'त्यति राम्रो देशमा, त्यत्रो ठूलो पद छाडेर किन पोर्चुगल आएको?'
डेनमार्कस्थित तारे होटलमा म्यानेजर पदमा काम गरिरहेका निराजन गोतामे पोर्चुगल पुगेपछि धेरै सुन्नुपर्ने प्रश्न हो यो।
हुन पनि पोर्चुगल पुगेका धेरै नेपाली डेनमार्क छिर्ने योजना बनाइरहेका हुन्छन्।
अधिकांश नेपाली लगायत आप्रवासीहरू पोर्चुगलमा बसोबास अनुमति पाइसकेपछि राम्रो कमाइ, स्थिर रोजगारी तथा सुरक्षित भविष्यको खोजीमा डेनमार्क लगायत युरोपका विकसित मुलुकतर्फ लाग्छन्।
तुलनात्मक रूपमा डेनमार्कमा पोर्चुगलमा भन्दा राम्रो पारिश्रमिक, व्यवस्थित श्रम बजार र सामाजिक सुरक्षाको सुविधा पाइने अपेक्षाले धेरैलाई आकर्षित गर्छ। त्यहाँ रोजगारीसँगै आफ्नै व्यवसाय गर्ने सम्भावना खोज्नेहरू पनि हुन्छन्।
तर डेनमार्कस्थित चारतारे होटलमा नाइट सिफ्ट म्यानेजरका रूपमा काम गरिरहेका निराजनलाई त्यहाँको राम्रो कमाइ र सुविधासहितको जागिरले रोक्न सकेन। चार वर्षअघि डेनमार्क छाडेर उनी पोर्चुगल पुगे।
उनी सन् २०१५ मा विद्यार्थी भिसामा डेनमार्क गएका थिए। पढाइसँगै काम गर्थे। सुरूमा उनी रेस्टुरेन्टमा सफाइ काम गर्थे। पछि कार्यालय सफाइको काम गरे।
अन्तर्राष्ट्रिय व्यापार अध्ययनमा स्नातकोत्तर पूरा भएपछि उनले अर्थशास्त्रमा पनि स्नातकोत्तर गरे। तर आफ्नो योग्यता अनुसारको काम पाउन निकै गाह्रो थियो। धेरै संघर्षपछि उनी असिस्टेन्ट म्यानेजर हुँदै चारतारे होटलको म्यानेजर पदसम्म पुगेका थिए।
'कडा मेहनतपछि राम्रो अवसर पाएको थिएँ। तर लामो समय यहीँ बसिरहन मलाई उपयुक्त लागेन,' निराजनले भने, 'पाँच–सात वर्ष बसेर दुःख गरेर आर्थिक रूपमा बलियो हुन डेनमार्क ठिक छ। तर केही प्रक्रियाहरू झन्झटिला लागे।'


चिसो मौसम, कामको प्रकृति र आवासीय अनुमति प्रक्रिया झन्झटिलो भएकाले आफूलाई उचित नलागेको उनी बताउँछन्।
'यहाँको चिसोमा घुलमिल हुन पनि निकै कठिन भयो। वर्षमा आठ–नौ महिना निकै चिसो हुने र हिटरबिना काम गर्न कठिन हुने। अनि आफ्नो बसोबास कार्ड बनिसकेपछि श्रीमतीको कार्ड बनाउन छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने,' उनले भने, 'डेनमार्कको वास्तविकता बाहिरबाट देखेजस्तो सुन्दर मात्रै छैन। थुप्रै असहजताहरू छन्।'
आम्दानी धेरै देखिए पनि डेनमार्क खर्चिलो पनि उत्तिकै छ। व्यवसाय गर्न पनि धेरै पैसा चाहिन्छ। प्रक्रिया पनि झन्झटिलो भएको उनले बताए।
त्यसैले उनले विकल्पका रूपमा पोर्चुगल रोजे।
त्यहाँ केही महिना उनले व्यावसायिक वातावरण र सम्भावनाबारे अध्ययन गरे।
'यहाँ व्यवसाय सुरू गर्न त्यति धेरै प्रशासनिक झन्झट छैन। मैले त आवासीय कार्ड नहुँदै व्यवसाय सुरू गरेको हुँ। क्षमता र योजना भयो भने काम गर्न सकिन्छ,' निराजनले भने।
