सोह्र वर्षअघिको कुरा हो।
भर्खर किशोरावस्थामा पाइला टेक्दै थिइन्, रिका (नाम परिवर्तन)।
काठमाडौं कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ७ मा पढ्थिन् उनी।
उनका आमाबुबाको आर्थिक अवस्था नाजुक थियो। उनीहरू काठमाडौं डिल्लीबजारस्थित एक स्थानीयको घरमा काम गर्थे। त्यही घरधनीका आफन्तको सहयोगमा रिकाले पढ्न पाएकी थिइन्।
'कक्षा १ बाटै मैले विभिन्न व्यक्तिको सहयोगमा पढ्न पाएँ। त्यसैले पनि परिवारले मलाई भाग्यमानी छे भन्थे। मलाई पनि हो जस्तै लाग्थ्यो,' रिकाले भनिन्।
उनको भाग्य कक्षा ६ पुग्दासम्म यथावत नै थियो। आमाबुबाँको काखमै रहेर हुर्किइन्, पढिन्। जिन्दगी एउटै लयमा बगिरहेको थियो। शान्त र सरल। स्कुल जाने-आउने गरेरै दिन बित्थ्यो।
एकदिन अचानक भाग्यलाई कुठाराघात पार्ने गरी उनले एउटा निधो गर्नुपर्ने भयो। त्यो निधो उनका आमाबुबाले सहर छाडेर गाउँ सोलुखुम्बु जाने निर्णयसँगै सुरू भएको थियो।
भर्खर जिन्दगी बुझ्न थालेकी १४ वर्षकी रिकालाई आमाबुबाको काखबाट टाढा हुन फिटिक्कै मन थिएन। पढाइ छाड्न पनि उनी चाहन्थिनन्।
रिकाले भारी मनले आमाबुबालाई बिदाइ गर्दै पढाइ छानिन्।
'काठमाडौंको महँगीमा चार सन्तान हुर्काउन धौ-धौ भएपछि आमाबाले गाउँ फर्किने निर्णय गर्नुभएको थियो। तर मलाई पढ्न मन थियो। त्यही कुरा मैले उहाँहरूलाई भनेँ। उहाँहरू मेरो कुरा सुनेर दु:खी हुनुभएको थियो,' उनले भनिन्, 'म भने स्कुल र साथीहरू छाड्न चाहन्थिनँ। हाम्रो घरधनीले मेरो पढाइमा सहयोग गर्ने बचन दिएपछि आमाबुबाले होस्टेल खर्च बेहोर्ने सर्तमा म सहरमै बसेँ।'
छोरीले पढ्न पाउने भएपछि गाउँमा ज्याला-मजदुरी गरेर भए पनि आमाबुबाले पढाउने भए।
होस्टल बसेर कक्षा ७ सम्म पढ्दै गर्दा रिकालाई सहजै भइरहेको थियो। अन्तिम परीक्षाको डेढ-दुई महिना भने उनको जीवनकै परीक्षाजस्तो भयो। स्कुलका शिक्षक र होस्टलका कर्मचारीले पैसा नबुझाएको भनेर दिनहुँ कचकच गर्न थाले।
साथीहरूका अगाडि दिनहुँजसो बेइज्जती सहन रिकालाई सकस हुन थाल्यो।
त्यो बेला आफूलाई परेको मानसिक असर र दिनहुँको तनाव बताउन उनीसँग आमाबुबाको सम्पर्क नम्बर पनि थिएन।
'आमाबुबाले एक/दुई महिनाको अन्तरालमा गाउँबाटै स्कुलमा फोन गर्नुहुन्थ्यो र मेरो हालखबर सोध्नुहुन्थ्यो। उहाँहरूले आफूसँग तत्काल पैसा नभएको स्कुलमा बताउनुभएछ,' उनले भनिन्, 'त्यसपछि नै मलाई बेइज्जत गर्न थालिएको रहेछ।'
हरेक दिन बेइज्जती सहन परेपछि रिकाको ध्यान पढाइबाट हट्न थाल्यो। आफ्नो आर्थिक अवस्था कमजोर भएकैले यस्तो किचलो सहन परेको बुझेकी उनमा पढाइभन्दा पैसा कमाउने रहर जागृत भयो।
उनले ठानिन्, 'पैसा भएको भए शिक्षक र साथीहरूले माया गर्ने थिए!'
