सन २००० को जनवरी महिना।
पूर्वी टिमोरमा युद्धको धुवाँ अझै आकाशबाट पूरै हटिसकेको थिएन। पहाडका हरिया थुम्काहरूबीच कतैकतै कालो खरानीका धब्बा देखिन्थे। गोलीका दागहरू लागेका घरका भित्ताहरूले एउटा त्रासदी पोखिरहेको आभास मिल्थ्यो। सडकहरू साँघुरा थिए। कतिपय ठाउँ यति सुनसान कि आधा घण्टासम्म एउटा पनि गाडी देखिँदैनथ्यो। अनि अचानक टाढाबाट धुलो उडाउँदै कुनै पुरानो ट्रक हुइँकिन्थ्यो। र फेरि संसार पहिलेझैँ शान्त हुन्थ्यो।
म त्यहाँको टिमोर लोरेसा कलेजमा पढाउँथेँ। मलाई समुद्र र फाँटहरू खुब मन पर्थे।
मलाई त्यो ठाउँमा समुद्रतिर झर्दै गएका साँघुरा सडकहरू सबैभन्दा प्रिय र सहज लाग्थे।
ती सडकमा हिँड्दा मलाई लाग्थ्यो, संसारको अन्तिम किनारामा आइपुगेको छु। अगाडि निलो समुद्र छ, पछाडि इतिहासको धुवाँ, र बीचमा मानिसको सानो जीवन।
त्यही कलेजको पुस्तकालयमा मैले उर्सेलालाई पहिलोपटक देखेको थिएँ।
ऊ पुस्तकालयकी लाइब्रेरियन थिई।
उ गोह्रो अनुहार र सलक्क परेको नाक भएकी दुब्ली र आकर्षक व्यक्तित्व थिई। उसको उमेर कति थियो, मैले कहिल्यै सोधिनँ। शायद उसले पनि मेरो बारेमा कहिल्यै चासो राखिन। हामीबीच भौतिकभन्दा गहिरो अरू केही खालको सम्बन्ध बन्दै थियो। दुई अपरिचित मानिसले एकअर्काको मौनता बुझ्न सक्ने त्यो अनौठो सम्बन्ध।
ऊ समाजशास्त्रकी विद्यार्थी थिई। तर उसको साहित्यमा विशेष रूचि थियो। कहिलेकाहीँ पुस्तकको भिडमा घोप्टिएर सेतो कागजमा कविता लेख्थी। अनि केर्दै फेरि लेख्थी, अनि फेरि...। सकिएपछि आफ्नो नोटबुकमा सार्थी र त्यो सेतो कागजलाई धुजाधुजा पारेर च्यात्थी।
एकदिन मैले सोधेँ,
'तिमी कविता किन लेख्छौ?'
उसले किताब बन्द गरी।
'बाँच्नका लागि।'
'कविताले पनि मानिसलाई बचाउँछ र?'
उसले मुस्कुराउँदै भनी,
'कहिलेकाहीँ मानिसलाई बचाउने कुरा र मानिसलाई बाँच्न बाध्य बनाउने कुरा एउटै हुँदैन।'
त्यो वाक्य धेरै दिनसम्म मेरो मस्तिष्कमा घुमिरह्यो।
पछि मैले थाहा पाएँ। उसको बाल्यकाल सजिलो थिएन। क्रिम पाउडर लगाएर अनुहारबाट आफ्ना विगतका भावहरू लुकाउने प्रयास गरेकी हुन्थी। यद्यपि उसको अनुहारमा वेदनाका धर्साहरू छरपस्ट देख्न सकिन्थ्यो।
युद्धले उसको परिवारको धेरै कुरा खोसेको थियो। घर, आफन्त, बाल्यकालका केही अनुहार र केही यस्ता स्मृतिहरू, जसलाई मानिसले सम्झन पनि चाहँदैन र बिर्सन पनि सक्दैन।
तर उ आफ्नो विगतलाई घृणा गर्दिनथी।
ऊ भन्थी,
'मानिसको जीवन उकालो र ओरालोबीचको यात्रामा समेटिएको हुन्छ। सधैँ उकालो मात्रै भए पनि मानिस थाक्छ। सधैँ ओरालो मात्रै भए पनि मानिसलाई आफ्नो खुट्टा कहाँ टेक्ने थाहा हुँदैन।'
त्यसपछि ऊ झ्यालबाहिर हेर्थी।
समुद्रतिर।
'मलाई खुला फाँट मन पर्छ,' उसले एकपटक भनेकी थिई, 'किनभने त्यहाँ मानिसको सपना रोकिँदैन।'
म हाँसेँ।
'अनि साँघुरा सडक?'
