अहिले बलिउड फिल्म 'दृश्यम–३' को चर्चा व्यापक छ। अजय देवगन, श्रीया शरन र जयदीप अहलावतको मुख्य भूमिका रहेको दृश्यम ३ आगामी अक्टोबर २ मा रिलिज हुँदैछ।
यसले कस्तो प्रतिक्रिया पाउँछ, त्यो हेर्न त बाँकी नै छ। तर यसका अघिल्ला दुई भाग दृश्यम र दृश्यम–२ ले जबर्जस्त प्रतिक्रिया पाएका थिए। अझ दृश्यमले धेरै प्रशंसा पाएको थियो।
दृश्यम–३ बुझ्न पनि यी अगाडिका दुवै सिनेमा हेर्नुपर्छ।
सुरूमा मलयालम भाषामा बनेको फिल्म दृश्यम पछि भारतका महत्वपूर्ण भाषा तामिल, कन्नड, तेलेगू र हिन्दीमा बने। यी सबै भाषाका दृश्यम चर्चित छन्।
चिनियाँ भाषामा पनि 'शीप विदआउट अ सेफर्ड' नाममा रिमेक भइसकेको यो फिल्म श्रीलंकाको सिन्हाली भाषामा पनि बनेको छ भने हलिउड रिमेक बन्ने घोषणा भइसकेको छ।
संसारभर फैलिएको दृश्यम सुरूमा मलयालम भाषामा बनेको थियो। जितु जोसेफको निर्देशन र लेखनमा बनेको यो फिल्म पारिवारिक थ्रिलर ड्रामा हो। दृश्यम–३ को चर्चा भइरहेको यो बेला हेर्न छुटेको भए दृश्यमका दुवै भाग हेर्नु उपयुक्त समय हो।
अजय देवगण र तब्बू अभिनित बलिउड रिमेक दृश्यम मात्र हेरेकालाई पनि मोहनलालको ओरिजिनल दृश्यम हेर्दा रमाइलै लाग्ला। सन् २०१३ मा सार्वजनिक भएको दृश्यम मलयालम भाषाको त्यसबेलासम्मकै सर्वाधिक बक्स अफिस कलेक्सन गर्न सफल भएको फिल्म हो।
त्यस्तो खास के छ त दृश्यममा?
दृश्यममा एक जना यस्तो व्यक्तिको कथा छ जो दुई सन्तानको बाबु हो। र, ऊ आफ्ना सन्तान र परिवारको सुरक्षाका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। ती व्यक्ति हुन्, जर्जकुट्टी।
श्रीमती र दुई छोरीसहितको परिवार भएका जर्ज सामान्य मान्छे हुन्। चार कक्षाभन्दा धेरै नपढेका जर्ज केरलाको एउटा गाउँका केबल टेलिभिजन अपरेटर हुन्।
अनुभव, मिहेनतले पढेकाहरूसँग प्रतिस्पर्धा गर्नसक्ने आत्मविश्वास भएका उनी खुब फिल्म हेर्छन्। परिवारका सदस्यसँग हुने कुराकानीमा पनि उनी फिल्मी डायलग बोल्न मन पराउँछन्।
फिल्मको सुरूआती एक घन्टाजति जर्जको मध्यमवर्गीय परिवारका सदस्यहरूको खुसी, सपना र आत्मीय सम्बन्धको चित्रणमा बित्छ। जब जर्जकी ठूली छोरी अन्जु स्विम–क्याम्प गएर फर्किन्छिन्, फिल्मले नाटकीय मोड लिन्छ।
क्याम्पमा वरूण नामको युवकले अन्जुको बाथरूमभित्रका गतिविधिको मोबाइल भिडिओ बनाएका हुन्छन्। फर्केपछि उनले अन्जुलाई त्यही भिडिओ देखाएर सताउन थाल्छन्। दुर्घटनावश अन्जुको हातबाट वरुण मारिन्छन्।
यो दुर्घटनापछि हाँसीखुसी बाँचिरहेको परिवारमा कल्पनै नगरेको संकट आइलाग्छ। जर्जले वरुणको हत्याको घटनालाई अत्यन्तै सावधानी साथ विश्लेषण गर्छ र निर्णय लिन्छन्। जर्जले आफूले हेरेका फिल्मका अनेक सूत्र प्रयोग गर्न थाल्छन्।
तर अन्जुको हातबाट मारिएको वरूण प्रहरी आइजी गीताका छोरा हुन्। गीता पनि छोराको हत्याले दुःखी हुन्छिन्। प्रहरीको शक्ति प्रयोग गरेर छोराको हत्यारा समात्न उनले कुनै कसर बाँकी राख्दिनन्।
एकातिर आफ्नो परिवारको सुरक्षाका लागि जे सुकै गर्न तयार जर्जकुट्टी, अर्कोतिर छोराको हत्यारा समात्ने प्रयासमा सक्रिय आइजी गीता। फिल्ममा यो द्वन्द्व मज्जाले चित्रण भएको छ।
फिल्मको प्रस्तुति यति रोचक छ, दर्शकलाई यसपछि के होला भनेर सोच्न बाध्य बनाउँछ। पारिवारिक फिल्ममा चाहिने भावनात्मक पक्ष, कमेडी र थ्रिलरमा चाहिने रोमाञ्च र डर दृश्यममा पाइन्छ।
पृथक कथावाचन शैलीबाहेक चुस्त स्क्रिन प्ले, थ्रिल गराउन सफल ब्याकग्राउन्ड स्कोर र स्वभाविक अभिनयले दर्शकलाई बाँधिराख्छ।
फिल्ममा जर्जको भूमिका निर्वाह गर्ने अभिनेता मोहनलाल विश्वनाथन पाँच पटक नेसनल अवार्ड जित्न सफल अभिनेता हुन्। दृश्यममा पनि उनले शानदार अभिनय गरेका छन्। दृश्यममा गरेको अभिनयबाट उनले केरला फिल्म क्रिटिक्स एसोसिएसन अवार्ड प्राप्त गरेका थिए।
वर्षको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशकजस्ता महत्वपूर्ण विधाका अवार्ड जित्न सफल मलयालम दृश्यमले मात्र ३० भन्दा बढी अवार्ड जितेको छ।