कक्षा ७ को पढाइ पूरा नहुँदै एकदिन रिका होस्टलबाट भागिन्। दुई-चार दिन साथीको कोठामा बसिन्। साथीकी दिदीको सहयोगमा विभिन्न ठाउँमा काम खोज्न गइन्। जहाँ पुग्थिन्, धेरैको जबाफ हुन्थ्यो, 'उमेर सानै रहेछ। केही गर्न पनि जानेकी छैनौ!'
दिनभर काम खोज्दा नपाएपछि बाध्य भएर उनी साथीकै घर फर्कन्थिन्। यो क्रम धेरै समय चल्यो। तर उनले आमाबुबालाई यसबारे सुनाउन सकिनन्।
दुई सातासम्म बागबजार, डिल्लीबजार, मैतीदेवी, अनामनगर, गौशाला, चाबहिल, सुन्धारा, कालिमाटी लगायत ठाउँका पसलमा काम खोज्दै भौंतारिरहिन्। एकदिन साथीकै दिदीले उनलाई नाच्न आउँछ भने डान्सबारमा काम पाइने बताइन्।
सानैदेखि स्कुलको सांस्कृतिक कार्यक्रममा नछुटाई नाच्ने रिका डान्सबारमा नाच्न तयार भइन्।
त्यति बेलासम्म उनी कहिल्यै डान्सबार छिरेकी थिइनन्। डान्स बार भनेको के हो भन्ने पनि उनलाई जानकारी थिएन।
स्कुल छाडेको तेस्रो सातातिर रिका ठमेलको एउटा डान्सबार पुगिन्।
झिसमिसे उज्यालोमा भित्र छिरेकी उनी त्यहाँको दृश्य देखेर छक्क परिन्। हिन्दी गीत बजिरहेको थियो। रंगीचंगी बत्तीको उज्यालोमा एक युवती झुमिरहेकी थिइन्।
रिका पनि झुमिन्। युवा-युवती गीतको तालमा नाचिरहेको देख्दा उनलाई रमाइलो लाग्यो। नृत्य हेरिरहेकै बेला ३०/३५ वर्षीय पुरूषले उनलाई बोलाए र अर्को कोठामा लगेर भने, 'नानी नाच्न आउँछ होइन?'
रिकाले टाउको हल्लाइन्।
ती युवक अर्को कोठामा गए र अर्का एक पुरूषलाई लिएर आए। ती पुरूषले रिकालाई नाच्न भने।
रिकाले स्कुलका कार्यक्रममा नाचेको गीतमा कम्मर मर्काइन्।
उनको काम पक्का भयो।
'त्यहाँ हरेक दिन साँझ ६ देखि रातको २ बजेसम्म नाच्नुपर्थ्यो। ८ घन्टा नाचेबापत् मासिक पाँच हजार रूपैयाँ तलब पाइन्थ्यो,' उनले भनिन्, 'त्यति बेला पाँच हजार भनेको अहिलेको २०/२५ हजार जस्तै थियो।'
रातमा डान्सबारकै गाडीले कोठासम्म पुर्याइदिने भएकाले रिकाले ढुक्कसँग त्यो काम गरिन्। अरू नाचेको देख्दा त सुरूमा उनलाई रमाइलै हुन्छ होला भन्ने लाग्थ्यो। साथीकी दिदीले नाच्ने मात्र काम भनेकाले अरू केही गर्न पर्दैन भन्ने पनि उनले सोचिन्।
'म त काम पाएकैमा मख्ख थिएँ,' उनले भनिन्, 'मेरो एउटा मात्र लक्ष्य पैसा कमाउने थियो।'
पहिलो दिन डिल्लीबजारस्थित साथीको घरबाट हिँड्दै साँझ ६ बजेतिर रिका डान्सबार पुगेकी थिइन्। बारभित्र छिर्नासाथ त्यहाँ काम गर्ने एक कर्मचारीले एउटा कोठामा लगे। करिब एक घन्टा कुरेपछि उनको मेकअपको पालो आयो।
आधा घन्टाजस्तो मेकअपमा समय खर्चिएपछि उनलाई एउटा झिलिमिली लुगा दिइयो र भनियो, 'नयाँ भएकीले दिएको हुँ। पछि आफै ल्याउनुपर्छ।'
मेकअप र झिलिमिली लुगामा रिका बेग्लै देखिन्।
अब उनी आफ्नो नाच्ने समय पर्खिरहेकी थिइन्। झन्डै दुई घन्टापछि उनको पालो आयो। उनी डराई इराई नाचिन्।
