सँगसँगै जिन्दगी
यही मंसिरको एक बिहान।
काठमाडौं, विशालनगरका ठूल्ठूला घरको घन्चमन्च छिचोल्दै बिहान १० बजेतिर उनको आँगनमा पुगेको थियो घाम।
रापिला हुँदै गएका किरण हत्केलाले छेल पार्दै देवेन्द्रराज पाण्डेले भने, 'हामी त अब डाँडामाथिको घाम!'
अनि बगैंचामा भर्खरै फक्रेका ढकमक्क सयपत्री हेर्दै उनले थपे, 'हामी त ओइलाउँदै गएका फूलहरू!'
फेरि केही बोल्दै थिए, पद्माले रोकिन् र भनिन्, 'परिस्थिति जस्तो आउँछ, त्यही स्वीकार गर्नुपर्छ। डन्ट थिंक अबाउट हाउ टु क्रस द ब्रिज बिफोर इट कम्स। डिसाइड ह्वेन यु रिच द ब्रिज।'
हरिया बुट्यान र रंगीबिरंगी थरीथरी फूलका बोटबीच बसेका देवेन्द्रराज मुसुक्क हाँसे। ८४ वर्ष उमेर बिताइसकेका उनको अनुहारका गहिरा रेसाहरू अझै गहिरा देखिए।
पद्माले हामीतिर हेरेर भनिन्, 'पुल कसरी तर्ने भन्ने त पुलमै पुगेर निर्णय गर्ने नि होइन?'
७६ वर्षको जीवन अनुभव सँगालेकी उनको मुस्कानमा पनि गहिरा मुजाहरूले सुन्दरता थपे।
यसरी नै मुस्कान साट्दै, एकअर्काको भर हुँदै, साथी हुँदै हुर्केको उनीहरूको सम्बन्ध पनि उमेरजस्तै पाको भइसकेको छ।
सँगसँगै जीवन भोगेको समय माप्दै देवेन्द्रराजले भने, '२७ सालमा हाम्रो बिहे भएको, ५३ वर्ष भयो है सँगै भएको।'
आधा शताब्दीभन्दा धेरै समय भयो उनीहरू सँगै बसेको, सँगै जीवन भोगेको।
यो त्यसैको कथा हो। उनीहरूले एकअर्काको पाइलामा पाइला जोडेर हिँडिरहेको यात्राको कथा हो।
जुन प्रारब्धले देवेन्द्रराज र पद्माको भेट गरायो, त्यसको सूत्रधार समय भने धेरै पुरानो छ, १९३५-३६ सालतिर। त्यो बेला पाल्पाका नन्दराज पाण्डे काठमाडौं नछिरेका भए, देवेन्द्र र पद्माका पाइला अहिले एकसाथ नहुन सक्थे। यो सहयात्रा नजुर्न सक्थ्यो!
नन्दराजले श्री ३ रणोद्वीप सिंहको पालामा सुब्बाको जागिर पाएका थिए। त्यही बेला उनी सपरिवार काठमाडौं बसाइ सरे। पछि उनी अदालत गोश्वारामा 'जज' भए। तिनै 'जज' का नाति हुन् देवेन्द्रराज पाण्डे।
उनका बुबा खगेन्द्रराज पढाइमा तेज थिए। अंग्रेजी भाषामा बलियो पकड थियो। जब चन्द्रशमशेरका छोरा सिंहशमशेर बेलायतका लागि राजदूत भए, अंग्रेजीमा दख्खल भएकै कारण खगेन्द्र उनका निजी सहायक भएर उतै गए।
खगेन्द्र बेलायत जाँदा देवेन्द्रराज आमाको गर्भमा थिए, फर्किएर आउँदा मामाघरमा। बाबुछोराको पहिलोपटक भेट हुँदा देवेन्द्र चार वर्षका थिए।
'तर बा भनेर अनुभूति गर्न पाएँ कि पाइनँ, मलाई सम्झना छैन,' देवेन्द्रराजले भने।
देवेन्द्रराज एसएलसी सकुन्जेल कमलपोखरीस्थित मावल बसे। दरबार हाइस्कुल आउजाउ गरे। त्रिचन्द्रमा आइए पढ्दा भने ज्ञानेश्वरको आफ्नै घरमा बस्न थाले।
उनी सामान्य विद्यार्थी थिए। पढाइमा उति धेरै चाख पनि थिएन। तैपनि कक्षाहरू टुक्लु टुक्लु उक्लिरहे। बीस वर्षकै उमेरमा स्नातकोत्तर पास गरे। २१ वर्षमा त सरकारी जागिरे भए। ठिटो देवेन्द्रराजको जिन्दगीको रूट ज्ञानेश्वर–सिंहदबार–ज्ञानेश्वर हुन थाल्यो।
त्यही ज्ञानेश्वरमा अर्याल परिवार पनि बस्थ्यो। परिवारका मूलीलाई सबैले 'अर्याल बाजे' भनेर चिन्थे। उनको नाम भने जीवनाथ अर्याल हो।
