म एउटा प्रश्नबाट सुरू गर्छु — नेपाली कांग्रेसको स्थापना कसरी भएको थियो? केका लागि भएको थियो?
जबाफ सजिलो छ — नेपाली कांग्रेसको स्थापना आन्दोलनबाट भएको थियो।
कांग्रेसले दुइटा आन्दोलन सँगसँगै लडेको थियो — राष्ट्रिय स्वतन्त्रताको आन्दोलन, प्रजातन्त्रको आन्दोलन।
किनभने, २००७ सालको आन्दोलन प्रजातन्त्रको आन्दोलन मात्र थिएन। राष्ट्रिय स्वतन्त्रताको आन्दोलन पनि थियो। बाह्य रूपमा कहिले पनि उपनिवेश नभएको देश राणाहरूको कब्जामा थियो। कांग्रेसले त्यसविरूद्ध आन्दोलन गर्यो। त्यो आन्दोलनलाई 'मुक्ति आन्दोलन' पनि भनिन्छ। अनि योद्धाहरूलाई 'मुक्ति सेना' भनिन्छ।
त्यसैले कांग्रेस स्थापनालाई हामी अर्को तरिकाले पनि व्याख्या गर्न सक्छौं — प्रजातन्त्र स्थापना गर्न र राष्ट्रियता बलियो बनाउन नै कांग्रेस स्थापना भएको थियो।
तर स्वतन्त्रताका लागि गरिएका, मुक्तिका लागि गरिएका आन्दोलनहरू लोकतन्त्रको आन्दोलनमा रूपान्तरित हुन्छन् कि हुँदैनन्?
यो एउटा गम्भीर प्रश्न हो।
स्वतन्त्रताका आन्दोलनहरू प्रकारान्तरले लोकतान्त्रिक आन्दोलन बन्न नसकेका धेरै उदाहरण छन्।
विक्रम सम्बत् २००० पछिका दशकमा धेरै मुलुकमा राष्ट्रिय स्वतन्त्रताका आन्दोलन भए। तर ती लोकतान्त्रिक आन्दोलनमा परिणत भएनन्। अफ्रिकादेखि ल्याटिन अमेरिकासम्मका मुलुक र नेपालमै पनि लोकतान्त्रिक आन्दोलन संस्थागत हुन नसकेको अनुभव छ।
भारतमा ब्रिटिस साम्राज्यवादको अन्त्य गर्ने स्वतन्त्रताको आन्दोलनबाट अभिप्रेरित भएर नेपालमा पनि राणा शासनविरूद्ध मुक्ति आन्दोलन गरिएको थियो। त्यो बेलाको एउटा विश्वास थियो, भारत स्वतन्त्र भयो भने नेपालमा पनि लोकतान्त्रिक सम्भावना बढेर जान्छ।
यही विचारका आधारमा संगठित हुँदै र पार्टीको रूप धारण गर्दै नेपाली कांग्रेसले राणा शासनविरूद्ध आन्दोलन गर्यो। र, त्यही आन्दोलनको बलमा राणा शासन अन्त्य गर्यो।
कांग्रेस पार्टीले आफ्नो स्थापनाकालदेखि आरोह–अवरोह व्यहोरेको छ।
२००७ सालपछिका दशकमा बिपी कोइरालाको व्यक्तित्वका कारण महाधिवेशनमा व्यक्ति र विचारको प्रधानता थियो। भारतको स्वतन्त्रता संग्राममा सरिक भएका बिपी कोइरालामा त्यति बेलै विश्व दृष्टिकोण बनिसकेको थियो। भारतका 'सोसल डेमोक्र्याट' हरूदेखि युरोपका सोसल डेमोक्रेट्सहरूसँग सम्बन्धका कारण पनि उहाँको व्यक्तित्व र वैचारिक धरातल अन्तर्राष्ट्रिय स्तरको भयो।
२०१३ सालमा नेपाली कांग्रेसले वीरगन्ज महाधिवेशन गर्यो। नेपाली कांग्रेसले 'प्रजातान्त्रिक समाजवाद' लाई आफ्नो एउटा मुख्य सिद्धान्त मान्यो। त्यो समयानुकूल थियो भन्ने मेरो मान्यता छ।
