पश्चिम एसियाली मुलुक इराकमा रहेका चार जना नेपाली कामदार ६ महिनाअघि वैधानिक प्रक्रियाले टर्की पुगे। टर्कीबाट युरोपेली मुलुक पठाउँछु भन्ने नेपाली दलालको प्रलोभनमा परेर उनीहरू भिजिट भिसामा त्यहाँ पुगेका थिए।
इराकमै सुरक्षित रूपमा काम गरिरहेका उनीहरूलाई टर्की पुगेपछि नेपाली दलालले पाकिस्तानी दलालको जिम्मा लगाइदिए। उनीहरू पाकिस्तानीको फन्दामा परे।
युरोप पठाउने भनेर जिम्मा लिएका पाकिस्तानी दलालले चारै जना नेपालीको अपहरण गरेर बन्धक बनाए। तीन जना तीन–चार दिनमै भाग्न सफल भए। एक जना भाग्न सकेनन्।
एनआरएनए (गैरआवासीय नेपाली संघ), टर्कीका अध्यक्ष विनोद पौडेलले दिएको जानकारी अनुसार भाग्न नसकेका एक जनालाई पाकिस्तानी दलालले यातना दिएर फिरौती रकम रकम समेत लिई चार महिनामा मुक्त गरे।
'पाकिस्तानीले ती युवकलाई धेरै दुःख दिएछन्। यातना दिएछन्। सबै कागजपत्र खोसेर राखेको रहेछन्। नौ हजार युरो फिरौती पनि लिएछन्,' उनले भने, 'हाम्रो (एनआरएनए, टर्की) सम्पर्कमा आएपछि नेपाल पठाउने प्रक्रिया पूरा गर्न सघायौं।'
विनोदका अनुसार यो एउटा प्रतिनिधि घटना मात्र हो। युरोप जाने प्रलोभनमा परेर हरेक वर्ष कम्तीमा एक हजार जना नेपाली टर्की पुग्छन्। दलालहरूले टर्कीलाई युरोप पठाउने ट्रान्जिट बनाउँछन्।
टर्कीको धेरै भूभाग पश्चिम एसियामा र केही भूभाग युरोपमा पर्छ। यो देशको दक्षिणीतर्फको केही सिमाना सिरिया, इराक र इरानसँग स्थलगत रूपमा जोडिएको छ।
नेपालीहरू तीन तरिकाले टर्की पुग्ने गरेको विनोदको भनाइ छ।
एक, टर्कीमा काम गर्ने गरी 'वर्क पर्मिट' लिएर नेपालीहरू पुग्छन्। यो तरिका वैधानिक हो।
नेपालीहरू विशेष गरेर कुकिङ, हाउस किपिङ, निर्माण लगायत क्षेत्रमा काम गर्न जान्छन्। घरेलु कामदार छन्। केही चिकित्सक पनि छन्। चिकित्सकहरू निकै राम्रो हैसियतमा छन्।
दुई, नेपालीहरू पर्यटक भिसामा पनि टर्की पुग्छन्। कानुनी रूपमा बस्न पाए भने काम गरेर बस्छन्। त्यसो नभए काम खोज्छन् अनि गैरकानुनी तरिकाले बस्छन्।
तीन, यसमा टर्की हुँदै युरोपेली मुलुक जान चाहनेहरू हुन्छन्। यसरी जानेहरू धेरैजसो भारतबाट युएई हुँदै इरान र इराक पुग्छन्। यी दुवै देशबाट तीन दिनदेखि सात दिनसम्म हिँडेर टर्की पस्छन्।
दुबईबाट दलालीमार्फत सिरिया र इराक हुँदै हिँडेर टर्की पुग्छन्। यसरी टर्की पुग्नेहरू वैधानिक र अवैधानिक दुवै हुन सक्छन्। टर्कीबाट हिँडेर ग्रीस जाने र ग्रीसमा शरणार्थी बन्ने पनि हुन्छन्। टर्कीको सीमा नाघेर ग्रीस पुग्न चाहनेहरू सबै सफल हुँदैनन्।
'ग्रीसको सिमानाबाट १४ पटकसम्मको प्रयास असफल भएर फर्केका नेपाली पनि भेटेको छु,' विनोदले भने।
