अमेरिकाले दोस्रो विश्वयुद्धको अन्तिम चरणमा जापानका दुई सहर हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्यो।
६ अगस्ट १९४५ मा हिरोसिमा र ९ अगस्टमा नागासाकीमाथि भएको आणविक आक्रमणले विश्व राजनीतिमा एउटा नयाँ युगको सुरूआत गर्यो। मानव इतिहासमा पहिलोपटक आणविक हतियार युद्धमा प्रयोग भएको थियो।
यसको करिब दुई महिनापछि, १९ अक्टोबर १९४५ मा बेलायती लेखक तथा राजनीतिक चिन्तक जर्ज अरवेलको निबन्ध ‘यु एन्ड द एटम बम’ बेलायती साप्ताहिक पत्रिका ‘ट्रिब्युन’मा प्रकाशित भएको थियो। यही निबन्धमा अरवेलले ‘कोल्ड वार ’ अर्थात शीतयुद्ध शब्द प्रयोग गरेका थिए।
दुई वर्षपछि, सन् १९४७ मा, वाल्टर लिपम्यानले ‘द कोल्ड वार : अ स्टडी इन यू.एस. फरेन पोलिसी’ मार्फत यही अभिव्यक्तिलाई अझ व्यवस्थित अन्तर्राष्ट्रिय राजनीतिक भाषामा स्थापित गरेका थियो।
त्यसपछि ‘शीतयुद्ध’ १९९० को दशकसम्म विश्व राजनीतिलाई परिभाषित गर्ने एउटा शक्तिशाली भू-राजनीतिक शब्दावली बन्यो।
त्यसैगरी, २०औँ शताब्दीमा विश्व राजनीतिलाई परिभाषित गर्ने थुप्रै राजनीतिक शब्द र अवधारणाहरू ‘क्राफ्ट’ भए। किताब, भाषण, निबन्ध र बौद्धिक बहसबाट जन्मिएका यी शब्दले बदलिँदो शक्ति–सम्बन्ध, विचार र संरचनालाई ‘रिसेम्बल’ गर्दै नयाँ राजनीतिक भाषा बनाए।
शीतयुद्ध सुरू हुनुअघि नै एन्टोनियो ग्राम्सीले ‘हेजेमोनी’लाई आधुनिक राजनीतिक शक्तिको महत्वपूर्ण शब्द बनाइसकेका थिए। सन् १९४६ मा विन्स्टन चर्चिलको फुल्टन भाषणले ‘आइरन कर्टेन’लाई विश्व राजनीतिमा सामो समय स्थापित गरिदियो। त्यसैगरी, सन् १९५२ मा अल्फ्रेड सौभीले‘थर्ड वर्ल्ड’ शब्द प्रयोग गरेका थिए।
यी शब्दहरूले आफ्नो समयको शक्ति–सम्बन्ध, विभाजन र विश्व व्यवस्थालाई बुझ्ने नयाँ फ्रेम दिए।
विश्व राजनीति बदलिँदै गयो। र त्यससँगै ती परिवर्तनलाई नाम दिने, बुझाउने र व्याख्या गर्ने राजनीतिक शब्दावली पनि फेरिँदै गयो।
म्याक्लुहानको ‘द ग्लोबल भिलेज’, ड्यानियल बेलको ‘द एन्ड अफ आइडियोलोजी’, ग्याब्रियल आल्मन्ड र सिड्नी भेर्बाको ‘द सिभिक कल्चर’, तथा बेनेडिक्ट एन्डरसनको ‘इम्याजिन्ड कम्युनिटिज’ जस्ता कृतिहरूबाट बौद्धिक समुदायलाई प्रभावशाली अवधारणा, शब्दावली र विश्लेषणात्मक भाषा दिएका छन्।
त्यस्तै बौद्धिक विमर्शको क्षेत्रमा पिटर ड्रकरले ‘नलेज सोसाइटी’ र ‘नलेज इकोनोमी’ जस्ता अवधारणाको वैचारिक जग बसाले।
अर्कोतर्फ, मिशेल फुकोले ‘बायोपावर’, ‘गभर्मेन्टालिटी’ र ‘पावर/नलेज’ जस्ता नवीन अवधारणामार्फत शक्तिको परम्परागत दायरालाई फराकिलो पार्दै शक्ति सरकार वा संसद्मा मात्र सीमित नभई ज्ञान, संस्था, सामाजिक मान्यता, अनुशासन र दैनिक जीवनका अभ्यासहरूमै व्याप्त हुने कुरा विश्लेषण गरे।
