हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारीकी चन्द्रकला पंगेनी बुटवल–भैरहवा सडक किनारमा रहेको प्रतीक्षालयमा भेटिइन्।
साँझ पर्नै लाग्दा अरू दुई जना महिलासँग गफ गरिरहेकी चन्द्रकलासँग हामीले कुराकानी गर्यौं।
हामीले उनलाई सोध्यौं—
पहिला आफ्नोबारे भन्नुस् न। तपाईँ कहाँ बस्नुहुन्छ, परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो घर त उ त्यही परको हो (हातको औंलाले देखाउँदै)। घरमा म र बुढा (दुर्गाप्रसाद पंगेनी) मात्र छौँ। छोराबुहारी आफ्नो व्यापारका लागि बाहिर बसेका छन्। ठूलो नाति डाक्टर पढ्न युके गएका छन्। नातिनी अस्ट्रेलिया गएकी छन्। सानो नाति बुटवल पढ्छन्।
म बुढी मान्छेले काम त के गर्न सक्छु र! बुढाबुढीलाई खाना पकाउने, जुठो भाँडो गर्ने त्यही त हो।
कति वर्षकी हुनुभयो?
उमे ७० र २ वर्षकी भएँ। ७२ भन्छन् कि!
तपाईँहरूको घर खर्च अहिले कसरी चलिरहेको छ?
घर खर्च जसोतसो आफैले चलाएका छौं। जग्गा बिक्री गरेको पैसा बैंकमा छ, त्यही निकाल्दै, खाँदै गरेका छौं।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
मनमा एउटा न एउटा चिन्ता नभएको मान्छे कोही पनि हुँदैन। एउटा न एउटा चिन्ता जसलाई पनि हुन्छ। छोराबुहारीको चिन्ता गर्न परेन, आफ्नो गरेका छन्, बसेका छन्।
हामी बुढाबुढी भयौं, अप्ठ्यारो पर्छ कि भन्ने चिन्ता लाग्छ। बुढा अलि बुढै हुनुभएको छ।
तपाईंका दुई वटा नाति–नातिनी विदेश गइसकेका छन्। कान्छो नातिले नेपालमै केही गर्ने भनेका छन् कि विदेश जाने भन्छन्?
सानो नाति त अहिले यहीँ पढिरहेका छन्। पढेपछि उनी पनि विदेश जाने होलान् नि।
नेपालका युवा तन्नेरी विदेश जान किन खोज्छन् होला?
खोइ, विदेश रमाइलो हुने भएर त होला। नातिनातिनी विदेश जाँदा त म धेरै रोएकी थिएँ। तर उनीहरूले जान खोजेपछि नजान भन्न सकिएन। पढ्न जान्छु भनेपछि आफैले पैसा खोजेर पठाइदिएको हो।
पोहोर साल जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
हामी बुढाबुढीलाई त के थाहा हुने हो र, केही पनि सोचिएको थिएन।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबभन्दा बढी के कुराले रिसाएका थिए?
सरकारमा को जाने भनेर त होला। घरमा पनि ताला–चाबी कसले लिने भनेर कस्तो लडाइँ हुन्छ, देशमा पनि त्यस्तै भएर होला।
नेताहरूले भ्रष्टाचार गरे पनि भन्थे, हामीले त देखिएन। भनेको सुनेको मात्र हो।
त्यो आन्दोलनको के कुरा तपाईँलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
त्यही आन्दोलनले अहिलेको सरकार बन्यो, त्यो ठिक लाग्यो। आगो लगाउने गरेको ठिक लागेन। आगोसँग खेल्दा देशै सखाप भयो।
आन्दोलनपछि देशमा केही राम्रो भएजस्तो लाग्छ कि पहिलेजस्तै छ?
खोइ, पहिलेजस्तो थियो त्यस्तै लाग्छ मलाई त। पहिलेको सरकार हटेर अहिलेको सरकार आयो, त्यति मात्र भएजस्तो लाग्छ।
देश अब राम्रो हुन्छ भन्ने लाग्छ कि उस्तै हो भन्ने लाग्छ?
अब त राम्रो हुनुपर्यो नि। सबै भर्खरका युवाहरू सरकारमा गएका छन्। केही त राम्रो होला। अहिलेका नेता सबै धनी छन्, सरकारको पैसा चोर्दैनन्। अब दुःखी गरिबलाई पनि हेर्छन् भन्ने आशा छ।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
हाम्रो त अब के राम्रो हुने हो र। छोराबुहारी, नातिनातिनीको राम्रो होला नि।
अहिलेको सरकारले राम्रो काम गरिरहेको छ जस्तो लाग्छ कि चित्त बुझ्दो काम गर्न सकेको छैन?
सबैले अहिलेको सरकारले राम्रो गरेको छ भनेको सुन्छु। सरकारमा भएका सबै धनी–धनी छन्, भगवान जस्ता छन् भनेका छन्।
तपाईंलाई के लाग्छ?
मलाई पनि ठिकै लागेको छ। सरकारमा गएको धेरै भएको छैन। दिन पुगेपछि राम्रै गर्लान्।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
कहाँ सुध्रिनु, सुध्रिएका छैनन्। अहिलेको सरकारलाई हटाउन पाए हुन्थ्यो भनेर के के आरोप लगाइरहेका छन्।
पहिले चोरेर, लुटेर खान पल्किएकाहरू अहिले खान नपाउँदा छटपटिएका छन्।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
कहिले कुन पार्टी, कहिले कुन पार्टी रोजिरहन त पाइँदैन होला। अहिले सरकारमा गएको रास्वपा पार्टीलाई काम गर्न दिने हो भने राम्रै गर्ला भन्ने लागेको छ।
राम्रै गर्लान् भनेर हामी सबैले चुनावमा भोट हालेर जिताएर पठाएको हो।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को–को हुन्?
नेताहरूको नाम त बिर्सिन्छु। एउटा हाम्रै गाउँका सुनिल लम्साल छन्। उनी त अहिले मन्त्री भएका छन्। प्रधानमन्त्री बालेन शाहले पनि केही गर्छन् कि भन्ने आशा छ।
ती नेताबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
अहिलेका नेताहरू सबै धनी छन्, आफ्नै सम्पत्तिले खान पुग्छ, देशको चोर्न/लुट्न पर्दैन, त्यही भएर उनीहरूले देशको विकास गर्छन् भन्ने आशा छ।
हामीले यति आशा गरेर पठाएका नेताहरू कसैले पनि फेरि लुट्न नथालून्, देशको काम गरून् भन्न चाहन्छु।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे