परदेशीको दसैं
उदयपुरका चन्द्र खड्का कामको खोजीमा विभिन्न मुलुक पुगे। कहिले मलेसिया, कहिले टर्की त कहिले संयुक्त अरब इमिरेट्स (युएई)।
करिब सात वर्षयता भने उनी युएईको दुबईमा छन्। उनी दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डका रूपमा काम गर्छन्। करिब ८० जना सुरक्षा गार्डको समूहका सुपरभाइजर पनि हुन्।
चन्द्र दुई वर्षअघि बिदामा नेपाल फर्किएका थिए।
'वैशाखमा मेरो बिदा मिलेको थियो। यो कम्पनीमा हामी धेरै जना नेपाली काम गर्छौं। दसैं, तिहारजस्ता चाडपर्वका समयमा बिदा मिलाउन निकै गाह्रो हुन्छ,' उनले सुनाए।
परदेश गएदेखि नै दसैं–तिहारजस्ता चाडपर्व मनाउने अवसर नजुरेको उनले बताए।
'जुन दिनदेखि देश छाडेँ, त्यस दिनदेखि दसैंतिहार मनाउने दिन पनि सकिएजस्तो लाग्छ,' चन्द्र भन्छन्, 'यहाँ त दसैंको कुनै माहोल नै बन्दैन। घरमा फोन गरेपछि चाहिँ बल्ल दसैं आएछ जस्तो लाग्छ।'
दुबईमा सात वर्ष बितिसक्दा पनि उनले त्यहाँ कुनै वर्ष दसैं मनाएका छैनन्।
'घरमा खर्च पठाइन्छ। हामीले यहाँ कमाएर पठाएपछि घरमा खुसीसाथ दसैं मनाउने माहोल बन्छ। त्यसमै खुसी मान्नुपर्छ। परदेश भनेकै यस्तै हो। यहाँ दसैं मनाउनभन्दा पनि काम गर्न आइएको हो,' उनले भने।
चन्द्र दैनिक १२ घन्टा काम गर्छन्। नेपालमा दसैंको समय हुँदा पनि उनी काममै व्यस्त हुन्छन्। काममै रमाउँछन्।
उनी कार्यरत कम्पनीमा धेरै नेपाली श्रमिक छन्। कोही हाउस–किपिङमा छन्, कोही सामान लोड–अनलोड गर्ने काममा त कोही चालकका रूपमा कार्यरत छन्।
दसैंमा केही साथी नेपाल गए पनि आफूलाई भने यो समयमा बिदा मिलाउन कठिन हुने उनी बताउँछन्।
'बिदाका लागि एक–डेढ वर्षअघिदेखि नै जानकारी गराउनुपर्ने हुन्छ। मेरो बिदा वैशाखमा पर्ने भएकाले फेरि पनि त्यही समयमा बिदा मिलाएर फर्किन्छु,' उनले भने।
चन्द्रलाई उदयपुरमा बिताएको बाल्यकालको दसैं भने अझै याद आउँछ। गाउँमा पिङ हाल्ने, खसीको मासु खाने, रमाउने तथा टीका–जमरा थापेर आशीर्वाद लिने ती दिनहरू उनका सम्झनामा घुमिरहन्छन्।
'त्यो बेलाको छुट्टै रमाइलो थियो। अहिले ती सबै मीठा याद मात्रै भएका छन्,' उनले सम्झिँदै सुनाए।
चन्द्र अझै केही वर्ष दसैंका बेला यस्तै सम्झनाहरूसँगै परदेशमै हुनेछन्। तत्काल परदेश छाडेर नेपालमै बस्ने गरी फर्किहाल्ने अवस्था बनिसकेको छैन।
'यसपालि घर बनाउनुपर्ने भएकाले अझै केही वर्ष विदेशमै काम गर्नुपर्ने बाध्यता छ। अझै केही दसैंहरू परदेशमै बित्छन् होला,' उनले भने।