आज १५औं महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेसले आफ्नो मूल सिद्धान्त र मान्यता के हो भनेर एक पटक मनन गर्नुपर्छ।
एउटा आधारभूत मान्यता 'डेमोक्रेसी' हो। त्यसलाई लोकतन्त्र वा प्रजातन्त्र जे भने पनि भयो। अहिले हामीले लोकतन्त्र भनिरहेका छौं। यसमा शब्दको फरक मात्र छैन, दोस्रो जनआन्दोलनको ऐतिहासिक सन्दर्भमा यसको अर्थ पनि फरक छ।
अर्को आधारभूत मान्यता प्रजातान्त्रिक समाजवाद हो। त्यसको पनि एउटा विशिष्ट सन्दर्भ छ।
दोस्रो विश्वयुद्धपछिको गरिबी विश्वव्यापी रूपमै थियो। त्यही भएर आर्थिक समानता मूल मुद्दा बन्यो। राज्यले स्रोतहरूको पुनर्वितरण गर्नुपर्छ भन्ने मान्यता बलियो थियो। नेपालमा पनि त्यो कुरा महत्त्वपूर्ण थियो।
कांग्रेसले सोभियत युनियनमा जस्तो राज्यनियन्त्रित अर्थतन्त्र अर्थात् राज्यले नै सबै कुरा उत्पादन र वितरण गर्नुपर्छ भनेन। बरू राज्यका स्रोतको पुनर्वितरण गर्नुपर्ने विचारबाट नेपाली कांग्रेस निर्देशित भयो भन्ने मलाई लाग्छ। त्यो महत्त्वपूर्ण पक्ष थियो।
२०१३ सालको वीरगन्ज महाधिवेशन र २०१५ सालको पहिलो आमनिर्वाचन ताकाको नेपाललाई हेर्यो भने अधिकांश मानिस गाउँमा बसोबास गर्थे। 'हरियो वन नेपालको धन' भन्ने भनाइ बलियो थियो। त्यही भएर वनलाई राष्ट्रियकरण गर्न जरूरी थियो। जमिनको पुनर्वितरण गर्न जरूरी थियो। औद्योगिकीकरणको सुरूआत पनि गर्नुपर्ने थियो।
वीरगन्ज महाधिवेशनले समाजवाद (सोसलिजम) भनिसकेपछि राज्यले नै औद्योगिक नीति बनाउनुपर्छ भन्ने भयो। जब २०१६ सालमा बिपी कोइरालाको सरकार बन्यो, त्यसले औद्योगीकरणका नीतिहरू लिएर आयो।
त्यो बेला राष्ट्र बैंक मात्रै थियो, पछि वाणिज्य बैंकहरू खुल्न सुरू भयो। उद्योगहरू खोल्ने नीति आयो।
सबै कुराको समयसापेक्षता हुन्छ। त्यो बेला एउटा साधारण मानिसलाई के चाहिन्छ भनेर सोध्यो भने 'मलाई सानो बस्ने जग्गा चाहिन्छ, दुहुनो गाई चाहिन्छ' भन्थ्यो होला। त्यही भएर बिपीले हरेक नेपाली नागरिकलाई एउटा सानो जमिन, बस्नको निम्ति घर र एउटा दुहुनो गाई होस् भन्नुभयो।
अहिले एउटा युवालाई के चाहिन्छ भनेर सोध्यो भने मलाई गजबको एउटा ल्यापटप चाहिन्छ भन्ला। यो आवश्यकताका कुरा समयानुकूल हुन्छन्। त्यसलाई नेतृत्वले बुझ्न सक्नुपर्छ।
अहिलेको महाधिवेशनको सन्दर्भमा म सुन्दै छु — नेपाली कांग्रेसको विचारमा प्रजातान्त्रिक समाजवाद पुरानो भइसक्यो, काम नलाग्ने भइसक्यो।
