नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो।
भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले सहयोग गरेकाले सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्रकुँवेर खापुङले कदर पत्र प्रदान गरेका थिए।
अध्यक्ष श्रेष्ठले सडक सुरक्षाका लागि एनआरएनएले योगदान गरेको बताउँदै आउँदा दिनमा पनि आवश्यकताका आधारमा सहयोग गर्ने बताए।
एनआरएनएले अहिले ट्राफिक कन्ट्रोलरूम पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ।
उक्त कार्यका लागि करिब ८० लाख बढी लागत लाग्ने अनुमान गरिएको छ।
उपत्यका ट्राफिक कन्ट्रोल रूममा आवश्यक पर्ने उपकरणहरू जोड्ने काम भइरहेको एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिए।
विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका मनोजकुमार श्रेष्ठले काम अन्तिम चरणमा पुगेको र केही दिनमै ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्ने बताए।