त्यसैगरी, एडवर्ड सइदको ‘ओरिएन्टलिज्म’ ले पूर्वप्रतिको पश्चिमा दृष्टिकोण, ज्ञान–उत्पादन र प्रतिनिधित्वभित्र अन्तर्निहित शक्ति–सम्बन्धलाई दखाईदियो। सँगसँगै, सन् १९८८ मा एडवर्ड एस. हर्मन र नोम चोम्स्कीको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’ ले मिडिया, सत्ता र जनमतबीचको त्रिकोणीय सम्बन्धलाई आधुनिक राजनीतिक तथा बौद्धिक विमर्शको महत्वपूर्ण केन्द्रमा स्थापित गर्यो।
शीतयुद्धको अन्त्यसँगै शक्तिको स्वरूप र अन्तर्राष्ट्रिय व्यवस्थाका नयाँ आयामहरूलाई व्याख्या गर्ने क्रममा फ्रान्सिस फुकुयामाको ‘द एन्ड अफ हिस्ट्री’ ले उदार लोकतन्त्र र बजार अर्थतन्त्रलाई मानव जातिको वैचारिक गन्तव्य एवं आधुनिक राजनीतिक विकासको अन्तिम चरणका रूपमा प्रस्तुत गर्यो। यसको विपरीत, स्यामुएल हन्टिङ्टनले विश्व राजनीतिमा प्रतिस्पर्धाको अन्त्य नभएको, बरू यसको आधार विचारधारात्मक संघर्षबाट ‘सभ्यतागत पहिचान र द्वन्द्व’ तर्फ मोडिएको तर्क गरे।
एक्काइसौँ शताब्दी प्रवेशसँगै ‘ह्युमन सेक्युरिटी’, ‘वार अन टेरर’, ‘फेल्ड स्टेट’, ‘रोग स्टेट’ र ‘रिस्पोन्सिबिलिटी टु प्रोटेक्ट’ जस्ता अवधारणाहरू आए। त्यसपछि ‘साइबर वार’, ‘हाइब्रिड वार’ र ‘ग्रे-जोन वारफेयर’ जस्ता शब्दावलीले युद्धको परम्परागत सीमालाई डिजिटल, सूचना, आर्थिक तथा मनोवैज्ञानिक क्षेत्रमा विस्तार गरे।
‘सर्भिलेन्स क्यापिटलिज्म’ को परिवेशमा एआई, रोबोटिक्स र बायोटेक्नोलोजीमा आधारित ‘फोर्थ इन्डस्ट्रियल रिभोलुसन’ ले परम्परागत बुझाइलाई समेत चुनौती दिइसकेको छ।
यी सबै परिवर्तनको विकासक्रमसँगै पारम्परिक राजनीतिक सिद्धान्तहरूको सान्दर्भिकता र तिनको व्याख्यात्मक क्षमता क्रमशः साँघुरिँदै गएको देखिन्छ।
अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विश्व राजनीतिको मुख्य कार्यसूची र केन्द्रविन्दुमा आइसकेको छ।
यस परिप्रेक्ष्यमा, कुनै पनि राष्ट्र कुन 'टेक्नोलोजी स्ट्याक' मा निर्भर छ भन्ने प्रश्न अब प्राविधिक छनोटको विषय मात्र रहेन। यो सिधै सो राष्ट्रको राष्ट्रिय सुरक्षा, सार्वभौमिकता, वैश्विक शक्ति र रणनीतिक स्वायत्तता सँग प्रत्यक्ष रूपमा जोडिन थालेको छ।
प्रख्यात विचारक युभाल नोआ हरारीले आफ्नो पुस्तक ‘नेक्सस’ मा ‘सिलिकन कर्टेन’ को नवीन अवधारणा अघि सारेका छन्। जसरी विगतको शीतयुद्धका क्रममा ‘आइरन कर्टेन’ (फलामे पर्दा) ले विश्वलाई राजनीतिक र वैचारिक रूपमा दुई कित्तामा विभाजित गरेको थियो, त्यसैगरी आजको ‘सिलिकन कर्टेन’ ले प्रविधि र एआई प्रणालीको आधारमा उदीयमान नयाँ विश्व-विभाजनलाई संकेत गर्छ। यो विभाजनले कुन देश कुन प्राविधिक साम्राज्य (सिलिकन भ्याली वा बेइजिङको टेक इकोसिस्टम) को नियन्त्रणमा रहने भन्ने कुराको निर्धारण गर्दछ।