तर मलाई के लाग्छ भने प्रजातान्त्रिक समाजवाद एउटा मन्त्र मात्रै होइन। यो एउटा 'निर्देशक विचार' हो। त्यसलाई कसरी समयानुकूल बनाउने र व्याख्या गर्ने भन्ने कुरा चाहिँ यस्तै महाधिवेशनहरूमा विचारविमर्श गर्नुपर्छ।
वीरगन्ज महाधिवेशनमा बिपीले नै दस्तावेज लेख्नुभयो। प्रस्तुत गर्नुभयो। सुवर्ण शमशेरहरू हुनुहुन्थ्यो। पढालिखा मानिसहरू थिए। उहाँहरूले पनि छलफल गर्नुभयो। बिपीले हाँकेको समय भएकाले विचारविमर्श पनि राम्रो भयो।
२०१७ सालमा राजा महेन्द्रले बिपीलाई अपदस्थ गरेर पञ्चायती शासन थोपरेपछि नेपाली कांग्रेसको आन्दोलन फेरि प्रजातन्त्रको आन्दोलनमा सीमित भयो। त्यसैले त्यो कालमा आर्थिक विचार बहस धेरै पाइन्न।
२०४६ सालको परिवर्तनपछि र बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि फेरि कांग्रेसको नेतृत्वमा देश गयो।
मैले त्यो बेला परिवर्तन र नेपाली कांग्रेसको नेतृत्व र विकासक्रमलाई नजिकबाट हेर्ने मौका पाएँ।
मलाई एकदम याद छ — राज्यले व्यापार गर्ने कि हो कि होइन भन्ने प्रश्न प्रबल बन्यो त्यो बेला। २०४६ सालमा आइपुग्दा नेपाल उदार अर्थतन्त्रको विश्वव्यापी संरचनामा प्रवेश गरिसकेको थियो। र, त्यसको विकल्प छैन भन्ने बहस नै प्रधान भयो।
त्यो बेला हामी बाह्य ऋणमा, बाह्य दाताहरूमा, विदेशी अनुदानमा निर्भर हुन थालिसकेका थियौं। ऋण तिर्नुपर्ने बाध्यतामा हामी पसिसकेका थियौं। त्यसलाई बदलेर त्योभन्दा बाहिरको अर्थतन्त्रमा जान्छौं भन्न सक्ने स्थिति थिएन।
त्यसैले त्यसलाई धेरै खलबल्याउन हुन्न भन्ने मत बलियो भयो। बजार थप खुला भयो। थप बैंक, बीमा, हवाईजहाज र अन्य कम्पनीहरू आए। निजी लगानी बढ्यो।
ठूला-ठूला विद्युत आयोजनाको कुरा आयो। अब ठूलो लगानी ल्याउनुपर्छ। ठूलो ऋण लिनुपर्छ, विश्व बैंकसँग ऋण लिनुपर्छ भन्ने मान्यताहरू अघि बढे।
त्यसो भन्दै गर्दा पनि त्यो बेलाको नेतृत्व, विशेषतः गिरिजाप्रसाद कोइरालाले भनिराख्नुहुन्थ्यो — 'स्मल इज ब्युटिफुल'।
ठूला-ठूला लगानीका आयोजना हामी धान्न सक्छौं कि सक्दैनौं भन्ने चिन्ता थियो उहाँलाई। ठूला आयोजनाका लागि चाहिने व्यवस्थापकीय क्षमता र 'साइन्टिफिक टेम्परामेन्ट' हामीसँग छ कि छैन भन्नुहुन्थ्यो उहाँ।
म सम्झिन्छु — कुनै बेला अरूण जलविद्युत आयोजनाको ब्रिफिङ भइरहेको थियो। विज्ञहरूले भनिरहेका थिए — विराटनगरमा ठूलो एयरपोर्ट बन्छ। त्यहाँबाट ठूला-ठूला टर्बाइन आउँछन्। हेलिकप्टरले ती टर्बाइन अरूण नदीमा पुर्याउँछन्।
त्यो बेला गिरिजाप्रसाद कोइरालाले भनेको सम्झन्छु — 'मेरो विराटनगर, यो सानो गाउँमा जुन प्रतिस्पर्धा हुनेछ, जसरी जग्गाको भाउ बढ्नेछ, त्यसले गरिबको के हुन्छ? किसान कहाँ जान्छन्?'