रात बढ्दै जाँदा मान्छे बढ्दै गए। उनको डर पनि बढ्दै गयो।
'त्यस दिन चार-पाँचवटा गीतमा नाचेँ। रात जति बढ्दै गयो, मान्छेहरू मदिरामा लठ्ठ पर्दा रहेछन्। उनीहरूले एकनास आफूलाई हेरिरहँदा निकै अप्ठ्यारो लागेको थियो,' उनले भनिन्, 'कति त मदिरामा लठ्ठ भएर नजिक आउन खोज्थे। म भने उनीहरूबाट बच्न आफ्नो पाइला पछाडि सार्थेँ।'
रातको दुई-तीन बजे नाच सकियो। त्यसपछि साथीको घर फर्किन उनलाई अप्ठ्यारो लाग्यो। साता दिनपछि उनी बारमै काम गर्ने साथीकहाँ बस्न थालिन्। त्यहाँ बसेबापत मासिक हजार रूपैयाँ बुझाउँथिन्।
दुई-चार दिनसम्म डान्सबारको काम सामान्य नै चलिरह्यो। बिस्तारै त्यहाँ आउने पुरूषहरूको व्यवहार उनलाई अनौठो लाग्न थाल्यो। नयाँ-नयाँ पुरूषले बोलाउँदै शरीरका विभिन्न भाग छुने बहाना खोजेको देख्दा कस्तो ठाउँ आएछु भनेर उनी अत्तालिइन्।
'कुनै कुनै दिन त उनीहरू नाचेर उत्तेजित हुन्थे र अर्धनग्न अवस्थामा पुग्थे। त्यो देख्दा असहज लाग्थ्यो,' उनले भनिन्, 'उनीहरूले जस्तो व्यवहार देखाए पनि आफ्नो ढंगले नाच्छु भन्ने सोचेँ।'
केही साता त्यसरी नै बित्यो।
तेस्रो साताको शुक्रबार/शनिबारतिर बारमा थुप्रै मानिस थिए। रिका सधैंजसो स्टेज चढिन् र नाचिन्। नाचेर झर्दै गर्दा सुटपाइन्ट लगाएका ४०/४५ वर्षीय एक पुरूषले उनलाई बोलाए। उनी जाने वा नजाने भनेर अलमलमा परिन्। बारकै एक दिदीतिर आँखाले इसारा गर्दै सोधिन्। ती दिदीले आँखाको इसाराले नै जान संकेत गरिन्।
ती पुरूषले सुरूमा नाचको तारिफ गरे। अनि सँगै बसेर खान भने। सँगै बसेर खान मात्र के लागेकी थिइन्, ती पुरूषले उनका गोप्य अंगहरू छुन थाले। रिका रनथनिइन्। जुरूक्क उठेर भागिन्।
'ती पुरूषले गरेको व्यवहारबारे त्यहाँ काम गर्ने सिनियर दिदीहरूलाई सुनाएँ। उहाँहरूले बारभित्र यस्ता कुरा सामान्य भएकाले नआत्तिन भन्नुभयो। म भने गलत ठाउँ आएछु भनेर निकै डराएँ,' उनले भनिन्।
त्यसको भोलिपल्ट रिकालाई काममा जानै मन लागेन। उनले नजाने नै सोचेकी थिइन्, तर सँगै बस्ने दिदीले सम्झाएर काममा ल्याइन्।
उनी जान त गइन् तर आफैसँग एउटा संकल्प गरिन्, 'अबबाट जुनसुकै ग्राहकले बोलाउँदा पनि स्टेज छाडेर कतै जान्नँ।'
रिकाका अनुसार डान्सबारमा आउने प्राय: मानिसको उद्देश्य नै नयाँ-नयाँ युवतीसँग बसेर खाने र उनीहरूको शरीर छुने हुन्छ।
'उनीहरू एउटा हातले बियरको चुस्की लिन्छन् र अर्को हातले युवतीको शरीर छोएर आनन्द लिन्छन्,' उनले भनिन्।
त्यस्ता मानिससँग बच्न स्टेजबाट तल नझर्ने संकल्प लिए पनि उनलाई आफ्नो शरीर जोगाउन मुस्किल बन्दै गयो। मदिरामा लठ्ठ मानिसहरू कसोकसो गरी उनको नजिक पुगिहाल्थे र शरीर छुन्थे। बिस्तारै उनले चित्त बुझाइन्, 'बार भनेको यस्तै रहेछ!'