यहीँबाट विश्व राजनीतिमा ‘सुपरइन्टेलिजेन्स’ को औपचारिक बहस प्रवेश गर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सुपरइन्टेलिजेन्स’ लाई प्राविधिक विमर्शको साँघुरो सीमाबाट उठाएर विश्व कूटनीतिको सबैभन्दा उच्च मञ्च, संयुक्त राष्ट्रसंघको महासभामा स्थापित गरिदिए। सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित ८१ औँ महासभालाई सम्बोधन गर्दै उनले प्रचलित शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को सट्टा सचेत रूपमा ‘सुपरइन्टेलिजेन्स’ शब्दावलीको प्रयोग गरेका थिए।
ट्रम्पको मूल तर्क के थियो भने, एआईको क्षमता अब मानव बुद्धिमत्ताको परम्परागत सीमाभन्दा धेरै अगाडि जाँदैछ र यसले निकट भविष्यमै मानव नियन्त्रणभन्दा बाहिरको रूप लिन सक्छ।
यसको सन्दर्भ र भूराजनीतिक दृष्टिकोण (भ्यान्टेज पोइन्ट) बुझ्न एउटा घटनाक्रमलाई सँगै राखेर हेर्न आवश्यक देखिन्छ। सन् २०२६ सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा ‘सुपरइन्टेलिजेन्स’ को बहस अघि सारिएको ठीक दुई दिनपछि, सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वासिङ्टनमा ऐतिहासिक शिखर वार्ता भएको थियो।
वासिङ्टनस्थित जोइन्ट बेस एन्ड्र्युजमा चिनियाँ राष्ट्रपतिका लागि गरिएको त्यो स्वागत कूटनीतिक रूपमा निकै चकित पार्ने खालको थियो। विगत ७०–८० वर्षको अमेरिकी इतिहासलाई पल्टाउने हो भने विमानस्थलको धावनमार्गमै पुगेर राष्ट्रप्रमुख आफैँले विदेशी विशिष्ट व्यक्तिलाई स्वागत गरेको घटना यो तेस्रोपटक मात्रै हो। यसअघि सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले पोप फ्रान्सिसलाई यसरी नै विमानबाट ओर्लिनेबित्तिकै स्वागत गरेका थिए। त्यसभन्दा अझ अघि पुग्दा, शीतयुद्धको उत्कर्षका बेला सन् १९६२ मा जोन एफ. केनेडीले बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनलाई त्यसरी विमानस्थलमै पुगेर स्वागत गरेको इतिहास भेटिन्छ।
उक्त भेटघाटको राजकीय प्रोटोकल, रेड कार्पेट र औपचारिक सम्मानको गहिराइसम्म पुगेर विश्लेषण गर्ने हो भने, भू-राजनीतिमा विश्लेषकहरू सन् २०२६ मा अमेरिका र चीनको शक्ति सन्तुलन क्रमशः बराबरीतर्फ धकेलिएको दाबी गरिरहेका छन्।
लामो समयदेखि ग्लोबल स्टेजमा अमेरिकालाई पहिलो र चीनलाई दोस्रो महाशक्तिका रूपमा हेरिँदै आइएको थियो। त्यसैले, उनीहरूबीचको टकरावलाई सधैँ ‘नम्बर एक’ र ‘नम्बर दुई’ बीचको परम्परागत प्रतिस्पर्धाका रूपमा मात्र बुझियो।
यद्यपि, गत सेप्टेम्बर २४ को कूटनीतिक दृश्यले यो पुरानो भाष्य (फ्रेम) लाई पूर्ण रूपमा भत्काइदिएको छ। सबैभन्दा अर्थपूर्ण पक्ष त के छ भने, बदलिँदो वैश्विक शक्ति-सन्तुलनको यो पदचाप स्वयम् वासिङ्टनकै कूटनीतिक शैली र व्यवहारमा समेत स्पष्ट रूपमा प्रतिविम्बित हुन थालेको छ।