पार्टीले सधैं एउटा कुराको ख्याल राख्न पर्छ — आफ्ना नीतिहरूले तल्लो तहका मान्छेलाई छुनुपर्छ। उनीहरूलाई छाड्न हुन्न। सँगसँगै लोकतन्त्रले नागरिकहरूलाई व्यक्तिगत विकासको जुन अवसर दिन्छ, त्यसलाई पनि राज्यले अवरूद्ध गर्नु हुँदैन।
बिपी कोइरालाको सोचाइको केन्द्रमा, विकासको दृष्टिकोणको केन्द्रमा व्यक्ति थिए। नागरिक थिए।
परम्परागत समाजवादीहरूको केन्द्रमा जसरी पार्टी हुन्छ, राज्य हुन्छ, बिपीको सोचमा त्यो थिएन। बिपीले र कांग्रेसले सधैं आफ्नो केन्द्रमा व्यक्तिलाई राखेको छ। उसको स्वतन्त्रता, उसको अधिकार र उसको सिर्जनशीलता राखेको छ। चाहे त्यो आर्थिक सिर्जनात्मकता होस्, चाहे साहित्यिक होस्, चाहे वैयक्तिक सिर्जनात्मकता होस्।
कांग्रेसले सधैं वैयक्तिक स्वतन्त्रतालाई रोक्न मिल्दैन भनेको छ। अहिले म कता-कता सुनिरहेको छु — कांग्रेसका कतिपय नेता-कार्यकर्ता र शुभेच्छुकहरूले समाजवाद भन्ने शब्दको दुरूपयोग भयो, वामपन्थीहरूले यसको नाममा जे-जे गरे र जसरी दुरूपयोग गरे, त्यसबाट हामी मुक्त हुनुपर्छ भनिरहेका छन्।
हामीले के बुझ्न जरूरी छ भने, कुनै पनि पार्टी वा कुनै राजनीतिक समूहले राजनीतिक शक्तिका रूपमा काम गर्ने हो भने त्यो समाजको इच्छा, आकांक्षा र बृहत आर्थिक र सामाजिक परिवेशबाट अछुतो रहन सक्दैन।
राष्ट्रियता भनेको के हो, प्रजातन्त्र भनेको के हो अथवा लोकतन्त्र भनेको के हो, सामाजिक लोकतन्त्र भनेको के हो अथवा प्रजातान्त्रिक समाजवाद भनेको के हो — यी विषयहरूप्रति उदासीन रहन सक्दैन।
त्यसैले यी विषयमा नेतृत्वले यथेष्ट छलफल, बहस र विश्लेषण गर्ने अनि समाजलाई त्यसबारे बुझाउन सक्ने हैसियत आर्जन गर्नुपर्छ। पार्टीलाई त्यसैको आधारमा संगठित गर्नुपर्छ।
नेपाली कांग्रेसले त्यो मुद्दामा विचारलाई लिएर जाने एउटा अर्गनाइजिङ प्रिन्सिपल के हुन्छ भन्ने कुरामा छलफल गर्नुपर्ने हुन्छ। हिजो हामीलाई तीनवटा मन्त्रले — राष्ट्रियता, प्रजातन्त्र, समाजवाद — ले यहाँ लिएर आयो। अबको १० वर्षमा हामीले यसलाई कहाँ लैजाने?