'त्यहाँ मानिस आफूभित्र पस्छ।'
म उसलाई हेरेर चुप लागेँ। मलाई जे मन पर्छ उसलाई त्यही किन मन पर्छ भनेर म चकित भएको थिएँ।
त्यतिबेला हामी प्रेममा परिसकेका थियौँ कि थिएनौँ, भन्न सक्दिनँ।
प्रेमको सबैभन्दा अनौठो कुरा यही हो, यो सुरू भएको दिन कहिल्यै थाहा हुँदैन।
***
म उसलाई मेरो कक्षा तयारीको काम लगाउँथेँ।
विद्यार्थीहरूका लागि पाठ्यसामग्री खोज्ने, पुराना पुस्तकहरूको पृष्ठ फोटोकपी गर्ने, कहिलेकाहीँ कुनै अनुच्छेदको अनुवाद गर्ने।
ऊ काम गरिरहन्थी र म उसको छेउमा बसेर किताब पढिरहेको बहाना गर्थें।
'तपाईं मलाई काम लगाउनुहुन्छ कि भेट्ने बहाना बनाउनुहुन्छ?' उसले एकदिन सोधी।
मैले किताबबाट आँखा नउठाई भनेँ,
'दुवै हुन सक्छ।'
'त्यसो भए तपाईं असल प्रोफेसर होइन।'
'किन?'
'प्रोफेसरले विद्यार्थीलाई ज्ञान दिन्छ। तपाईं त मलाई प्रेम सिकाइरहनु भएको छ।'
त्यो दिन हामी दुवै धेरै बेर हाँसेका थियौँ।
तर हाँसो सकिएपछि उसको आँखामा उदासीनता छाएको मैले स्पष्ट देखेको थिएँ।
मैले सोधेँ,
'के भयो?'
उसले टाउको हल्लाई। 'केही होइन।'
त्यो ‘केही होइन’ नै हाम्रो प्रेमको पहिलो स्पर्श थियो।
***
बिदा हुनासाथ ऊ मलाई आफ्नो घरमा बोलाइहाल्थी। उसको घरमा एउटा खालको अजीवको एकान्तपन व्याप्त हुन्थ्यो। उसको घर समुद्रबाट धेरै टाढा थिएन।
ढोकाको कापबाट सधैँ चिसो समुद्री हावा भित्र छिरिरहन्थ्यो। घरभित्र काठको पुरानो टेबल थियो, दुईवटा कुर्सी, केही किताब र एउटा सानो बत्ती।
त्यहाँ कुनै विलासिताको संकेतसम्म थिएन। तर त्यहाँ सजीव र सरल जीवन थियो। पुरानो भित्ता भएको घरमा ऊ एक्लै बस्थी।
ऊ चिया बनाउँथी।
म किताबका कुरा गर्थें। ऊ मलाई रोकेर नोटबुक पल्टाउन थाल्थी र प्रश्नहरूको खात निकाल्थी। न्यूटनले किन उल्टा सोच्थे? कोलम्बसले अमेरिका पत्ता लगाउँदा उसको प्रेमिका पनि सँगै थिइन हो? पृथ्वी र सूर्यको दूरी कति छ? सेक्सपियरले आफ्नो छोरीलाई किन घरबाट निकालेका थिए? यस्तै अनेकथरी प्रश्नहरू। हरेक समय सिक्न र सिकिरहनुपर्ने। उसमा ज्ञानको असीम भोक थियो।
ऊ कविता पढ्थी।
म उसको आवाज सुन्थेँ।
कहिलेकाहीँ बाहिर समुद्र गर्जिरहेको हुन्थ्यो र हामी दुवै चुपचाप बसिरहेका हुन्थ्यौँ।
त्यो मौनतामा पनि संवाद हुन्थ्यो।
मैले उसको विगत र परिवारका बारेमा कहिल्यै सोधिनँ। किनकि म उसलाई विगतमा लगेर दुःखित बनाउन चाहँदैनथेँ। एक साँझ उसले आफ्नो नोटबुक मलाई दिई।
'पढ्नुहोस्।'
मैले खोलेँ।
कविताको शीर्षक थियो— 'फर्केर नआउने मान्छेका लागि'
मैले पढ्न थालेँ।
कवितामा एउटा मानिस थियो, जो समुद्र पार गरेर आएको थियो।
उसले एउटा स्त्रीलाई प्रेम गरेको थियो।
तर त्यो स्त्रीलाई पहिले नै थाहा थियो, समुद्रले सबैलाई एउटै किनारामा राख्दैन।
मैले पढिसकेपछि उसको अनुहारतिर हेरेँ।
'यो कसको बारेमा हो?'