यद्यपि, यो ऐतिहासिक भेटघाटको भित्री केन्द्रविन्दु भने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नै बन्यो, जहाँ दुवै देशले द्विपक्षीय ‘सुपरइन्टेलिजेन्स डायलग’ सुरू गर्ने घोषणा गरे।
तर, बेइजिङ वासिङ्टनले अघि सारेको यो ‘सुपरइन्टेलिजेन्स’ को फ्रेमलाई जस्ताको तस्तै स्वीकार गर्ने मुडमा देखिँदैन। चीनको आफ्नै कूटनीतिक वक्तव्यहरूमा अझै पनि 'एआई' शब्दकै निरन्तरता पाइनुले के संकेत गर्छ भने, एआईको यो महादौडमा चीन रुल्स मेकर बन्न चाहन्छ। आफूलाई यस प्रतिस्पर्धामा चीनले एक संयमित, सन्तुलित र रणनीतिक खेलाडीका रूपमा प्रस्तुत गरिरहेको छ।
अर्कोतर्फ, ट्रम्प प्रशासनका लागि ‘सुपर इन्टेलिजेन्स’ भविष्यको विश्व-प्रविधिमा अमेरिकी आधिपत्यको एउटा भाषिक र रणनीतिक दाबी हो। यो शब्दावली अब अमेरिकी राज्यको आधिकारिक संयन्त्रभित्र एउटा नयाँ ‘पावर ल्याङ्ग्वेज’ का रूपमा स्थापित हुँदैछ। यसैको बलियो कडीका रूपमा, सेप्टेम्बर २९ मा राष्ट्रपति ट्रम्पले एक ऐतिहासिक कार्यकारी आदेश जारी गरे। उक्त आदेशले कानुनले अनुमति दिएको अधिकतम सीमाभित्र रहेर सम्पूर्ण संघीय कार्यकारी निकायहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, वेबसाइट, प्रतिवेदन, नीतिगत दस्तावेज तथा अन्य गैर-वैधानिक कागजातहरूमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा अनिवार्य रूपमा ‘सुपरइन्टेलिजेन्स’ प्रयोग गर्न निर्देशन दिएको छ।
ट्रम्प प्रशासनको यस ‘सुपर इन्टेलिजेन्स’ अभियानलाई दोस्रो विश्वयुद्धपछि अमेरिकाले निर्माण गरेको विश्वव्यवस्थामा आफ्नो प्राविधिक र रणनीतिक नेतृत्वलाई पुनः केन्द्रविन्दुमा ल्याउने 'एजेन्डा-सेटिङ पावर' सँग जोडेर हेर्न थालिएको छ।
राष्ट्रपति ट्रम्पमा एआईको रणनीतिक महत्त्वबारे स्पष्ट बोध देखिन्छ, किनकि यसको भू-आर्थिक आयाम निकै विशाल छ। गोल्डम्यान स्याक्स रिसर्चको प्रक्षेपण अनुसार, सन् २०२६ मा विश्वव्यापी एआई लगानी १ ट्रिलियन डलरभन्दा माथिपुग्दैछ। यसैगरी, अर्को वित्तीय दिग्गज मोर्गन स्ट्यान्ली को अनुमान अनुसार, एआईलाई आवश्यक पर्ने कम्प्युटिङ क्षमता धान्नका लागि सन् २०२५ देखि २०२८ सम्ममा विश्वव्यापी डेटा-सेन्टर निर्माणमा मात्रै करिब २.९ ट्रिलियन डलर खर्च हुनेछ। पूँजीको यो महासागरले के पुष्टि गर्छ भने, सुपरइन्टेलिजेन्सको यो दौड विश्वको नयाँ औद्योगिक र रणनीतिक वास्तुकला निर्माण गर्ने महाअभियान बनिसकेको छ।
अमेरिकी अनुसन्धानहरूको अर्को महत्त्वपूर्ण निष्कर्ष के हो भने, ‘सुपर इन्टेलिजेन्स’ अब अमेरिकी डलरको विश्वव्यापी प्रभुत्व लाई टिकाइराख्ने एउटा नयाँ डिजिटल तह बन्न सक्छ। दोस्रो विश्वयुद्धपछि स्थापित ब्रेटन वुड्स प्रणालीले विश्व अर्थतन्त्रलाई जसरी डलर-केन्द्रित वित्तीय संरचनामा बाँधेको थियो, ठीक त्यसैगरी वर्तमानमा विकास भइरहेको एआईको पूर्वाधारले वैश्विक डिजिटल भविष्यलाई समेत डलर-आधारित पुँजी र अमेरिकी वित्तीय नेटवर्कसँग एकाकार गर्ने एउटा नयाँ रणनीतिक सम्भावना खोलिदिएको छ।