मन्त्र त्यही भएर पनि महत्त्वपूर्ण छ। गायत्री मन्त्र मैले जानेदेखि परिवर्तन भएको छैन तर गायत्री मन्त्रका व्याख्याहरू परिवर्तन भएका छन्।
त्यसैले स्लोगन वा नाराहरू परिवर्तन गर्नुअघि सोच्नुपर्छ। त्यो मन्त्र अनुसार बाँच्न सक्ने दृढता छ कि छैन? कुरा समाजवादको, लोकतान्त्रिक समाजवाद वा सामाजिक लोकतन्त्रको गर्ने तर व्यवहारमा लोकतन्त्रको गला घोट्न कति पनि बेर नलाग्ने हुनुभएन।
अब सार्वजनिक नीतिहरू बनाउने सन्दर्भमा स्वतन्त्रता अक्षुण्ण हो, नन-नेगोसिएबल हो भन्ने कुरा चाहिँ कसरी उहाँहरूले देखाउनुहुन्छ, त्यो हेर्न जरूरी छ।
मलाई लागेको अर्को महत्त्वपूर्ण पक्ष सभापति गगन थापाको विशेष महाधिवेशनको भाषणमा पनि थियो। उहाँले 'नेपाली कांग्रेस पार्टी होइन, नेपाली कांग्रेस विचार हो' भन्नुभएको थियो। चुनावमा पनि हार्ने-जित्ने त आफ्नो ठाउँमा छ, हामी जान्छौं भन्नुभयो। त्यो हो भने विचारको सबलीकरण कसरी हुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ।
यो अधिवेशनले उहाँको नेतृत्वलाई संस्थागत गरोस् भन्ने मेरो कामना छ। उहाँले आफ्नो विचारले पनि र कामले पनि पार्टीलाई डोर्याउँदै हुनुहुन्छ। विचारको कुरामा चाहिँ मान्छे लचिलो हुन जरूरी छ। तर त्यो लचकताको नाउँमा एउटा मियो वा धार छोड्नु हुँदैन भन्ने लाग्छ।
त्यो के हो भने, राष्ट्रियता नेपालमा सजिलैसँग कुरा गरिने विषय हो। तर हाम्रो राष्ट्रियताको जटिल विषय भनेको, हामी दुईटा ठूला देशहरूको बीचमा छौं। ती देशहरू पहिले सभ्यताका शक्ति थिए, अहिले आर्थिक शक्ति बनेका छन्। प्रविधिका शक्ति बनेका छन्। यस्तो अवस्थामा चीन र भारतको बीचमा रहेको नेपालले आफ्नो वैदेशिक नीतिलाई कसरी निर्देशित गर्छ? मेरो राष्ट्रिय स्वार्थ के हो? म कहाँ उभिने हो? मेरो राष्ट्रिय स्वायत्तता के हो?
यसलाई हामी चाहे राष्ट्रियता भनौं, चाहे जे भनौं, तर यो कुरा पहिले प्रस्ट हुनुपर्छ।
हिजो खुकुरी लिएर हिँड्ने राष्ट्रवाद थियो भने अब चाहिँ विचारको राष्ट्रवाद छ। आफ्नो राष्ट्रिय अक्षुण्णतालाई, नेपाली नागरिकहरूको सम्मानलाई कसरी जोगाउने? नेपाली कांग्रेस यसमा प्रस्ट हुनुपर्छ।
अहिले नेपाली कांग्रेसले समाजवाद छाड्दैछ भन्ने चर्चा पनि भइरहेको छ। तर हामीले त्यसलाई छाड्नुभन्दा पनि पुनर्परिभाषित गर्नुपर्छ भन्ने मलाई लाग्छ।
अहिलेको महाधिवेशन एउटा महत्त्वपूर्ण समयमा भइरहेको छ। अहिले प्रविधिमा व्यापक परिवर्तन आइरहेको छ। हाम्रो जीवन, समाज र आर्थिक गतिविधिहरूमा यसले व्यापक रूपमा प्रभाव पारिरहेको छ।
यो प्रविधि र परिवर्तनबारे पनि संसारभरि एउटा बहस चलिरहेको छ। एउटा नैतिक प्रश्न उठेको छ — प्रविधिले हामीलाई नियन्त्रित गर्छ कि स्वतन्त्र बनाउँछ?