उनले अगाडि भनिन्, 'म त्यति बेला किशोरावस्थामा पनि पुगेकी थिइनँ। अहिले पो बालबालिकालाई काम गर्न रोक लगाइएको छ। त्यति बेला कसैलाई पनि उमेरको वास्ता थिएन।'
बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ ले बालकालिकालाई मनोरञ्जन क्षेत्रमा प्रवेश र प्रयोगमा रोक लगाएको छ। तर राजधानीभित्रै अधिकांश मनोरञ्जन क्षेत्रमा १३/१४ वर्षका बालिका राख्ने चलन अझै व्यापक छ।
झन् यौन दुर्व्यवहारसम्बन्धी ऐनले मञ्जुरीबिना निजको संवेदनशील अंग छोए, छुने प्रयास गरे, अस्वाभाविक रूपले कुनै एकान्त कोठामा लगे, आफ्नो यौनांग छुन वा समाउन लगाए, यौन आसयले जिस्काए या हैरानी गरे तीन वर्ष कैद र ३० हजार रूपैयाँसम्म सजायको व्यवस्था गरेको छ।
'अहिले त यो ऐन लागू गर्न गाह्रो छ भने आजभन्दा डेढ दशकअघि यस्ता कुरा दन्त्य कथाजस्तै थियो। झन् हामी त अन्त काम नपाइने डरले गलत भएको थाहा पाएर पनि चुप बसेका थियौं,' रिकाले भनिन्।
रिकाका अनुसार बारमा काम गर्दा ग्राहकहरूसँग बसेर खाने वा नखाने आफूमा भर पर्छ। आफ्नो शरीर छुन दिने वा नदिने पनि आफैमा भर पर्छ। तर यसो गर्न डान्सरहरूलाई प्रलोभनमा पारिन्छ। जति ग्राहक तान्न सक्यो र जति खर्च गराउन सकियो, त्यति नै बढी कमिसन आउने भएपछि उनीहरू आकर्षित हुन्छन्।
रिकालाई पनि ग्राहकले बोलाउँदा नगएको भनेर साहुले गाली गर्न थाले। गालीबाट बच्न र पैसाको प्रलोभनमा परेर उनी ग्राहक नजिक पुगेर खान र घुलमिल हुन थालिन्। आफ्नो शरीर भने सकभर जोगाउँथिन्।
'स्कुलको कार्यक्रममा नाच्दा मानिसहरू ताली बजाउँथे, सम्मान पनि दिन्थे। बारमा नाच्दा यौन चाहना मेटाउने मनोरञ्जनको पात्र मात्र भएँ,' उनले आफ्नो अनुभव सुनाइन्, 'कति त एक हजारदेखि ५० हजार रूपैयाँ र सम्पत्ति नामसारी गरिदिन्छु भन्नेसमेत आए, तर कहिल्यै ग्राहकको प्रलोभनमा परिनँ।'
रिका आफ्नो काममा इमानदार थिइन्। त्यही इमानदारी देखेर त्यहाँ काम गर्ने एक युवक उनको राम्रो साथी बने। उनीभन्दा ५/७ वर्ष जेठा भएकाले उनलाई बारभित्रका विभिन्न गतिविधि सिकाउँदै गए। आफूलाई कसरी सुरक्षित राख्ने भनेर पनि बुझाए।
रिकालाई आफ्नो अभिभावक भेटेसरह भयो।
बारको झिलिमिलीमा पनि एक्ली रिका ती युवकको आगमनपछि प्रेम र ऊर्जाले भरिइन्। एक-डेढ वर्षको निकटतापछि उनीहरूले विवाह गरे।
विवाहपछि पनि उनले यही कामलाई निरन्तरता दिए।
'विवाह गरेको केही समयमै म गर्भवती भएँ। त्यति बेला जम्मा १६ वर्षकी हुँदी हुँ,' उनले भनिन्, 'गर्भवती भएपछि डान्सबारमा काम गर्न छाडेँ।'
