम रोकिएको छैन। सरकारले गाउँमा रोजगार सिर्जना गर्न नसक्दा दुःख गरेर पढेलेखेका युवाहरू अहिले विदेश धाउन बाध्य छन्।
सुइना कर्णालीकामा कल्पना गरिएको समृद्ध प्रदेश र आजको कर्णालीबीच अझै ठूलो दुरी छ।
नाटकको उद्देश्य भविष्यवाणी गर्नु थिएन। त्यो कर्णालीलाई गरिएको प्रश्न थियो— हामी कस्तो कर्णाली बनाउन चाहन्छौं?
सुइना कर्णालीकापछि मल्लले २०६५ सालमै अर्को नाटक 'कर्नाली दख्खिन बग्दछ' लेखेका थिए। पहिलो नाटकमा समृद्ध कर्णालीको सपना देखाइएको छ भने दोस्रो नाटक कर्णालीको पीडा र अभावमा केन्द्रित छ।
गरिबीका कारण कर्णालीका नागरिक श्रम बेच्न भारततर्फ जानुपर्ने बाध्यतालाई नाटकले मुख्य विषय बनाएको छ। मल्लले स्वयं 'हुड्के'को भूमिका निर्वाह गरेका थिए। एउटै भूगोलका दुई फरक चित्र—एउटामा सपनाको कर्णाली, अर्कोमा बाध्यताको कर्णाली।
यिनै दुई नाटकले कर्णालीको समग्र कथा भन्न खोज्छन्। सुइना कर्णालीका चर्चित भयो, तर त्यसको यात्रा लामो हुन सकेन। नाटकलाई विदेशमा प्रदर्शन गर्ने, नेपालीसँगै अंग्रेजीमा रूपान्तरण गर्ने र पुस्तकका रूपमा प्रकाशित गर्ने मल्लको सपना अझै अधुरै छ।
आर्थिक अभावका कारण नाटकलाई पुस्तकका रूपमा ल्याउन नसकेको उनको भनाइ रहेको थियो। रंगमञ्चमा अभिनय गरेका कलाकारहरू पनि समयसँगै आ–आफ्नो पेसातिर लागेका छन्।
बालकलाकार ईरानीसुन्दरी भाम भने काठमाडौंमा अध्ययनसँगै गीतसंगीतमा सक्रिय रहँदै पारिवारिक बन्धनमा बाँधिएकी छन्।
नाटककार मल्ललाई जीवन निर्वाहसँगै नयाँ नाटक लेख्ने रहरले पछ्याइरह्यो। आर्थिक कठिनाइ, पारिवारिक समस्या र आर्थिक अभावले पनि पछ्याइरह्यो। अन्ततः केही वर्षअघि कलिलो उमेरमै उनले यस धर्तीबाट सधैंका लागि बिदा लिए।
कर्णालीलाई सेतो कागजमा होइन, जीवनमा उतार्ने सपना सुइना कर्णालीको एउटा पात्र गगनबहादुर बुढाका अनुसार कर्णालीको समृद्धिको कथा सेतो कागजमा मसीले लेखेर मात्र पूरा हुँदैन। नाटकले दिएको सन्देशलाई विकासको व्यवहारमा उतार्नुपर्छ।
रंगमञ्चमा देखाइएको त्यो कर्णाली केवल कलाकारको कल्पना थिएन। त्यो अभावमा बाँचिरहेको कर्णालीका नागरिकले देखेको सामूहिक सपना थियो।
पूर्णबहादुर विश्वकर्माले अँध्यारो गोठमा नातिनी गुमाएको दृश्यदेखि प्रधानमन्त्रीले समृद्ध कर्णालीबाट अनुदान माग्नुपर्ने दृश्यसम्म नाटकले एउटा व्यंग्यात्मक प्रश्न खडा गर्छ— समृद्धि माग्ने कर्णाली कहिले समृद्धि दिने कर्णालीतिर उन्मुख बन्दै गएको छ?
डेढ दशकअघि मञ्चमा देखाइएको कर्णालीमा अस्पताल थिए, विश्वविद्यालय थिए, उद्योग थिए, सडक थिए, रेल थिए, विमानस्थल थिए, समानता थियो र सबैभन्दा ठूलो कुरा—नागरिकसँग आफ्नै भविष्यप्रतिको सपना थियो।
आज तीमध्ये केही सपना वास्तविकतामा देखिन थालेका छन्। केही अझै मञ्चमै छन्। रंगमञ्चको पर्दा झरे पनि पूर्णबहादुरको सपना झरेको छैन।
कर्णालीको वास्तविक समृद्धिको यात्रा सुरू हुन अझै बाँकी रहेको संकेत गर्दै सुइना कर्णालीका आज पनि उही प्रश्न बोकेर उभिएको छ— सपनामा देखिएको कर्णालीको समृद्धि अब विपनामा कसले उतार्ने?