व्यवसायलाई निरन्तरता दिन भने सजिलो छैन। प्रतिस्पर्धा धेरै भएकाले व्यवसाय टिकाइराख्नु चुनौतीपूर्ण रहेको उनको अनुभव छ। त्यसैले फरक तरिकाले सोचेर काम गर्न सक्नुपर्ने उनी बताउँछन्।
उनले सुरूमा सानो रेस्टुरेन्ट पनि सञ्चालन गरेका थिए। तर रेस्टुरेन्टको काममा पर्याप्त अनुभव नभएकाले निरन्तरता दिन सकेनन्। सेवा क्षेत्रमा रूचि भएकाले ट्राभल एजेन्सी चलाउने सोचे।
निराजन अहिले युरो नेपाल नामको ट्राभल कम्पनी चलाइरहेका छन्। कम्पनी दर्ता गरेर सञ्चालनमा ल्याएको दुई वर्ष भयो।
उनको मुख्य काम हवाई टिकट बिक्री हो। पोर्चुगलबाट नेपाल आउने यात्रुका लागि सहुलियत मूल्यमा टिकट उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताए।

'हामीले नेपालीलाई सेवा दिइरहेका छौं। कसैले पैसा छैन भनेमा तलब आएपछि दिनू भनेर टिकट उपलब्ध गराउँछु। कहिलेकाहीँ उधारोमै काम गरिरहेको हुन्छु,' उनी भन्छन्।
यसबाहेक नेपालबाट पोर्चुगल घुम्न जानेका लागि भ्रमण प्याकेज बनाउने, आवश्यक कागजात तयार गर्न र पठाउन सघाउँछन् पनि। पोर्चुगल पुगेका पर्यटकलाई विमानस्थलबाट स्वागत गरेर घुमाउने व्यवस्था पनि मिलाउने उनले बताए।
अहिले उनी एक जना साथीसँग मिलेर काम गरिरहेका छन्।
निराजनको अनुभवमा पोर्चुगलमा व्यवसायको प्रकृति र लगानी अनुसार सम्भावना फरक हुन्छ। रेस्टुरेन्ट, सुसी पसल, किराना पसल, ट्राभल एजेन्सी — के व्यवसाय गर्ने भन्ने कुरा आफ्नो रूचि, क्षमता, लगानी र स्थान हेरेर तय गर्नुपर्छ।
उनले ट्राभल एजेन्सी सुरू गर्दा दर्ता, सजावट र अग्रिम घरभाडासहित करिब १५ हजार युरो लगानी भएको बताए।
डेनमार्कमा कमाएको रकममध्ये झन्डै ५० प्रतिशत उनले पढाइमै खर्च गरिसकेका थिए। व्यवसायमा ठूलो रकम लगानी गर्ने योजना थिएन। त्यसैले कम लगानीबाट सुरू गर्न सकिने सेवा व्यवसाय रोजेको उनले बताए।
'अहिले वार्षिक कारोबार १० लाख युरोभन्दा बढी पुगेको छ। अपेक्षा गरेभन्दा राम्रो कारोबार भइरहेको छ,' उनले भने।
निराजनको परिवार अहिले पोर्चुगलमै छ। छोराछोरीको पढाइ र हुर्काइलाई उनले आगामी जीवनको प्राथमिकतामा राखेका छन्।
अबको समय पोर्चुगलमै बस्ने योजना छ।
'छोराछोरी १७–१८ वर्षका हुँदासम्म उनीहरूलाई समय दिनुपर्छ। उनीहरूको पढाइ पनि हेर्नुपर्यो। छोराछोरीको भविष्य सोचेर पनि अरू योजना बनाएको छैन,' उनी भन्छन्।
युरोप र अन्य देश गरी ४०–४५ देश घुमिसकेका निराजनको बुझाइमा सबै देशका आ–आफ्नै विशेषता र चुनौती छन्। कतै आम्दानी धेरै हुन्छ भने खर्च पनि त्यही अनुसार बढ्छ।
त्यसैले विदेशमा कमाइ मात्रै हेरेर निर्णय लिन हुँदैन।
'मान्छेले आम्दानी मात्रै हेर्छन्, खर्च बुझेकै हुँदैनन्। जहाँ छौं, त्यहीँ जीवन रमाएर बिताउन सकिन्छ भने आफ्नै व्यवसाय गरेर लामो समय बस्न सकिन्छ। भाषा र पढाइ छ भने पढाइ अनुसारको जागिर पनि पाइन्छ,' उनले भने।