नेपाली कांग्रेसको यो महाधिवेशनमा यी महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुनुपर्छ।
नेपाली कांग्रेसका साथीहरूले अहिले लेखेको, बोलेको देखिरहेको छु। धेरै जना संगठनमा को आउने, कुन पदमा को आउने भन्नेमै धेरै जना केन्द्रित हुनुहुन्छ। योभन्दा अघिका दुई अधिवेशन व्यक्ति केन्द्रित भए भनियो। अहिले पनि विचारमा त्यति बहस होला जस्तो देखिएको छैन।
फेरि पनि नेपाली कांग्रेसको मूल नेताले जे सोच्छ, हाम्रो विचार त्यही हो भन्नेमा जालान् कि भन्ने चिन्ता लागिरहेको छ मलाई। भोलि वा पर्सि निर्वाचनमा होमिनेबित्तिकै विचार त गौण भएर जान्छ जस्तो लाग्छ।
अहिले हाम्रो मुलुकमा एउटा विशिष्ट परिस्थिति पनि छ। बाढी, पहिरोले जुन आर्थिक परिस्थिति सिर्जना गरेको छ, त्यसले अबका केही वर्ष यसमै केन्द्रित हुनुपर्ने परिस्थिति निर्माण गरेको छ। चाहे त्यो वातावरणीय मुद्दा होस् वा भौतिक र पूर्वाधार विकासको मुद्दा होस्। अबको नेतृत्वले आउने १० वर्षमा नेपालमा यिनै कुरामा काम गर्नुपर्छ।
तर त्यसका लागि केवल नेतृत्व परिवर्तन पर्याप्त हुँदैन। विचारलाई पनि नयाँ सन्दर्भमा उभ्याउनुपर्छ। हिजोका प्रश्नको उत्तर दिएर मात्रै आजको नेपाल चल्दैन। आजको प्रश्न के हो, भोलिको प्रश्न के हुनेछ र त्यसको उत्तर दिन कांग्रेससँग के विचार छ — यो महाधिवेशनले त्यसको खोजी गर्नुपर्छ।
नेपाली कांग्रेसको सबभन्दा ठूलो शक्ति भनेको उसको ऐतिहासिक विरासत र विचारको निरन्तरता हो। त्यो ऐतिहासिक विरासत र विचारलाई जोगाउनु भनेको मालाभित्रको धागो जोगाउनुजस्तै हो।
धागो चुँड्यो भने माला जतिसुकै बलियो स्फटिकको भए पनि त्यो रहँदैन। हिराकै भए पनि रहँदैन।
त्यस कारण राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मन्त्रलाई जप्न दिइराख्न र भित्रबाट त्यसलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
किनभने कांग्रेसका लागि विचार कुनै महाधिवेशनको दस्तावेजमा लेखिने कुरा मात्र होइन। त्यो संसदमा बोल्ने विषय हुनुपर्छ, सार्वजनिक नीति बनाउने आधार हुनुपर्छ, गाउँ-गाउँमा संगठन गर्न जाने नेताको राजनीतिक भाषा हुनुपर्छ र नागरिकले कांग्रेसलाई चिन्ने व्यवहार बन्नुपर्छ।
अबको १० वर्षका लागि कांग्रेसले आफूलाई यही प्रश्न सोध्नुपर्छ — राष्ट्रियता, प्रजातन्त्र र समाजवादले हामीलाई हिजो कहाँ ल्यायो? अब यही तीनवटा आधारले हामीलाई कहाँ लैजान्छ?
यसका लागि नेताको चयन मात्र होइन, विचारको बहसलाई पनि यो महाधिवेशनले प्राथमिकता दिनुपर्छ।
महाधिवेशन सकिएपछि नेपाली कांग्रेसले केवल नयाँ नेतृत्व पाएको अनुभूति गर्ने होइन, नयाँ विचारसहित नयाँ बाटो समातेको अनुभूति नेपाली समाजले गर्न सक्नुपर्छ।
त्यो भयो भने मात्र इतिहास बोकेको कांग्रेसले आफ्नो इतिहासको सम्मान गर्दै भविष्यका लागि पनि आफूलाई सान्दर्भिक बनाउन सक्छ।
***