पाण्डे खलक र अर्याल खलकको जीवनशैलीमा आकाश-जमिनको भिन्नता थियो। पाण्डे परिवार पढालेखा थिए। अंग्रेजीमा रूचि र पकड थियो। लवाइखवाइ भने साह्रै सामान्य। सुरूवाल र कमिज नै उनीहरूको पहिरन र पहिचान थियो।
जीवनाथ अर्याल भने सामान्य पढालेखा थिए। ठाँटबाँट भने अंग्रेजको जस्तो थियो। उनै जीवनाथका सातवटी छोरी थिए। तीमध्येकी काँइली हुन् पद्मा अर्याल।
जीवनाथले सबै छोरीहरूको पढाइका लागि राम्रो बन्दोबस्ती गरेका थिए। पद्माकी जेठी दिदी पाँच वर्षकै उमेरमा स्कुल पढ्न कालिम्पोङ गएकी थिइन्। अरू दुई दिदी सात-सात वर्षका हुँदा गए। पद्मा पनि सात वर्षकी हुन्जेल काठमाडौंकै सेन्टमेरिजमा पढिन्। त्यसपछि दिदीहरूकै पदचाप पछ्याउन कालिम्पोङ पठाए बुबाले।
त्यस बेला काठमाडौंमा 'रैती' का लागि गाडी हुँदैन थियो। काठमाडौं बाहिर जान पनि गाडी वा घोडाको सुविधा थिएन। जीवनाथले पद्मालाई डोकोमा बोकाएर पठाएका थिए।
'मलाई पनि बुबाले सातै वर्षको उमेरमा डोकोमा हालेर पढ्न पठाउनुभयो,' धमिलिँदै गएको सम्झना सङ्लो पार्दै पद्माले सुनाइन्, 'यहाँबाट चित्लाङ हुँदै अमलेखगञ्जसम्म डोकोमा चढेर गएँ। अमलेखगञ्जबाट रक्सौल र रक्सौलबाट कालिम्पोङ।'
वर्ष दिनको बिदामा पद्मा उसै गरी डोको चढेर घर आउँथिन्। स्कुल फर्किँदा फेरि उस्तै यात्रा। एसएलसी सकुन्जेल यो सिलसिला चलिरह्यो। यसपछि भने उनी काठमाडौंमै पढिन्। थुप्रै वर्ष कालिम्पोङमा बिताएकी उनले त्यहाँका धेरै सुविधा काठमाडौं 'मिस' गरिन्।
पद्मा बागबजारको पद्मकन्या क्याम्पस भर्ना भएकी थिइन्। दिउँसोको कक्षा हुन्थ्यो। ज्ञानेश्वर घरदेखि हिँडेर आउजाउ गर्थिन्।
ज्ञानेश्वरबाट कलेज जाने पद्माको बाटो र कार्यालय जाने देवेन्द्रराजको बाटो एउटै थियो। त्यही बाटोले कोरेको हो उनीहरूको जीवनको लामो सहयात्रा।
उनीहरूको घरबाट हिँड्ने समय पनि एउटै पर्थ्यो। बागबजार पुग्ने पद्मा र सिंहदरबार पुग्ने देवेन्द्रराज डिल्लीबजार ओरालोसम्म सँगसँगै हुन्थे।
तर यो सहयात्रामा उनीहरू चुपचाप हिँड्थे। आपसमा बोलचाल थिएन तर एकअर्का प्रति आकर्षण थियो।
सामान्य लवाइखवाइमा हुर्केका देवेन्द्रराजलाई पद्माको परिवार विदेशीझैं लाग्थ्यो। स्कर्टस् लगाउने, फर्याकफुरूक गर्ने, अंग्रेजी मात्रै बोल्ने, हेर्दै विदेशीजस्ती लाग्ने पद्मालाई देखेर उनी एकसाथ आकर्षित र चकित थिए।
उसो त अंग्रेजीप्रति देवेन्द्रराजको पनि कम्ता मोह र पकड थिएन। भेषबहादुर थापाले हालै सार्वजनिक आफ्नो किताब 'राष्ट्र परराष्ट्र' मा समेत उनको अंग्रेजी भाषाको पकडबारे चर्चा गरेका छन्।
तर पद्मा र देवेन्द्रराजको भिन्नता यतिमा सीमित थिएन। उनीहरूको स्वभाव पनि विपरीत थियो। त्यो अहिले पनि कायम छ।
देवेन्द्रराज वाचाल छन्। बोलिरहन रूचाउँछन् पनि। सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालसम्म आफ्ना कुरा खुलेर राख्छन्।
पद्मा धीर र शान्त छिन्। सुनिरहन रूचाउँछिन्। सार्वजनिक रूपमा आफ्ना कुराहरू खासै खुलाउँदिनन्।
स्वभावका दुई विपरीत ध्रुवको मिलन कसरी भयो त?