रिकाका श्रीमान भने काममा गइरहे। छोरी जन्मिएको तीन महिना हुँदै गर्दा उनले काम छाडे र मलेसिया जाने सोच बनाए।
श्रीमान मलेसिया गएको पाँच-छ महिनासम्म उनी काठमाडौंमै बसे। मलेसिया जाँदा लिएको ऋण तिरे। त्यसपछि श्रीमानकै सल्लाह मारेर उनी गाउँमा गई सासू-ससुरासँग बस्न थालिन्।
'गाउँ गएको दुई-चार महिना त राम्रै थियो, तर श्रीमानले बिस्तारै फोन र मेसेज गर्न छाड्नुभयो। उहाँ सम्पर्कविहिन हुनुभयो र पैसा पनि पठाउन छाड्नुभयो। त्यसपछि परिवारले पनि बेवास्ता गर्न थाल्यो,' उनले भनिन्।
रिकाको जीवनलाई दु:खका बादलले फेरि घेरा लगाउन थाल्यो।
उनी डेढ वर्षकी छोरी बोकेर काठमाडौं आइन्। छोरीलाई पिठ्युमा बोकेर काठमाडौंका विभिन्न घरमा लुगा धुने र भाडा माझ्ने काम गरिन्।
तीन वर्ष यसरी नै बित्यो। तर यो कामले दिनको दुई छाक टार्नै धौ-धौ हुन थालेपछि उनको मनमा तुफान चल्न थाल्यो। उनले आफ्नै विगत सम्झिइन्।
'छोरीलाई पनि पढाउन सक्दिनँ कि भन्ने सुर्ता लाग्न थाल्यो। उनलाई जसरी पनि पढाउँछु भन्ने सोच थियो। तर अरूको घरमा काम गरेर सम्भव थिएन। अनि पुन: डान्सबारमै जाने सोच बनाएँ,' उनले भनिन्।
रिका छोरीलाई साथमा लिएर डान्सबार छिरिन्। उनलाई बारको एउटा कुनामा सुताएर आफ्नो काम गर्थिन्।
छोरी चार वर्षकी भएपछि उनलाई बालुवाटरस्थित एक निजी स्कुलमा भर्ना गरियो।
जीवनको एक अध्याय पूरा गरिसक्दा पनि रिकाको भेट आफ्नो आमाबुबासँग भने हुन पाएको थिएन। फोनमा मात्रै कुराकानी हुन्थ्यो।
'मैले उहाँहरूलाई डान्सबारमा नाच्छु भनेर भनेकी थिइनँ, भेट्दा पनि भन्न सकिनँ। दुई-चारपटकको भेटपछि बल्ल भनेँ,' उनले भनिन्, 'सुरूमा गाली गर्नुभयो तर सम्झाइबुझाइ गरेपछि केही भन्नुभएन।'
रिकाका दाजुभाइ पनि परिवारसहित गाउँबाट सहर आइसकेका थिए। त्यसले पनि उनीहरूसँग भेट बाक्लो हुन थाल्यो।
परिवारको साथ-सहयोगले रिकाको जीवन सहज बन्दै गयो।
'छोरीलाई स्कुल पढाउन थालेपछि दाजुहरू बस्ने घरमै कोठा लिएर बस्न थालेँ। छोरीको रेखदेख गर्न दाजु-भाउजूहरूले सहयोग गर्नुभयो,' उनले भनिन्।
डान्सबारमा काम गरेको चार वर्षपछि रिकाको तलब दोब्बर भयो। कामको अनुभवका आधारमा उनलाई नाच्न पनि सहज थियो। तर बारहरूको नियम केही परिवर्तन भएको थियो।
'कतिपय बारले स्टेजमा नाच्दा ग्राहकले उडाएको पैसा आधाभन्दा बढी नाच्नेलाई दिने नियम ल्याएका रहेछन्। त्यसले पनि हामीलाई केही हदसम्म हौसला दिएको थियो,' उनले भनिन्।
कतिपय व्यवसायीले ग्राहकसँग जान आग्रह गर्थे। उनीहरूसँग जान नमानेपछि रिकालाई धेरै ठाउँका डान्सबारले निकाले। लामो समय एउटै ठाउँमा टिक्न उनलाई मुस्किल भयो।
