सप्तरीमा एक महिलाले सडक पेटीमै बच्चा जन्माउनुपरेको घटनाबारे प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु वलीले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सांसद वलीले प्रधानमन्त्री बालेनलाई चुनाव अघि उनले बोलेका कुरा स्मरण गराएकी हुन्।
'गोजीमा पैसा नभएकाले उपचार पाउनुपर्छ। त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो।तपाईंले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?,' उनले प्रश्न गरिन्।
बबिताको श्रीमानसँग २ हजार रूपैयाँ रहेको १२ सय रूपैयाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माएको वलीले बताइन्।
'विशेषगरी स्वास्थ्य मन्त्रालय कहाँ उभिएको छ? स्वास्थ्य मन्त्रालयले यो एजेन्डा कार्यान्वयनका लागि आजसम्म नीति नियममा के परिमार्जन गरिएको छ? के बहस गर्न खोजेको छ म सोध्न चाहन्छु,' उनले भनिन्।
त्यो रात एउटा शिशु मात्रै जन्मिएको नभई एउटा प्रश्न पनि जन्मिएको उनको भनाइ छ।
'त्यो प्रश्न के यो देशमा गरिब भएर जन्मिनु अपराध हो? यसको जबाफ स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ भन्ने मा आशा गरेको छु,' उनले भनिन्।