हाम्रो प्रश्नमा देवेन्द्रराज मज्जाले मुस्काए। श्रीमती पद्मातिर फर्किए, अनि भने, 'ल आज आमाले बोल्ने।'
पद्मालाई सायद श्रीमानले फसादमा पारिदिए। अनुहार अलिकति खुम्च्याएजस्तो, अलिकति हाँसेजस्तो भावमा पद्माले उनलाई छड्के आँखाले हेरिन् र भनिन्, 'सबैको आ-आफ्नो नेचर हुन्छ नि, म शान्त छु।'
उनले यति भनेपछि त देवेन्द्रराज निमेषभर शान्त जस्तो भए।
तर तुरून्तै पद्मातिर फर्किएर भने, 'भन्देऊ भन्देऊ। मज्जासित भन्देऊ। मैले पनि सुनम्।'
यतिका वर्ष सँगै सयौं दिन बिताएका श्रीमानले नै सुनम् भनेपछि पद्मा विगतमा पुगिन्।

'क्याम्पस पढ्ने बेला मेरा साथीहरू सिफलबाट आउँथे। म ज्ञानेश्वर चोकमा उनीहरूलाई पर्खिएर बस्थेँ। उहाँ पनि आफ्ना साथीहरूसँग सिंहदरबार जान निस्किनुहुन्थ्यो। हाम्रो घर चोकमा थियो, उहाँको अलि उता छेउपट्टी थियो। उहाँ निस्किने, हामी यस्सरी जाने,' पद्माले सिन्धुली-खुर्कोटको घुमाउरो बाटोझैं आफ्नो हात फनक्क घुमाएर बुझाइन्।
छ दशकअगाडि आफैंले भोगेको अनुभव श्रीमतीको मुखबाट सुन्दा देवेन्द्रराज मुख आँ गरेरै सुनिरहेका थिए। अलिकति मुस्कान, धेरै उत्सुकतासहित पद्मालाई हेरिरहे।
'उहाँ साथीहरूसँग अघि अघि जाने, हामी पछिपछि हिँड्ने,' थोरै मुस्कुराउँदै उनले भनिन्, 'सिल्ली सिल्ली कुरा गर्दै हामीतिर हेर्दै उहाँहरू हाँस्नुहुन्थ्यो। उहाँहरू हाँसेको देखेर हामी पनि हाँस्थ्यौं।'
डिल्लीबजार ओरालोबाट बाटो अझै लामो भए हुन्थ्यो जस्तो लाग्दैन थियो?
देवेन्द्रराजले आशातीत उत्तर दिइहाले, 'लाग्थ्यो!'
'भोलि फेरि आइहाल्थ्यो त,' पद्माले पनि आफ्नो स्वभावअनुरूप प्रस्ट्याइन्।
यी दुई जनको दुई वर्ष यसै गरी बित्यो — सँगसँगै हिँडेर, कहिल्यै आपसमा नबोलेर, साथीसँग हाँस्दै र 'सिल्ली सिल्ली' कुरा गर्दै।
मुखले आमनेसामने भने कहिल्यै बोलचाल गरेनन्। न छाँट, न संकेत। जति कुरा भयो, आँखाआँखामै भयो। हाउभाउमै भयो। हाँसोमै भयो।
समय बितेको पत्तै भएन। पद्मा स्नातकोत्तर पढ्ने भइसकेकी थिइन्। उनी प्रायः पुस्तकालय जान्थिन्। एक साँझ उनी पुस्तकालयबाट फर्किँदै थिइन्। देवेन्द्रराज आफ्ना साथीहरू भेट्न कमलपोखरी जाँदै थिए।
त्यही बेला कमलपोखरी भगवती मन्दिर छेउमा उनले पद्मालाई देखे। बीचमा मन्दिर, दायाँबायाँ परेकाले पद्माले भने देखिनन्। उनी आफ्नै सुरमा हिँडिरहेकी थिइन्।
अचानक कसैको ठूलो आवाज सुनिन्, 'म भोलि अमेरिका जान लागेँ।'
यताउता हेरिन्, कोही देखिनन्।
'को, किन कराएको होला जस्तो लाग्यो एकछिन त,' पद्माले त्यो क्षण सम्झिँदै सुनाइन्, 'उहाँलाई देखेपछि र वरिपरि अरू कोही मान्छे नदेखेपछि मेरै लागि हो भन्ने टुंगोमा पुगेँ।'
पद्माले त्यसो भन्दै गर्दा देवेन्द्रराज जोडले हाँसे, अनि भने, 'मैले जनाउ दिएको हो नि!'
केको जनाउ?
'प्रेमको नि,' उनले भने।
देवेन्द्रराजको भोलि आइहाल्यो। विद्यावारिधि गर्न गएका उनी केही वर्ष अमेरिकामै भुले। उतैको जीवनशैलीमा अभ्यस्त भए। तीन-चार वर्षमा एक-दुईपटक अध्ययनका लागि भनेर नेपाल आएका थिए।
यता पद्माले पढाइमै ध्यान लगाइन्। मन भने सुनासुना भइरह्यो। ज्ञानेश्वर-डिल्लीबजारको बाटो सुनसान हुन्थ्यो। पुराना दिनको झल्कोले बेलाबेला खल्लो बनाउँथ्यो।
मनको आवेगले ध्यानको भने वेग तोडेन। पद्माले स्नातकोत्तर सकिन्। घरमा बिहेको कुरा चल्न थाल्यो। कुरा चलेका कसैलाई पनि उनको मनले रोजेन।
उनले नमानेपछि समझदार परिवारले कर गरेन। छोरीको इच्छाविपरीत केही गर्नुहुँदैन भन्ने ठान्थे।
'मेरो बुवामुवाले घरीघरी सोध्नुहुन्थ्यो, कोही छ भने भन, जुन जातको भए पनि हुन्छ,' पद्माले सुनाइन्।
उनले यही छ भन्न सकिनन्। मनमा त थियो नि, डिल्लीबजारसम्म सँगै हिँड्ने त्यो केटो! तर उनले छ भन्ने सोचेको मान्छे अमेरिका जाँदै छु भन्ने खबर सुनाएर गएको थियो। न नाम थाहा छ, न काम! फर्किने हो कि नफर्किने, त्यो पनि ठेगान थिएन।
यस्तै अलमलबीच एकदिन ज्ञानेश्वरमा टुप्लुक्क देखा परे देवेन्द्रराज।
पद्माको मनले सोच्यो — यही केटोसँग बिहे हुन्छ कि के हो!