त्यसैले, अहिलेको एआई प्रतिस्पर्धालाई प्राविधिक दौड मात्र भनेर बुझ्नु अधुरो हुनेछ। यो मूलतः पावरको लडाई हो—र यसको केन्द्रमा अमेरिका र चीन छन् र अर्को महत्वपुर्ण कुरा अमेरिका–चीन सम्बन्ध कुनै शून्यताबाट अगाडि बढेको छैन। आजको समग्र विश्व राजनीति र अर्थतन्त्र यसैको वरिपरि घुमिरहेको छ। चीन राइजिङ पावर हो; अमेरिका लामो समयदेखि विश्व व्यवस्थाको प्रमुख रूलिङ पावर रहँदै आएको छ। व्यापार, प्रविधि, सेमिकन्डक्टर, सुरक्षा, ताइवान संकट, सप्लाइ चेन र सबै मोर्चाहरूमा यी दुई शक्तिबीचका रणनीतिक स्वार्थ र मतभेदहरू दिनप्रतिदिन गहिरिँदै गएका छन्।
यो भूराजनीतिक परिदृश्यलाई राजनीतिक वैज्ञानिक ग्राहम एलिसनको सन् २०१७ को कृति ‘डेस्टिन्ड फर वार: क्यान अमेरिका एन्ड चाइना एस्केप थुसिडाइड्स ट्र्याप?’ को सन्दर्भसँग जोडेर हेर्न सकिन्छ। उनले उठाएको मूल प्रश्न थियो– के उदीयमान शक्तिका रूपमा रहेको चीन र स्थापित महाशक्ति अमेरिकाले आफ्नो शक्ति-संघर्षलाई युद्धमा रूपान्तरण हुन नदिई बुद्धिमत्तापूर्ण ढङ्गले व्यवस्थापन गर्न सक्लान्?
यद्यपि, ‘थुसिडाइड्स ट्र्याप’ को यही विश्वव्यापी भय र संशयबीच एउटा नयाँ र सकारात्मक कूटनीतिक आयाम पनि प्रकट भइरहेको छ। सन् २०२६ मा अमेरिका–चीन सम्बन्धमा शीर्ष नेतृत्व तहको संवाद असाधारण रूपमा सघन बनेको छ।
यसै वर्षको मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक बेइजिङ भ्रमण गरेका थिए भने सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले वासिङ्टनको राजकीय भ्रमण सम्पन्न गरे। यो उच्चस्तरीय संवाद शृङ्खला यतिमै सीमित रहने छैन; आगामी नोभेम्बरमा चीनको सेन्जेनमा आयोजना हुने एपीईसी शिखर सम्मेलनमा उनीहरूबीच पुनः द्विपक्षीय वार्ताको तयारी भइरहेको छ। त्यसको ठीक एक महिनापछि, डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा पनि यी दुई शीर्ष नेता फेरि आमनेसामने हुनेछन्।
यस प्रकार, सन् २०२६ को वर्ष दिनभित्रै ट्रम्प र सीबीच चारपटक प्रत्यक्ष भेटवार्ता हुने एउटा अभूतपूर्व परिदृश्य निर्माण भएको छ।
यदि यो वर्ष अमेरिका र चीनका राष्ट्रपतिहरूबीच चारवटा 'फेस-टु-फेस' शिखर बैठकहरू सम्पन्न भएमा, यो दुई महाशक्ति राष्ट्रको कूटनीतिक इतिहासमै सबैभन्दा बाक्लो र सघन संवादको कीर्तिमान बन्नेछ।