हरेक वर्ष एक हजार जति नेपाली टर्की आउनेजाने चलिरहे पनि वैधानिक तरिकाले काम र व्यवसाय गर्ने नेपालीको संख्या तीन हजार हाराहारी मात्र रहेको विनोदको अनुमान छ।
उनी 'युनिभर्सल पिस फेडरेसन' नामक संस्थाबाट सन् २०१८ मा टर्की पुगेका थिए। उनी उक्त संस्थाको टर्कीस्थित कार्यालयका प्रमुख थिए। त्यसयता टर्कीमै छन्।
उनी हालै दुई वर्षका लागि एनआरएनए, टर्कीको अध्यक्ष निर्वाचित भएका छन्।
टर्कीमा रहेका नेपालीको हित प्रवर्द्धनका लागि केही पहल गर्न जरूरी रहेको उनले बताए।
उनका अनुसार विगत केही समयदेखि टर्कीमा नेपाली अवैतनिक वाणिज्य दूत छैनन्। नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर उक्त पदमा नियुक्तिका लागि आफूले पहल सुरू गरेको उनले बताए।
विभिन्न कारणले टर्कीलाई ट्रान्जिट बनाउनेहरू समस्या पर्ने गरेका छन्। प्राकृतिक विपत्ति र अन्य कुनै समस्यामा परेकालाई पनि सहयोग आवश्यक पर्छ।
यस्ता व्यक्तिको सहयोग र उद्धारका लागि एनआरएनए, टर्कीले 'राहत समिति' गठन गर्ने योजना बनाएको विनोदको भनाइ छ।
'कसैको पासपोर्टको म्याद सकिएको हुन्छ। नवीकरण गर्न पाकिस्तान जानुपर्छ, कि नेपाल नै पुग्नुपर्छ। हामीले यस्तो अप्ठ्यारो अन्त्य गर्नुपर्ने छ,' विनोदले भने, 'टर्कीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्न पर्ने छ। हामी यी कामका लागि नेपाल सरकारसँग समन्वय गर्ने प्रयासमा छौं।'
उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि टर्कीमा बलियो सम्भावना देखेका छन्। एनआरएनए, टर्कीले यसमा पनि केही पहल गर्ने उनले बताए।
त्यस्तै टर्की नेपाली युवाका लागि रोजगारीको राम्रो गन्तव्य बन्न सक्ने पनि उनले देखेका छन्। कामको सीप भएका र टर्किस भाषा बोल्न सक्नेले राम्रो रोजगारी पाउन सक्छन्।
विनोदका अनुसार टर्कीमा शिक्षाको गुणस्तर राम्रो छ। उच्च शिक्षामा करिब तीन सय नेपाली विद्यार्थी टर्कीमा रहेको उनले बताए।
टर्कीमा युरोपेली ब्रान्डका गुणस्तरीय सामान तुलनात्मक रूपमा निकै सस्तो मूल्यमा पाइन्छ।
कसैले टर्कीमा काम लगाइदिने वा त्यहाँबाट युरोपका अन्य देश पठाइदिने आश्वासन दिएका भरमा देश नछोड्न र वैधानिक प्रक्रिया पूरा गरेर मात्र हिँड्न विनोदको आग्रह छ।
'टर्कीमा कुकिङ, हाउस किपिङ, घरेलु कामदार, कन्स्ट्रक्सन र आइटीमा राम्रो अवसर छ। यी कामको सीप छ भने आउँदा हुन्छ,' उनी भन्छन्, 'नत्र दलालको चक्करमा नपर्नु नै राम्रो हुन्छ। वैधानिक तरिकाले टर्की पुग्न चार लाख रूपैयाँसम्म खर्च हुन्छ। युवाहरू सचेत रहनुहोला, दलालले १२ लाख सम्म लिन्छन्।'
निकै लामो समयदेखि सशस्त्र संघर्ष गरिरहेका सशस्त्र समूहले हतियार बुझाएर शान्ति सम्झौता गरेका हुनाले टर्कीको शान्ति सुरक्षा समेत बलियो रहेको उनले बताए।