अब प्रेम कथाको दोस्रो 'इनिङ्स' सुरू हुँदै थियो।
त्यसपछि पद्माले देवेन्द्रराजबारे जान्ने कोशिस गरिन्। केही पत्ता लगाउन सकेकी थिइनन्। उनकी साथीले आधाअधुरो सूचना बोकेर आइन्।
'एक जना साथीले त्यो केटा डा. मृगेन्द्रराज पाण्डेको भाइ हो रे। यसको नाम चाहिँ थाहा छैन। तर अमेरिकाको लाइब्रेरीमा यसको ठूलो तस्बिर झुन्ड्याएको छ, युनिभर्सिटी फर्स्ट हो नि भन्दै आइन्,' पद्माले सुनाइन्।
त्यस बेला चल्तीका डाक्टर मृगेन्द्रराज पाण्डेलाई नचिन्ने काठमाडौंमा सायदै थिए।
'अमेरिकाको लाइब्रेरीमा मेरो फोटो चाहिँ त्यस बेला म राम्रो विद्यार्थी भएर झुन्ड्याएको,' गजक्क परेर सुनाए देवेन्द्रराजले।
'त्यस बेला मलाई त नाम थाहा थिएन, उहाँको नाम नै हामीले युनिभर्सिटी फर्स्ट भनेर राख्यौं,' पद्माले भनिन्।
काठमाडौं झर्नेबित्तिकै देवेन्द्रराजको पनि मन र आँखा दुवैले पद्मालाई खोजेका थिए। नाम त उनलाई पनि के थाहा, 'बाजेकी छोरी' भन्थे।
खोज्न त खोजे, तर मनमा कताकता चिसो थियो — बिहे गर्ने उमेरकी, त्यति राम्री केटी! बिहे नभएको त के होला!
फेरि आशा राखे — सन्देश छाडेर गएको थिएँ। त्यो प्रेमले रोकेको छ कि!
पहिले आफूसँगै ज्ञानेश्वर-डिल्लीबजार गरिरहनेमध्येका एक साथीलाई सोधे — अर्याल बाजेकी छोरीको हालखबर के छ हँ?
साथीबाटै थाहा भयो, 'बाजेकी छोरी' को त बिहे भएको छैन। बिहेका लागि केटा खोजिरहेका छन्।
यो खबर देवेन्द्रराजका लागि यस्तो थियो, जसको बयान उनी शब्दमा आज पनि गर्न सक्दैनन्। तर उनको दिमागमा घुमेको त्यो पल उनको हाँसो, उत्साह र आँखाको चमकमा देखिन्छ।
पद्माले कथा अगाडि बढाइन्, 'मेरो परिवार एकदम लिवरल थियो, उहाँको कन्जरभेटिभ। मलाई घरमा तिमीलाई कस्तो केटा मनपर्छ, आफैं रोज भनिसक्नुभएको थियो। त्यही भएर मैले एकदिन आमालाई त्यो आएको छ, एकपटक बुझ्नुस् न भनेँ।'
उनी बोलुन्जेल धैर्यपूर्वक उनको अनुहारको भाव पढिरहेका देवेन्द्रराज फेरि उत्साहित भए।
दंग पर्दै भने, 'कस्तो रमाइलो है। मैले माग्या हैन नि, उसले माग्या हो।'
यति भनेर उनी फेरि पद्मातिरै फर्किए।
'उसले हुन्छ भन्यो भने मैले त्यहीसँग बिहे गर्छु भनेँ। त्यस बेलाको ज्ञानेश्वर सानो थियो। आमाले हुन्छ भेटौं न त भन्नुभयो उहाँलाई बोलाइहाल्नुभयो।'
झन्डै दुई वर्ष लुकामारी मात्रै, त्यसपछिका तीन-चार वर्ष कता हो कता, अनि बिहेको कुरा!
पद्माकी आमाले बोलाएपछि देवेन्द्रराज आए। यत्रो वर्षसम्म बोल्नसमेत हिचकिचाएका उनी पद्मा र उनकी आमालाई भेटेपछि एकाएक आँटिला बने।
त्यही दिनको भेटमा पद्मालाई भने, 'घुम्न जाऔं।'
पद्माकी आमाले आज हुँदैन भनेकी थिइन्। उनले जिद्दी छाडेनन्। अमेरिकी खुला समाजमा बिताएको समयको प्रभाव थियो कि?