यसै कूटनीतिक सन्दर्भमा, चीनको आर्थिक र प्राविधिक उदयसँगै 'ग्लोबल साउथ' एउटा शक्तिशाली भू-राजनीतिक ध्रुवका रूपमा स्थापित हुँदैछ। यसको विपरित, पश्चिमा जगत् अब विश्वको कुल जनसङ्ख्याको करिब १२ प्रतिशतमा मात्र खुम्चिन पुगेको छ, जसले शक्ति केन्द्र पूर्वतर्फ सर्दै गरेको सङ्केत गर्छ।
अर्कोतर्फ, कतिपय विश्लेषकहरूको दृष्टिकोणमा ट्रम्पको पहिलो कार्यकालको तुलनामा विदेश नीतिका हिसाबले 'ट्रम्प २.०' केही रक्षात्मक र चुनौतीहरूले घेरिएको देखिन्छ।
विशेषगरी मध्यपूर्वमा इरानसँगको बढ्दो तनाव र रणनीतिक जटिलताहरू अझै जारी छन्। कूटनीतिक वृत्तमा यो अनुमान पनि गरिँदैछ कि आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनको परिणामले उनलाई राजनीतिक रूपमा केही कमजोर बनाउन सक्छ, जसले उनलाई कार्यकालको उत्तराद्र्धतिर 'लेम डक' राष्ट्रपतिमा परिणत गर्ने र उनको आफ्नै 'मागा' जनाधारभित्रको छविलाई समेत प्रभावित पार्न सक्ने जोखिम रहन्छ।
यो समग्र बहस र 'सुपरइन्टेलिजेन्स' को परिप्रेक्ष्यबाट हेर्दा, वर्तमान परिदृश्यलाई अहिले नै ‘कोल्ड वार २.०’ (शीतयुद्ध २.०) का रूपमा इतिहासको हुबहु पुनरावृत्ति मान्नु गलत हुनेछ। विगतको शीतयुद्ध नितान्त द्विध्रुवीय थियो, तर आर्टिफिसियल इन्टेलिजेन्स र अत्याधुनिक प्रविधिद्वारा निर्देशित यो नयाँ विश्वव्यवस्था बहुध्रुवीय हुने निश्चित छ।
विगतको शीतयुद्ध मुख्यतः राज्य-केन्द्रित र आणविक प्रतिरोध मा आधारित थियो। यसको विपरित, वर्तमानको एआई प्रतिस्पर्धामा राज्य मात्र होइन, शक्तिशाली बहुराष्ट्रिय कर्पोरेसनहरू, प्राविधिक दिग्गज र विश्वविद्यालयहरू समेत समान रूपमा निर्णायक खेलाडीका रूपमा सहभागी छन्।
अन्ततः, ‘सुपर इन्टेलिजेन्स’ जस्ता शब्दावलीहरूको उदय र यसको रणनीतिक प्रयोगले विश्व कूटनीतिमा जुन नयाँ कोरियोग्राफी निर्माण गरेको छ, त्यसले समग्र विश्वव्यवस्थालाई कुन दिशामा लैजाने हो भन्ने कुराको पूर्वअनुमान लगाउन निकै कठिन छ।
रोचक त के छ भने, संसार द्रुत गतिमा यस्तो युगमा प्रवेश गर्दैछ जहाँ पुराना राजनीतिक सिद्धान्तहरू अप्रासंगिक वा मृतप्रायः बन्दै गएका छन् र प्रविधिको आधिपत्यले नयाँ विश्वव्यवस्था सञ्चालन गरिरहेको छ। ‘सुपरइन्टेलिजेन्स’ अब अगाडी बढिसकेको छ।
यसले एकातिर मानव सभ्यतामा असीमित समृद्धि र ब्रह्माण्डका सम्पूर्ण रहस्यहरू उजागर गर्दै एउटा उत्कृष्ट युटोपिया तर्फ डोर्याउन सक्छ भने, अर्कोतिर यसैका कारण महाविपत्ति (डुम्सडे) को जोखिम पनि उत्तिकै छ। यो प्रविधिको सुखद परिणाम हुनेछ कि विनाशकारी, त्यो त समयले नै बताउला। तर, नेपाल जस्तो विकासोन्मुख र भूराजनीतिक रूपमा संवेदनशील देशले यो फेननमेना लाई कसरी हेर्ने र यसको सामना कसरी गर्ने भन्नेबारे अहिलैदेखि ठोस तयारी थाल्नु अपरिहार्य भइसकेको छ।
(भट्टराई त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका एमफिल/पीएचडी सोधार्थी हुन्।)