परदेशीको दसैं
परदेशमा रहेका नेपालीहरू दसैं मनाउन घर फर्किन थालिसकेका छन्। नुवाकोटका शम्भु जम्कटेल भने बिदा सकेर रोजगारीका लागि कतार पुगेको एक साता मात्रै भएको छ।
यो वर्ष उनको बिदा दसैंका बेला परेन।
'गएको वर्ष दसैंका बेला बिदा परेको थियो,' सेतोपाटीसँग ह्वाट्सएपमा कुरा गर्दै शम्भुले भने, 'सुतक परेकाले दसैं मनाउन पाइएन। यसपालि दसैंभन्दा अगाडि नै बिदा पर्यो।'
शम्भु विगत सात वर्षदेखि कतारमा कार्यरत छन्। उनी गल्फ एक्सचेन्ज कम्पनीको एक शाखामा ब्रान्च अफिसरका रूपमा काम गर्छन्। उनले यो जिम्मेवारी पाएको छ महिना भयो। त्यसअघि उनी क्यासियरका रूपमा काम गर्थे।
'मैले दसैं मनाउन नपाएको त १० वर्षजति नै भयो। कहिले परदेशमा भएकाले मनाउन पाइएन, कहिले घरमै हुँदा पनि विभिन्न सामाजिक कारणले मनाउन पाइएन,' उनी सुनाउँछन्, 'धेरै वर्षदेखि दसैं मनाउन नपाएर होला, पहिले जस्तो महत्त्व पनि लाग्न छाडिसक्यो।'
अहिले सामाजिक सञ्जालको प्रयोग बढेसँगै भिडिओ कलबाटै आफ्ना मान्यजनबाट आशीर्वाद लिन सकिन्छ। तर, काममा व्यस्त हुने शम्भुले त्यो अवसर पनि पाएका छैनन्।
'एक पटक आमाले साइतमै फोन गरेर आशीर्वाद दिन्छु भन्नुभएको थियो। तर म काममा व्यस्त भएँ। फोन उठाउन पनि पाइनँ। हाम्रो ठूलो चाड भए पनि के गर्नु, कतारमा त दसैं आएको थाहै हुँदैन,' उनले भने।
कतारमा हुँदा कुनै वर्ष साथीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्छन्। तर, सधैं त्यस्तो अवसर नमिल्ने उनी बताउँछन्।
'दसैं नै मनाउने भनेर पहिलेदेखि योजना हुँदैन। बिदा मिल्यो र भेट्न मिल्ने साथीहरू धेरै जना भइयो भने भेला भइन्छ। एकै ठाउँमा खसीको मासुलगायत परिकार बनाएर खाइन्छ,' उनले सुनाए, 'भेटघाट भए पनि त्यसरी टीका–जमरा लगाउने चाहिँ हुँदैन।'
कतारमा क्याम्पमा ठूलो संख्यामा बस्ने नेपालीहरू र परिवारसहित बस्नेहरूले भने टीका–जमरा लगाएरै दसैं मनाउने उनले बताए।
'मैले काम गरिरहेको कम्पनीको मेरो शाखामा म एक जना नेपाली हुँ। हुन त हामी २५ देखि ३० जना नेपाली काम गर्छौं। तर, भेट हुनलाई कि अफिसको कुनै कार्यक्रम हुनुपर्यो, कि तालिम हुनुपर्यो। नत्र भेटै हुँदैन,' उनले भने।
दसैंको महत्त्व बिस्तारै घट्दै गएको हो कि भन्ने लागे पनि शम्भुलाई बाल्यकालको सम्झना भने खुबै आउँछ।
दसैं भन्नेबित्तिकै उनलाई नयाँ स्कुल ड्रेस लगाएको क्षण सम्झना हुन्छ।
'त्यो बेला दसैंमा स्कुलको नयाँ युनिफर्म लगाएर टीका लगाउन पाउँदा खुब खुसी भइन्थ्यो। तर, टीकाको दिनसम्म त्यो युनिफर्म सिलाएर सकिएन भने निकै दुःख लाग्थ्यो। पछि स्कुल जाँदा लगाइन्थ्यो।'
गाउँघरमा घटस्थापना सुरू भएपछि दसैंको रौनक छाउँथ्यो। घरहरू रातो माटो र कमेरोले सजिन्थे। शम्भु पनि घन्टौं हिँडेर कमेरो लिन पुग्थे।
घरभन्दा माथिको चउरमा फूलपातीभन्दा अघिल्लो दिन नै लिंगे पिङ हालिन्थ्यो। शम्भु र उनीजस्तै उमेरका साथीहरू गाउँभरि पुगेर बाबियो बटुल्थे। पिङ हाल्ने र गाउँभरिका मानिस भेला भएर खेल्ने चलन थियो।
'अहिले त गाउँघरमा पहिले जस्तो रौनक पनि छैन रहेछ। अघिल्लो वर्ष पनि त्यहाँ पिङ हालियो, तर बाबियो हराइसकेछ। प्लास्टिकको डोरीको पिङ हालियो,' शभ्मुले भने।