एकदिन 'महिलाको निम्ति महिला मञ्च नेपाल' का पदाधिकारीसँग उनको भेट भयो। उक्त संस्थाले डान्सबार, दोहोरी साँझ, मसाज पार्लर, क्याबिन रेस्टुरेन्ट र खाजाघरमा काम गर्ने महिलाहरूलाई विभिन्न सीप सिकाउने र आत्मनिर्भर बनाउने काम गर्छ।
२०६४ चैत ६ गते स्थापना भएको यस संस्थाका पदाधिकारी डान्सबार पुग्दा रिकासँग भेट भएको थियो। उनी संस्थामा जोडिइन्। त्यसपछि आफ्नो नाचलाई निखार्ने तालिम पनि लिइन्। चित्त नबुझेका कुरामा आफ्नो आवाज उठाउनुपर्छ भन्ने ज्ञान पनि उनीहरूबाटै पाएको रिका बताउँछिन्।
'मैले पढ्ने अवसर पाएँ। बाल्यकालमा अभाव र पछि छोरीको जिम्मेवारीले पढ्ने सपना अधुरै थियो। संस्थाले मेरो सपनालाई पुनर्जीवन दियो,' चेतना महिला विद्यालयमा अध्ययन गरेकी उनले भनिन्, '२०७४ सालमा त मैले एसएलसी नै दिएँ। त्यसपछि पनि पढाइलाई निरन्तरता दिएँ।'
रिका छोरी सँगसँगै पढ्थिन्। रातको दुई बजेसम्म डान्सबारमा काम गर्थिन्। तीन घन्टा सुतेर बिहान उनी कलेज जान्थिन्। अहिले स्नातक तेस्रो वर्ष पढिरहेकी छन्। डान्सबारको काम पनि जारी छ।
'गएको १६ वर्षमा मैले चाबहिल, गौशाला, नयाँबसपार्क, सुन्धारा, दरबारमार्ग र ठमेलका धेरैजसो डान्सबारमा काम गरिसकेको छुँ,' उनले भनिन्।
उनी अहिले ठमेलको बियरबारमा काम गर्छिन्। हामी पुग्दा नेपाली अनि हिन्दी गीतमा आफ्नो कम्मर मर्काएर उनी नाचिरहेकी थिइन्।
आफ्नो नाच सकेर हामीसँग कुरा गर्न आएकी उनले भनिन्, 'कुनै पनि सामाजिक विभेद, आफन्तको लान्छना अनि नकारात्मक टिप्पणी सुन्न नपरोस भनेर नजिकबाहेक अरूलाई आफ्नो काम भन्न रूचाउँदिनँ। अरूले नकारात्मक टिप्पणी गर्ने डरले खुलेर हिँडडुल गर्नसमेत डर लाग्छ। इमान्दारीताका साथ आफ्नो काम गरे पनि यस क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोणले गर्दा यहाँ काम गर्छु भन्न मन लाग्दैन।'
पहिले रिकाले आधा रातमा भए पनि बारबाट निस्किएर सुत्न पाउँथिन्। अहिले त्यो सुविधा कटौती भएको छ। सरकारले वैशाख १ गतेबाट काठमाडौंको पर्यटकीय केन्द्र ठमेल र दरबारमार्गका होटल, बार र रेष्टुरेन्ट चौबीसै घन्टा खुला गरेको छ। त्यसले गर्दा रातभर काम गर्नुपर्ने बाध्यता छ।
'हामी १२-१३ घन्टा काम गर्छौं। यस विषयमा बोलिदिने कोही छैनन्,' उनले भनिन्, 'हामीलाई रातभर नाच्नु भन्दा आफ्नो परिवारसँग बस्न मन लाग्छ। मानिसहरू हामीलाई आफ्नो यौन चाहना पूरा गर्न रातभर स्टेजमा उफ्रिएको जसरी सोच्छन्। तर हाम्रो बाध्यता आफ्नै छ। यो कुरा कसले बुझिदिने?'