उसले मेरो आँखामा हेरी।
'तपाईंलाई के लाग्छ?'
'मलाई लाग्छ, तिमी दुःखद अन्त्य लेख्न चाहन्छ्यौ।'
उसले केही भनिन।
केही क्षणपछि मात्र बोली,
'कहिलेकाहीँ हामीलाई अन्त्य पहिले नै थाहा हुन्छ।'
'तर जीवन कथा होइन, उर्सेला।'
ऊ मुस्कुराई।
'जीवन कथाभन्दा पनि निर्दयी हुन्छ।'
त्यो साँझ समुद्रमा छाल उर्लिरहेको थियो। समुद्र असाध्यै ठूलो सुनिएको थियो। र साँझ एक प्रकारले समुद्रको आवाजमा तरंगित भएको जस्तो फरक लागेको थियो।
***
म उसलाई प्रेम गर्थें।
त्यो कुरा भन्न मलाई धेरै समय लागेन।
तर प्रेम स्वीकार गर्नुभन्दा प्रेमको परिणाम स्वीकार गर्न धेरै साहस चाहिन्छ।
ऊ पनि मलाई प्रेम गर्थी।
तर उसको प्रेममा एउटा अनौठो डर मिसिएको थियो।
'तपाईं फर्किनुहुन्छ?,' उसले एक रात भनी।
'कहाँ?'
'आफ्नो देश।'
'अनि?'
'अनि म?'
मैले उसको हात समातेँ।
'तिमी पनि आउन सक्छ्यौ।'
उसले हात फिर्ता लिई।
'सबै मानिस अरूको देशसँगै हिँड्न सक्दैनन्।'
मैले त्यो बेला उसको कुरा बुझिनँ।
आज बुझ्छु।
मानिस जहाँ जन्मिन्छ, त्यहीँ मात्र बाँधिएको हुँदैन। तर केही माटो मानिसको आत्मामा यति गहिरो गरी बस्छ कि त्यसलाई उखेलेर अर्को ठाउँमा रोप्दा मानिस जीवित त रहन सक्छ, तर उस्तै रहँदैन।
ऊ आफ्नो माटो छोड्न चाहन्नथी।
म आफ्नो आकाश।
हामीले प्रेममा एउटा पुल बनाएका थियौँ, तर दुवै किनाराहरू आफ्नै ठाउँमा अडिएका थिए। फ्योदर दस्त्रोभस्कीले लेखेका थिए- ‘ज्ञानी मान्छे खुसीभन्दा पर सधैँ एक्लो हुन्छ। मूर्खहरू सहजै खुसी हुन्छन् र फटफट गरिरहेका हुन्छन्।’
सायद त्यसैले पनि ऊ एक्ली र सुनसान देखिन्थी।
***
एकदिन मैले उसको नोटबुक फेरि भेटेँ।
उसले लेखेको एउटा वाक्यमा मेरो आँखा अडियो।
'उसले मलाई प्रेम गर्यो, मैले उसको लेखन रोजेँ।'
मैले सोधेँ,
'यसको अर्थ के हो?'
ऊ हाँसी।
'तपाईंलाई मसँग प्रेम गर्न मन लाग्छ कि लेख्न?'
'दुवै।'
'होइन,' उसले भनी, 'मानिसले अन्ततः एउटा कुरा रोज्छ।'
'तिमीले के रोज्यौ?'