'होला,' देवेन्द्रराजसँग यसको थप व्याख्या छैन।
त्यही दिन उनीहरू घुम्न गए, पशुपति मन्दिर।
'आजकाल डेटिङ भन्छन्, हामी घुम्न जाने भन्थ्यौं,' देवेन्द्रराजले भने।
दिनभर उनीहरू पशुपति वरिपरि नै घुमे। न कतै बस्नु, न खानु, न पिउनु।
'पहिलोपटक घुम्न गएको छ, कतै बस्नु, गफ गर्नु छैन। घुम्न जाने भनेकै लखरलखर हिँड्ने हो उहाँका लागि,' पद्माले भनिन्।
आफ्नो आदतमा मौन स्वीकृति जनाए देवेन्द्रराजले।
त्यो दिन घुमेको घुम्यै गरेर साँझतिर ज्ञानेश्वर उकालोमा पुगे। छुट्टिने बेला पद्मालाई लागेको थियो — देवेन्द्रराजले केही भन्लान्, प्रेम दर्शाउलान् वा केही छनक देलान्।
तर देवेन्द्रराजले तीनछक मात्र पारिदिए।
पद्मा अहिले पनि आश्चर्यभावमा सुनाउँछिन्, 'ज्ञानेश्वर उकालोमा पुगेपछि उहाँ त ल तपाईं अब आफ्नो घर जानोस्, म आफ्नो घर जान्छु भनेर सुइँ सुइँ हिँड्नुभयो। आई वाज शक्ड!' (म चकित परेँ।)
देवेन्द्रराजले कम्तीमा आफूलाई घरको ढोकासम्म छाड्न त जालान् भन्ने लागेको रहेछ पद्मालाई। तर चोकबाटै आफ्नो बाटो लागिदिए। पद्मालाई कस्तो मान्छे होला यो भन्ने भयो।
अहिले पनि त्यो दिन आफ्नो घरको ढोकासम्म नछाडिदिएकामा देवेन्द्रराजसँग गुनासो छ उनको।
'अर्को पनि घटना छ...' पद्मा सुनाउन लागिन्।
बीचमै देवेन्द्रराज बोले, 'सिद्धियो अब। के के पोल खोल्छिन्।'
'अर्को पनि स्टोरी छ,' पद्माले नरोकिई सुनाइन्।
पशुपति घुमेको दुई-चार दिनपछि देवेन्द्रराजले फेरि घुम्न जाऔं भने। दरबारमार्ग जाने कुरा थियो। भेट भयो। पद्मालाई अब त पहिलेजस्तो नहोला भन्ने लागेको थियो। त देवेन्द्रराजको बानी! फेरि हिँडेको हिँड्यै।
देवेन्द्रराजले रक्षात्मक बन्दै भने, 'गफ गर्दै हिँडेको नि!'
उनको स्पष्टीकरणमा पद्माको चित्त बुझेन, भनिन्, 'कम्तीमा कहीँ बसेर चिया खाने भन्ने अपेक्षा त हुन्छ नि। अहँ केही छैन, हिँडाएको हिँडायै घर पुर्याउनुभयो।'
त्यस्तो हिँडाएको हिँडायै गर्ने अनि आधा बाटोमै छाड्ने मान्छेसँग बिहे कसरी भयो त?
'खोइ थाहा छैन,' अहिले पनि उनले भन्न सकिनन्।
'प्रेम भन्देऊ न प्रेम। प्रेममा सबै कुरा देखिँदैन क्या। अहिले पो देख्यौ त,' देवेन्द्रराजले भने।
पद्माले मुस्कानसहित स्वीकृति जनाइन्।
एकै ठाउँ बस्ने पद्मा र देवेन्द्रराजको २०२७ सालमा मागी विवाह भयो। दुवैले एकअर्कालाई मन पराएका थिए। पद्माले उनलाई मागिन्। बाटोमा हिँड्दा देखादेख भएर बसेको प्रेम पनि यति बलियो रहेछ, उनीहरूलाई दम्पती बनायो।

बिहेपछि दुवै जना आआफ्नो कामधन्दामा लागे।
पद्मा आफ्ना दिदीबहिनीहरूसँग मिलेर ज्ञानेश्वरमा खोलेको इन्टरनेसनल प्राइमरी स्कुलमा व्यस्त भइन्। उनलाई स्कुलमा आउने साना-साना नानीहरूको रेखदेख नै आफ्नो दैनिकी हो भन्ने लाग्थ्यो। सरकारी जागिरमा रूचि थिएन।
'सकेसम्म सरकारी जागिर नखाऔं भन्ने थियो। हामी दिदीबहिनी स्कुललाई कस्तो बनाउने भनेर नै लाग्यौं। अरूतिर सोच्न पनि भ्याइएन,' पद्माले भनिन्।
त्यस बेलाका राजा महाराजा, धनीमानीका छोराछोरीले उनकै स्कुलमा पढ्थे। त्यहाँ पढेपछि कोही बुढानिलकण्ठ स्कुल जान्थे त कोही सेन्ट जेभियर्स त कोही विदेश।
देवेन्द्रराज भने सरकारी जागिरमै थिए। तर उनलाई आफूले गरिरहेको काममा उकुसमुकुस हुन्थ्यो। त्यति सन्तुष्ट थिएनन्। पञ्चायतको पेलान मन परिरहेको थिएन। आफ्नो चेतना र कामको मिलनबिन्दु कतै फेला पारिरहेकै थिएनन्।
कामबाट साँझ घर फर्किएपछि पटकपटक पद्मालाई भन्थे, 'अब चाहिँ जागिर छोड्नुपर्छ कि के हो!'
फेरि के हुन्थ्यो, काममा जान्थे। भनेजस्तो विकल्प बाटो पनि पहिल्याउन सकेनन्। यस्तै यस्तैमा उनले सरकारी जागिरमै १९ वर्ष बिताए। अधिकृतदेखि सचिवसम्म भए।
कामको कुरा छेउ लगाउँदै हामी उनीहरूको सहयात्राकै कथा खोज्यौं, 'बिहेपछि त राम्ररी कतै घुम्न जानुभयो होला नि?'
