भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको बाढीले बस्ती, सडक र अन्य संरचनामा ठूलो क्षति पुर्यायो।
लेदोले पुरिएका ठाउँ हेर्दा एउटा प्रश्न फेरि उठ्छ— हामीले घर र सडक बनाउँदा त्यहाँको भूगोल, पानीको बाटो र सम्भावित जोखिमलाई कति बुझ्यौं?
मानिस सुरक्षित जीवनको खोजीमा घर बनाउँछ। तर घर बनाउनु मात्र पर्याप्त छैन। त्यो कहाँ बनाउने, कसरी बनाउने र वरपरको बस्ती तथा पूर्वाधारसँग कसरी जोड्ने भन्ने निर्णय पनि उत्तिकै महत्त्वपूर्ण छ। गलत ठाउँमा बनेको बलियो घरसमेत सुरक्षित नहुन सक्छ।
घर बनाउने हाम्रो तरिका
हामीकहाँ घर बनाउने काम प्रायः जग्गा किनेर नक्सा पास गर्ने, सामग्री जुटाउने र मिस्त्री लगाउने क्रमबाट अघि बढ्छ।
प्राविधिकसँग नक्साका लागि परामर्श लिइए पनि निर्माणभरि नियमित निगरानी गराउने अभ्यास कमजोर छ। दक्ष जनशक्ति र प्राविधिक सुपरिवेक्षणलाई थप खर्च मान्ने सोच पनि अझै छ। घर बनाउन खर्च गर्न तयार हुने हामी, त्यसको सुरक्षाका लागि आवश्यक सल्लाह लिन भने हिच्किचाउँछौं।
मैले देखेका केही देशमा आवास निर्माणको जिम्मा व्यवस्थित कम्पनीलाई दिइन्छ। जग्गाको छनोटदेखि नक्सा, स्वीकृति, सामग्री र निर्माणको गुणस्तरसम्म एउटै प्रक्रियाभित्र हेरिन्छ। सबै ठाउँको व्यवस्था उस्तै हुँदैन र विदेशमा बनेको हरेक घर नेपालका लागि नमुना पनि हुन सक्दैन। तर योजनाबद्ध बस्ती, स्पष्ट मापदण्ड र निर्माणको निगरानीबाट हामीले सिक्न सक्छौं।
नेपालमा चाहिँ एउटै टोलमा एकतले घरसँगै साततले भवन उभिएको देखिन्छ। कतै सडक साँघुरो छ, कतै ढल र पानी निकासको व्यवस्था छैन। घरको नक्सा पास भए पनि बस्तीको समग्र स्वरूप कस्तो बनिरहेको छ भन्ने प्रश्न ओझेलमा पर्छ। एउटा घर सुरक्षित हुनु र पूरै बस्ती सुरक्षित हुनु फरक कुरा हुन्।
पुरानो सीपबाट के सिक्ने?
हाम्रो निर्माण परम्परालाई बेवास्ता गर्न मिल्दैन। मल्लकालीन मन्दिर, दरबार र बस्ती हेर्दा स्थानीय सामग्री, शिल्प र ठाउँअनुसारको निर्माण ज्ञान देखिन्छ। भक्तपुरको न्यातपोल मन्दिर, पाटनको कृष्ण मन्दिर र नुवाकोटको साततले दरबार त्यस परम्पराका महत्त्वपूर्ण उदाहरण हुन्। पुराना संरचनाले पनि विभिन्न समयमा क्षति बेहोरेका छन्। तिनलाई अजेय मानेर होइन, तिनको निर्माण पद्धति अध्ययन गरेर सिक्नुपर्छ।
नेपालमा डकर्मी, सिकर्मी, चित्रकार, ताम्राकार, कंसाकार, प्रजापति लगायतका अनेक शिल्पी समुदायले पुस्तौं लगाएर सीप विकास गरे। भवन र मठमन्दिर मात्र होइन, तिनसँग जोडिएको कला र संस्कृति पनि यही श्रमबाट जोगियो। अरनिकोको कामले नेपाली शिल्पलाई चीनसम्म पुर्यायो। आज हामीले त्यही सीपलाई आधुनिक इन्जिनियरिङसँग जोड्ने बाटो खोज्नुपर्छ।
गाउँका पुराना घरमा पनि उपयोगी ज्ञान छ। काठका बन्धन, हलुका संरचना, भित्ताको बनोट र स्थानीय सामग्रीको प्रयोग ठाउँको आवश्यकता बुझेर गरिएको हुन्थ्यो। सबै पुराना घर सुरक्षित थिए भन्ने होइन। तर गाउँको घरलाई ‘पुरानो’ भनेर पन्छाउने र पिलर भएको घरलाई स्वतः ‘बलियो’ ठान्ने दुवै सोच गलत हुन्। जमिन, डिजाइन, सामग्री र निर्माणको गुणस्तर जाँचेर मात्र घर कति सुरक्षित छ भन्न सकिन्छ।