उसले केही बेर मलाई हेरी।
'तपाईंको लेखन।'
म अचम्ममा परेँ।
'त्यो कसरी?'
'किनभने तपाईं मसँग प्रेममा हुनुहुन्छ। तर तपाईं गजब लेख्नु हुन्छ। ती शब्दहरूले घिसारेर मलाई तपाईंको समीपमा लगेका हुन्। तपाईं जहाँ पुगे पनि तपाईंले लेखेका शब्दहरू मेरो सिरानीमा सधैँ मसँगै सुत्न सक्ने छन्। शब्दहरूको अँगालोमा म यस्ता कति जीवन बिताइदिन सक्छु।
'यदि मैले तपाईंलाई जीवनको सबैभन्दा सुन्दर र सबैभन्दा पीडादायी भाग दिएँ भने, तपाईंले त्यसलाई शब्दमा बचाउन सक्नुहुन्छ।' प्रेम पुरानो र टाढाको बन्दै जान सक्छ तर शब्दले पोखेका अनुभूतिहरू सधैँ जीवन्त रहन्छन्।
'म तिमीलाई शब्दमा होइन, जीवनमा बचाउन चाहन्छु।'
उसले टाउको हल्लाई।
'जीवन कसैले सोचेजस्तो पनि कहाँ हुन्छ र?'
उसको त्यो वाक्यले मलाई चुप बनायो।
***
त्यसपछि समय बदलिन थाल्यो।
युनिभर्सिटीमा राजनीतिक अवस्था फेरि अस्थिर हुँदै थियो। विदेशी शिक्षकहरूले विदेशी प्रभाव छोडेर सांस्कृतिक विचलन बढ्यो भनेर प्रश्न उठ्न थाले। मेरा कागजातहरू, फर्किने मिति, कलेजको प्रशासन, सबै कुरा अचानक महत्त्वपूर्ण हुन थाले।
मलाई फर्किनुपर्ने नै थियो। एउटा यात्री जस्तै अगाडिको यात्रामा हरेक परिस्थितिहरूमा म तयार रहनै पर्थ्यो।
उर्सेलालाई मैले यो खबर सुनाउँदा ऊ चुप लागी। उसको अनुहारमा मौनता व्याप्त भएको थियो।
उसको आँखामा आँसु थिएन, ऊ पटक्कै रोइन।
मलाई लाग्यो, शायद ऊ मानसिक रूपमा बलियो भएकी छ।
तर केही बेरपछि उसले बिस्तारै भनी,
'तपाईं कहिले जानुहुन्छ?'
'यही महिना। डिसेम्बरको अन्त्यतिर।'
उसले झ्यालबाहिरतिर हेरी।
'त्यति छिटो?'
उनीहरूका धेरैथरी सर्तहरू छन्। 'सायद मसँग विकल्प छैन।'
'मानिससँग सधैँ विकल्प हुन्छ।' उसको आवाजमा पीडा पोखिएको थियो।
'कहिलेकाहीँ हुँदैन।' मेरो बाध्यता शब्दहरूमा प्रकट भए।
'त्यसैले त मानिस दुःखी हुन्छ।'
***
मेरो कलेजका अन्तिम दिनहरूमा म उसको घरमा अलि बढी जान थालेँ।
बैठक कोठाको भित्तामा एउटा ठूलो आकारको पारिवारिक फोटो झुन्डिएको थियो। उसका मातापिता र ऊ सानी हुँदाको। फोटोमा उसले पिताजीको हात टम्म समातेकी थिई। मैले त्यो तस्वीरको बारेमा कहिल्यै सोधिनँ र उसले पनि कहिले भनिनँ। सायद त्यस भित्र वीभत्स अत्याचारको विगत जोडिएको थियो। र म विगतलाई उप्काएर उसलाई दुःखी बनाउन चाहँदैनथेँ।
हामी भविष्यको कुरा गर्दैनथ्यौँ।
भविष्य भन्नासाथ एउटा अदृश्य पर्खाल हाम्रो बीचमा उभिन्थ्यो।
एक साँझ मैले उसलाई सोधेँ,
'यदि म फर्केर आएँ भने?'