देवेन्द्रराजले पद्मातिर फर्किएर भने, 'हामी पोखरा जाँदाको कथा सुनाइदेऊ न, हाम्रो पहिलो घुमघाम नै त्यही हो।'
२०३५ साल असारको कुरा, बिहेको ८ वर्षपछि, छोरी जन्मिसकेकी थिइन्, उनीहरू पोखरा गएका थिए। यो जोडीको पहिलो घुमाइ।
त्यो बेला देवेन्द्रराज अर्थसचिव थिए। देशको बजेट बनाउने काम भर्खर सकिएको थियो। उनलाई पद्मासँगै पोखरा घुम्न जान मन लाग्यो।
त्यति बेलासम्म पद्मा चित्लाङको बाटो हुँदै कालिम्पोङ जानेबाहेक नेपालका अरू ठाउँ पुगेकी थिइनन्। श्रीमानसँग पहिलोपटक घुम्न भनेर कतै निस्केकी थिइन्। त्यसैले उनका लागि पोखरा यात्रा महत्त्वपूर्ण थियो।
उनीहरू रत्नपार्क गएर रात्रिबस चढे। अर्थसचिव भएकाले चाहेको भए पोखरा जान विशेष सुविधा लिन सक्थे देवेन्द्रराजले। तर उनको ध्यान त्यतापट्टी जाँदै गएन।
'काम गरिरहेकै ठाउँमा पनि शासक र हाकिमको रवैया नरूचेपछि यसो गर्न पाए हुन्थ्यो भन्न पनि मन नलाग्दो रहेछ,' उनले भने, 'आफूलाई सधैं आउटसाइडर सोचिँदो रहेछ।'
मध्य बर्खाको समय। जसै उनीहरू चढेको बस नागढुंगा कट्यो, मुसलधारे पानी बर्सिन थाल्यो। रातभरि पानी परेपछि पोखराको विजयपुर खोलामा बाढी उर्लियो।
बल्लबल्ल अनेक मेलोमेसो मिलेपछि बूढाबूढी घुम्न निस्केका थिए, बर्खा र बाढीको भेलले झमेला थमाइदियो।
'आइहालियो, के गर्ने कहाँ जाने भन्ने भयो। मान्छेहरू जताजता जान्छन्, त्यतै त्यतै पछि लागियो,' पद्माले सुनाइन्, 'खेतको आली आली निकै तल गएपछि खोला साँघुरो भएको ठाउँमा बाँसको फड्के हालेका रहेछन्। त्यहीँबाट बल्लतल्ल गरेर पोखरा पुग्यौं।'
देवेन्द्रराज त पहाडपर्वत घुमेका मान्छे। विपत्तिहरू देखेका थिए। मन दरो बनाए। पद्मालाई भने खुब डर लागेछ। घरमा छाडेर आएकी सानी छोरीको पिरले पनि सताएको थियो। आफूहरूलाई यहीँ केही भयो भने छोरीको के हुन्छ होला भन्ने सोचिरहिन्।
पहिलो घुमाइको यो अनुभवपछि लामो समयसम्म यो जोडी काठमाडौं छाडेर बाहिर निस्किएन।
यसबीच उनीहरूकी छोरी भने देशबाहिरै गइन्।
देवेन्द्रराज सहसचिव हुँदा उनकी छोरी प्रिनिति काठमाडौंमै पढ्दै थिइन्। मुलुकमा नयाँ शिक्षा व्यवस्था लागू भइसकेको थियो। एक दिन कार्यालयबाट फर्किँदा छोरी स्कुलले घोक्न लगाएको कविता वाचन गर्दै रहिछन्।
'आमाभन्दा ठूला, बुवाभन्दा ठूला, हाम्रो राजा ठूला...'
छोरीले तन्मयसाथ यी हरफ पढेको सुनेपछि देवेन्द्रराजको रिसको पारा उक्लियो। छोरीलाई यहाँ पढाउँदै पढाउँदिनँ, त्यस्तो कुरा पनि पढाउँछन् भनेर झोंक्किए। राजाको शासनकालमा सरकारको बहालवाला सहसचिवले यसो भन्नु लरतरो कुरा थिएन। देवेन्द्रराजको विद्रोही चेतको उपज थियो त्यो।
यसपछि प्रनितिलाई पद्माले आफ्नै पदचापमा पठाइन्, कालिम्पोङ स्कुलसम्म।
'हामीले छोरीलाई कालिम्पोङ पठाउनुको पहिलो कारण त यही नै थियो। अर्को चाहिँ मलाई नेपालका शिक्षकहरूको व्यवहार मनपरेको थिएन,' उनले भनिन्, 'हामीलाई पनि स्कुलमा गाली गर्थे तर यहाँका शिक्षकहरूको भन्ने तरिका एकदमै खराब थियो।'
भएको के थियो भने, एक दिन पद्माकी दिदीकी छोरीले स्कुल जाँदा रातो रिबन लगाउनुपर्नेमा सेतो लगाएर गइछन्।
त्यसपछि शिक्षकले हप्काइछन्, 'कस्ती आमा तिम्रो हँ? तिम्रो आमाको बुद्धि छैन त्यति पनि थाहा नपाउने?'