भूकम्प प्रतिरोधी घर भन्नाले कहिल्यै नहल्लिने घर बुझिँदैन। ठूलो धक्का आउँदा पनि तत्काल नढली मानिसलाई बाहिर निस्कन समय दिने गरी घर बनाउने लक्ष्य हो। त्यसका लागि उपयुक्त डिजाइनसँगै निर्माणका प्रत्येक चरणमा सही सामग्री र सीप चाहिन्छ। मापदण्ड कागजमा पालना भएको देखाएर मात्र घर सुरक्षित हुँदैन।
घरभन्दा पहिले जमिन हेर्नुपर्छ
नेपालको हिमाल, पहाड र मधेशका जोखिम फरक छन्। नदी किनारमा बाढीको जोखिम छ भने भिरालो जमिनमा पहिरोको। कतै कमजोर माटो छ, कतै पानी निकासको समस्या। त्यसैले सबै ठाउँमा एउटै ढाँचाको घर, सडक वा बस्ती बनाउने सोचले काम गर्दैन।
हामीलाई भूउपयोगको स्पष्ट योजना चाहिन्छ। कुन जमिन खेतीका लागि जोगाउने, कहाँ बस्ती विस्तार गर्ने, नदीले बहाव फैलाउन सक्ने ठाउँ कति छाड्ने र सडक कुन बाटो लैजाने भन्ने निर्णय घर बन्नुअघि हुनुपर्छ। जमिनको भारवहन क्षमता नहेरी भवनको तला थप्ने वा सडकको पहुँच पुग्यो भन्दै जोखिमपूर्ण ठाउँमा घडेरी काट्ने काम रोक्नुपर्छ।
काठमाडौं उपत्यकाले समयमै योजना नबनाउँदाको परिणाम भोगिरहेको छ। साँघुरा र अनियमित सडक, पानी निकासको अभाव तथा जथाभाबी फैलिएका भवनलाई पछि सच्याउन निकै कठिन हुन्छ। अब मध्यपहाडी राजमार्गका आसपास, मधेशका सडक छेउछाउ र उत्तर–दक्षिण जोड्ने मार्गमा नयाँ बजार बढ्दै जाँदा यही गल्ती दोहोरिन दिनु हुँदैन।
नयाँ सहर भन्नाले घरको संख्या बढ्नु मात्र होइन। सुरक्षित जमिन, खुला ठाउँ, पानी, ढल, विद्यालय, स्वास्थ्य सेवा, यातायात र विपद्का बेला निस्कने बाटो त्यसका आधार हुन्। पालिकाले आज अनुमति दिएको भवन र सडकले केही दशकपछि कस्तो बस्ती बनाउँछ भन्ने पनि आजै सोच्नुपर्छ।
योजना बनाउँदा नेपाली बस्तीको आफ्नोपन बचाउन सकिन्छ। बुइँगल, बार्दली, पिँढी, दलान, मचान, आँगन र अगेनोजस्ता शब्द घरका भागका नाम मात्र होइनन्; तिनमा बस्ने र एकअर्कासँग भेट्ने हाम्रो तरिका जोडिएको छ। नयाँ घरमा सबै कुरा पुरानै राख्न सम्भव नहोला। तर सुरक्षा र सुविधासँग मेल खाने पक्ष जोगाउन नसकिने होइन।
हामीले १९९०, २०४५ र २०७२ सालका भूकम्पबाट पाठ सिक्नुपर्ने थियो। बाढी र पहिरोले पनि पटक–पटक जमिन र पानीको स्वभाव नबुझी गरिएका निर्माणको जोखिम सम्झाएका छन्। विपद् आएपछि राहत र पुनर्निर्माण आवश्यक हुन्छ। त्यसभन्दा अगाडि गर्न सकिने काम भने जोखिम पहिचान, उपयुक्त ठाउँको छनोट र निर्माणको निगरानी हो।
जमिन थप्न सकिँदैन, तर त्यसको उपयोग गर्ने तरिका बदल्न सकिन्छ। गाउँलाई आवश्यक सुविधा पुर्याउँदै गाउँकै रूपमा बस्नयोग्य बनाउन सकिन्छ। सहरलाई जमिनको क्षमताअनुसार विस्तार गर्न सकिन्छ। खाद्यान्न उत्पादन, आवास, पर्यटन र अन्य उपयोगका लागि जमिन छुट्याएर दीर्घकालीन योजना बनाउन सकिन्छ।
भदौ १० को बाढीपछि पनि हामीले पुरानै ठाउँमा पुरानै तरिकाले संरचना बनायौं भने अर्को विपद्ले फेरि यही प्रश्न सोध्नेछ। भद्रगोल संरचनामा रमाइरहने कि सुरक्षित र सुन्दर बस्ती बनाउन आजैदेखि सुध्रिने? निर्णय अब घर बनाउने व्यक्ति, प्राविधिक र राज्य सबैले मिलेर गर्नुपर्छ।
(पोखरेल विपद् पूर्वतयारी सञ्जालका संस्थापक सदस्यमध्ये एक हुन्।)