उसले समुद्रतिर हेर्दै भनी, 'त्यतिबेला म यहीँ हुनेछु भन्ने ग्यारेन्टी छैन।'
'किन?'
'मानिसहरू बदलिन्छन्।'
'तिमी बदलिन्छ्यौ?'
'तपाईं पनि।'
त्यसपछि उसले मेरो हातमा आफ्नो नोटबुक राखी।
'यो राख्नुहोस्।'
'किन?'
'तपाईंका लागि।'
'यसमा तिम्रा कविताहरू छन्।'
'त्यसैले।'
मैले नोटबुक खोलेँ।
अन्तिम पृष्ठ खाली थियो।
'यो खाली किन?'
उसले भनी,
'अन्त्य तपाईंले लेख्नू।'
मैले उसको अनुहार हेरेँ।
त्यहाँ आँसु थिएन।
तर मलाई पहिलोपटक महसुस भयो। कहिलेकाहीँ मानिस रोएको देखिँदैन, किनभने उसको आँसु उसको सम्पूर्ण शरीरभित्र बगिरहेको हुन्छ।
***
म फर्किने दिन बिहान समुद्र असाध्यै शान्त थियो। मन्द हावाले नरिवलका अग्ला रूखहरू विस्तारै चलेको देखिन्थे। समुद्र किनारामा मान्छेहरूको चहलपहल खासै थिएन।
सडकमा फाट्टफुट्ट मात्र गाडीहरू देखिन्थे।
कलेजको सानो गेट पार गर्दा मैले पछाडि फर्केर हेरेँ।
उर्सेला त्यहाँ थिइन।
मलाई अचम्म लागेन।
सायद उसले बिदाइलाई पनि एउटा अन्तिम दृश्य बन्न दिन चाहिन।
मैले उसको घरतिर जाने त्यो साँघुरो सडक सम्झिएँ।
ढोकाको कापबाट भित्र पस्ने चिसो समुद्री हावा सम्झिएँ।
उसको कविता सम्झिएँ।
र अन्तिम पृष्ठ।
***
वर्षहरू बिते।
धेरै वर्ष।
यात्राहरूको पनि कुनै हिसाब रहेन। मैले संसारका धेरै ठाउँ देखेँ। विश्वविद्यालयहरू बदलिए। विद्यार्थीहरू बदलिए। मेरो लेखन पनि बदलियो।
उर्सेलाको नोटबुक भने मेरो कोठाको एउटा दराजमा सुरक्षित थियो।
एकदिन मैले त्यसलाई फेरि खोलेँ।
अन्तिम पृष्ठ अझै खाली थियो।
कलम हातमा लिएँ।
सोचेँ तर धेरै बेरसम्म केही लेख्न सकिनँ।
किनकि मलाई अचानक थाहा भयो। उसले मलाई अन्त्य लेख्न भनेकी थिइन।
उसले मलाई स्मृति लेख्न भनेकी थिई।
अन्त्य त हाम्रो जीवनले आफै लेखिसकेको थियो।
मैले खाली पृष्ठमा केवल एउटा वाक्य लेखें।
'उर्सेला, तिमीले मलाई प्रेमको अन्त्य सिकाइनौ, तिमीले मलाई निर्मम विछोडपछि पनि प्रेम मानिसभित्र कसरी बाँचिरहन्छ भन्ने सिकायौ।'
त्यसपछि मैले नोटबुक बन्द गरेँ।
मेरो मानसपटलमा समुद्रको आवाज अझै गुञ्जिरहेको थियो।
त्यही पुरानो समुद्र।
त्यही साँघुरा सडक।
त्यही खुला फाँट।
र एउटा सुन्दर स्त्रीको आवाज......
'जीवन कसैले सोचेजस्तो पनि कहाँ हुन्छ र?'
हो।
जीवन कसैले सोचेजस्तो हुँदैन।
सायद त्यसैले प्रेम यति सुन्दर हुन्छ।
त्यसैले विछोडले पनि प्रेमको अन्त गर्न सक्दैन। हृदयको अनन्त गहिराईमा प्रेम अमिट बसिरहेको हुन्छ। सायद त्यसैले कोही मानिसहरू जीवनबाट गएर पनि जीवनको सबैभन्दा लामो र अविस्मरणीय अध्याय बनेर रहेका हुन्छन्।