एउटा रिबनको मामिलामा यसरी हप्काएपछि पद्माकी दिदीकी छोरी स्कुल फर्किएर जानै मानिनन्।
यी दुई घटनापछि पाण्डे दम्पतीले प्रिनितिलाई कालिम्पोङ पठाए। त्यसपछि दिल्ली र अमेरिकामा पढेकी प्रिनिति हाल अमेरिकामै विश्वविद्यालयमा पढाउँछिन्। छोरीको सम्झनाले बाबुआमालाई बेला बेला सताइरहन्छ।
देवेन्द्रराजको विद्रोही चेतले उनकी छोरीलाई विदेश पुर्याएको मात्र छैन, कामबाट राजीनामै पनि दिन लगाएको छ।

उनी अर्थसचिव हुँदाकै कुरा हो, २०३६ सालको। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए।
देशमा कांग्रेस र कम्युनिस्टहरूको छुट्टाछुट्टै भूमिगत आन्दोलन चलिरहेको थियो। जनमत संग्रहको तयारी भइरहेका बेला पञ्चायतलाई जिताउन कुनै कसर बाँकी नराख्ने ध्याउन्नमा थिए प्रधानमन्त्री थापा। त्यसका लागि पैसा चाहिन्थ्यो। अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री थापाले पञ्चायतलाई दलसरह मानेर चुनावमा जानुपर्ने र त्यसका लागि बजेट निकासा गर्न जे सुकै पनि गर्नुपर्ने दबाब देवेन्द्रराजलाई दिए।
सरकारको अर्थसचिव भए पनि देवेन्द्रराजले यो दबाब मान्दै मानेनन्। बरू राजीनामा दिए। २०३६ माघ २९ गते उनले दिएको राजीनामा फागुन ४ गते स्वीकृत भयो।
राजीनामा दिएर घर पुगेको रात पद्मालाई घटना सुनाए।
'त्यो खबरले मलाई कुनै अचम्म लागेन। म उहाँको स्वभावसँग परिचित थिएँ,' पद्मा हाँस्दै सम्झिन्छिन्, 'तर सुतिरहेकी छोरीले पो विस्ताराबाट जुरूक्क उठेर मलाई कपडा कसले किनिदिन्छ, स्कुलको फी कसले तिरिदिन्छ भनेर सोधिन्।'
त्यस बेला उनीहरूकी छोरी बिदामा घर आएकी थिइन्। सानी छोरीको कुराले पद्माको स्वाभिमान डगमगाउने कुरै थिएन। उनले पनि आफ्नो किस्सा सुनाइन्।
तत्कालीन रानी ऐश्वर्य शाह चाँदनी राणा नै थिइन्। उनी र पद्मा पद्मकन्या क्याम्पसका समकक्षी मात्रै होइन, एकदमै मिल्ने साथी थिए। जब चाँदनीको बिहे युवराज वीरेन्द्र वीरविक्रम शाहसँग भयो, पद्माले बिस्तारै सम्बन्ध छुटाउँदै गइन्। बिहेमा पनि गइनन्। ऐश्वर्यले आफ्नो बिहेमा सबै साथीहरू दाम चढाउन आएको तर पद्मा नआएकोबारे सोधेकी पनि थिइन् अरे।
'म त दाम चढाउन गइनँ,' स्वाभिमानले धपक्कै बल्छिन् पद्मा।
देवेन्द्रराजको बाध्यता भने फरक थियो। सचिव भएपछि उनी दरबारमा दाम चढाउन जानैपर्ने हुन्थ्यो। त्यतिखेर श्रीमतीलाई पनि लिएर जानुपर्थ्यो। पद्मासँग विकल्प थिएन।
'मैले गर्दा उनी पनि झुक्नुपर्यो,' देवेन्द्रराजलाई अहिले सम्झिँदा पनि थकथक लाग्छ।
त्यसैले होला जागिरबाट राजीनामा दिँदा उनलाई कुनै थकथकी भएन। यसो त राजीनामा दिँदा उनले पद्मासँग सल्लाह गरेका थिएनन्।
देवेन्द्रराजले भने, 'मैले कहिले कोसँग पो सल्लाह गर्थेँ र?'
पद्माले सही थाप्दै भनिन्, 'सबै मान्छेलाई आफ्नो बाटो रोज्ने र परिवर्तन गर्ने अधिकार हुन्छ। मैले पछिसम्म पनि थाहा पाइनँ उहाँले किन राजीनामा दिनुभयो भनेर।'
देवेन्द्रराजलाई पछुतो लाग्ने कुरा भने अर्को पनि छ।
स्कुल र स्कुलका नानीबाबुहरूप्रति पद्माको लगाव देखेर उनी अरू कुरा खासै गर्दैन थिए।
'तर त्यो बेला अंग्रेजीमा स्नातकोत्तर गरेको मान्छेको ट्यालेन्ट स्कुलमा सीमित थियो। उनको वृत्ति विकासका लागि केही पनि नसोचेकोमा अहिले पछुतो लाग्छ,' उनले भने।
पछि पद्माले स्कुल छोडिन्। दुवैसँग पर्याप्त समय भयो। बूढाबूढी सँगसँगै घुम्ने र रमाउने गर्न थाले। तर राजनीतिप्रति देवेन्द्रराजको अतिरिक्त मोहले यथेष्ट समय मिल्दैन थियो। कुनै राजनीतिक दलमा आबद्ध नभए पनि देवेन्द्रराज राजनीतिमा गहिरो गरी डुबिसकेका थिए। विशेषगरी उनको सम्बन्ध गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग थियो।
