तमु प्ये ल्हु संघ यूकेले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई राहत दिन २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङको नेतृत्वमा आएको टोलीले बुधबार गृहमन्त्री सुधन गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
गृहमन्त्री गुरुङको पुल्चोकस्थित निवासमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो।
संघले बेलायतमा रहेका आफ्ना सदस्य, आमा समूह तथा ग्लोष्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदायबाट रकम संकलन गरेको जनाएको छ।
संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संघले जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा संघका सदस्य सूर्यबहादुर गुरुङ, धीरबहादुर गुरुङ र गमबहादुर गुरुङ, युथ एम्बेसडर सृजना गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङ, तमु प्ये ल्हु संघ नेपाल युवा समितिका सल्लाहकार शुक्रराज गुरुङ र तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङलगायत सहभागी थिए ।
संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङले तमु प्ये ल्हु संघ यूके सांस्कृतिक तथा सामाजिक संस्था भएको बताए । उनका अनुसार संघले नेपालमा आइपर्ने विपद्मा सहयोग गर्नुका साथै शिक्षा, स्वास्थ्य र परोपकारी क्षेत्रमा काम गर्दै आएको छ।
संघले यसअघि भूकम्पपीडितलाई सहयोग गर्नुका साथै कोभिड महामारीका बेला राहत वितरण गरेको थियो।
संघका अध्यक्ष क्या। डेमबहादुर गुरुङका अनुसार बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने गुरुङ समुदायले सन् २००५ मा तमु प्ये ल्हु संघ यूके स्थापना गरेका हुन्।
बेलायतमा दर्ता भई सञ्चालनमा रहेको संघले गुरुङ संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै नेपालमा सामाजिक तथा परोपकारी काममा सहयोग गर्दै आएको छ।