२०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ वैशाख ७ गते बनेको मन्त्रिपरिषदमा देवेन्द्रराज अर्थमन्त्री भए। तर बहुदलपछि उदाएका राजनीतिक दल र नेताहरूको चरित्रमा पनि उनले स्वार्थभन्दा अरू केही देखेनन्।
गणेशमानसँग राम्रो भएन। गिरिजाप्रसादले त सार्वजनिक ठाउँमै उनलाई इंगित गर्दै काम नलाग्ने अर्थमन्त्री भनेर हप्काउँथे। राजा वीरेन्द्रले त रूचाउने कुरै भएन।
अर्थसचिव हुँदा जसरी मन्त्रालय अधुरै छाडेर हिँडेका थिए, अर्थमन्त्री हुँदा पनि देवेन्द्रराजले गतिलोसँग काम गर्न पाएनन्।
पद्मालाई त देवेन्द्रराज मन्त्री बन्छु भन्दा नै रूचेको थिएन। साथसाथै जिन्दगी बिताएको ५३ वर्षमा पद्माले देवेन्द्रराजसँग केही मागेकी छैनन्, त्यही एक कुराबाहेक।
'मैले जिन्दगीमा एकपटक र पहिलोपटक हातै जोडेर उहाँसँग केही मागेको छु भने त्यही मागेको छु,' पद्माले भनिन्, 'मन्त्री नहुनुस् भनेकी थिएँ। मैले समाज, मान्छेहरूको स्वार्थ र उहाँको स्वभाव बुझेकी थिएँ। उहाँको स्वभाव र हाम्रो समाजको चरित्र कहीँ मिल्दैन।'
सार्वजनिक रूपमा हक्की र निडर देखिने देवेन्द्रराजलाई पद्माले त झन् कति बुझेकी होलिन्। तर देवेन्द्रराजले त्यो बेला पद्माको कुरा सुनेनन्। राष्ट्रलाई आवश्यक छ भन्दै मन्त्री बन्न गएका थिए।
बहुदल होस् या गणतन्त्र ल्याउने आन्दोलन, राजनीतिक चरित्रको गैरराजनीतिक आन्दोलनकर्मीका रूपमा देवेन्द्रराज सधैं अग्रमोर्चामा उभिए। कहिले हनुमानढोका र कहिले गोलघरको कहर काटे। २०६२/६३ को जनआन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गरे। यति बेला त पद्मा पनि देवेन्द्रराज सँगै आन्दोलनमा गइन्।
२०६४ को संविधानसभा निर्वाचनपछि बल्ल यो दम्पतीले सँगै बसेर मजाको समय बिताउन पायो। त्यसपछि देशभित्र मात्रै होइन, विदेशको यात्रामा पनि सँगै निस्किन थाले। एकअर्काका एक मात्र साथी बने।
'मानिसहरू स्वार्थी रहेछन्, उहाँसँग लाभ लिएर गएका मान्छे समेत फर्केर भेट्न कोही आउँदैनन्,' पद्मा गुनासो गर्छिन्।
देवेन्द्रराज थप्छन्, 'समयको खेल हो, समयको खेल!'
जीवनको उत्तरार्द्धमा पुगेको यो दम्पतीलाई अहिले चाहिँ जिन्दगी कस्तो लाग्छ नि?
देवेन्द्रराज उमेरको अनुभव सुनाउन अमेरिकी लेखक मार्क ट्वेनको आफूलाई मनपर्ने भनाइको सहारा लिन्छन्, 'मान्छे ८० वर्षको भएर जन्मिने र बिस्तारै हुर्किएर १८ वर्षमा पुग्ने भए जीवन क्या गज्जबको हुन्थ्यो!'
उनले बारम्बार दोहोर्याइरहने उक्ति पनि हो यो।
'अहिले शान्ति छ। जहाँ गए पनि भयो। जे गरे पनि भयो। दिनभरि घरमा बस्छौं। कतै हिँड्न मन लाग्यो भने बिनायोजना हिँड्छौं। आनन्द छ,' पद्माले थपिन्।
'रोग नलागुन्जेल आनन्द,' देवेन्द्रराज आफ्नो ठम्याइ सुनाउँछन्।
'लागे पनि अब स्वीकार गर्ने हो नि, पन्छाउन सकिन्न,' पद्मा उनलाई फेरि स्वीकार्यताको सार सम्झाउँछिन्।
'जिन्दगी भनेको सोलोडोलो बुझ्ने कुरा होइन रहेछ, जिन्दगीको सत्य यही हो भन्ने नै छैन,' देवेन्द्रराज सोचमग्न भएर भन्छन्।
पद्मा उनलाई हेरिरहन्छिन्। देवेन्द्रराजलाई भने उल्टो पद्माले कत्ति पनि पिरै नमानेकोमा पिर लाग्छ।
भोलि अस्पताल जानुछ भने अघिल्लो दिन पद्मा मजाले निदाउँछिन्। देवेन्द्रराजको भने मनमा रातभरि कुरा खेल्छ। भोलि डाक्टरले के भन्ने होला भन्ने सोचेरै पिरोलिन्छन्।
'बुढेसकालको पिर नै रोगबिमारको हुँदो रहेछ बा,' देवेन्द्रराजले भने, 'गफ पनि बिरामी र रोगकै बारेमा हुन्छ।'
अर्कातिर देशको चिन्ताले पनि उनलाई छाड्दैन। देश बनाउँछौं भन्नेहरूले बिगारेको देख्दा कहिलेकाहीँ पारा तातेर आउँछ। अनि फेरि पद्मा सम्झाउँछिन् उनलाई।
देवेन्द्रराजले मुसुक्क हाँस्दै भने, 'यस्तै त हो नि बुढेसकालको प्रेम। एकजनाले पिर गर्छ, अर्कोले सम्झाउँछ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
