कल्पना गर्नुस्, तपाईं कुनै नदी किनारमा हुनुहुन्छ। माथिल्लो क्षेत्रमा मुसलधारे पानी परेर नदीमा ठूलो बाढी आइसकेको छ। तपाईं भएको ठाउँसम्म बाढी आइपुग्न भने अझै केही समय बाँकी छ।
तपाईंलाई न माथिल्लो क्षेत्रमा पानी परेको थाहा छ, न त बाढी आउँदै गरेको।
त्यही बेला तपाईंको मोबाइलबाट एकाएक विशेष आवाज आउँछ। मोबाइलको स्क्रिनमा एउटा सन्देश देखिन्छ— तपाईं भएको क्षेत्रमा बाढीको जोखिम छ, तत्काल सुरक्षित स्थानमा जानुहोस्।
त्यस बेला तपाईंको मोबाइलमा इन्टरनेट चलेको हुनुपर्दैन। सरकारले तपाईंको मोबाइल नम्बर थाहा पाएको पनि हुनुपर्दैन।
तपाईं मात्र होइन, त्यस क्षेत्रमा रहेका हजारौं मानिसको मोबाइलमा एकैपटक यस्तो सन्देश पठाउन सकिन्छ।
विपद बेला मानिसको ज्यान जोगाउन उपयोगी हुन सक्ने यही प्रविधिको नेपालमा सोमबार प्रारम्भिक परीक्षण गरिएको छ। 'सेल ब्रोडकास्ट सिस्टम' (सिबिएस) भनिने यो प्रणाली नेपाली प्राविधिकहरूले नै विकास गरेका हुन्।
सञ्चारमन्त्री विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा सोमबार काठमाडौंको बलम्बुस्थित नेपाल टेलिकमको टावरबाट यसको परीक्षण गरिएको थियो।
परीक्षण क्रममा छानिएका मोबाइलमा नेपाली र अंग्रेजी भाषामा सन्देश पठाइएको थियो। सन्देश आउँदा मोबाइलमा विशेष आवाज र कम्पनसमेत आएको थियो।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार परीक्षणमा छानिएका ४० देखि ५० वटा मोबाइलमा ५ देखि १० सेकेन्डभित्रै सन्देश पुगेको थियो।
'हाम्रो परीक्षण एकदमै सफल भयो,' उनले बुधबार सेतोपाटीसँग भने, 'पाँचदेखि १० सेकेन्डमै सन्देश पठाउन सक्यौं।'
प्राधिकरणले अब विभिन्न चरणमा यसको परीक्षण गरेर आगामी मनसुनअघि नै प्रयोगमा ल्याउने तयारी गरिरहेको छ। यसका लागि प्रणाली सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदासमेत तयार भइसकेको केसीले जानकारी दिए।
नेपालजस्तो बाढी, पहिरो, हिमताल विस्फोट लगायत प्राकृतिक विपदको उच्च जोखिममा रहेको मुलुकका लागि यो प्रविधि महत्त्वपूर्ण हुन सक्छ।
यसको सबभन्दा ठूलो विशेषता भनेको विपदको जोखिम भएका ठाउँमा बस्ने मानिसलाई मात्र होइन, त्यति बेला त्यहाँ पुगेका जोसुकैलाई पनि तत्काल सतर्क गराउन सक्नु हो।
तर यो प्रविधिले कसरी काम गर्छ? अहिले हामीले मोबाइलमा प्राप्त गर्ने विपद पूर्वसूचनाभन्दा यो कसरी फरक छ? यसले मानिसको ज्यान जोगाउने कसरी हो?
गृह मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालयद्वारा नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको सोमबार परीक्षण गर्दै गृहमन्त्री सुधन गुरूङ र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना। यो प्रणाली अनुसार कुनै विपद आउनुअघि मोबाइल नेटवर्कको सहायताबाट प्रत्येक नागरिकको मोबाइलमा सन्देश पुग्नेछ। तस्बिर: रन्जन कार्की/रासस
के हो सेल ब्रोडकास्ट?
अहिले हामीले एकअर्कालाई मोबाइलबाट एसएमएस पठाउँदा जसलाई पठाउने हो, उसको मोबाइल नम्बर चाहिन्छ। एक हजार जनालाई सन्देश पठाउनुपर्यो भने एक हजार जनाकै मोबाइल नम्बर चाहिन्छ।
सेल ब्रोडकास्टमा भने मोबाइल नम्बरको सट्टा भौगोलिक क्षेत्र छनोट गरिन्छ।
मोबाइल सेवा सञ्चालन गर्न दूरसञ्चार कम्पनीहरूले ठाउँठाउँमा टावर राखेका हुन्छन्। ती टावरका एन्टेनाले निश्चित क्षेत्रका मोबाइललाई सेवा दिइरहेका हुन्छन्। मोबाइल नेटवर्कको यस्तो सेवा क्षेत्रलाई प्राविधिक भाषामा 'सेल' भनिन्छ।
सेल ब्रोडकास्ट भनेको त्यही सेलभित्र रहेका मोबाइलमा एकैपटक सन्देश प्रसारण गर्ने प्रविधि हो।
यसलाई हामी रेडियो प्रसारणसँग दाँजेर पनि बुझ्न सक्छौं।
रेडियो स्टेसनले समाचार प्रसारण गर्दा आफ्नो प्रसारण क्षेत्रभित्र कति जनाले रेडियो सुनिरहेका छन् भन्ने थाहा पाउनुपर्दैन। त्यहाँ एक सय जनाले रेडियो सुनिरहेका होऊन् वा एक लाख जनाले, समाचार छुट्टाछुट्टै प्रसारण गर्नुपर्दैन।
सेल ब्रोडकास्टको आधारभूत सिद्धान्त पनि यस्तै हो।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) का अनुसार यो प्रविधिमार्फत सीमित क्षेत्रका केही मोबाइलदेखि ठूलो भौगोलिक क्षेत्रका लाखौं मोबाइलसम्म एकैपटक चेतावनी सन्देश प्रसारण गर्न सकिन्छ।
यसका लागि मोबाइलमा छुट्टै एप डाउनलोड गर्नुपर्दैन। इन्टरनेट प्याकेज किन्नुपर्दैन। प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण पनि उपलब्ध गराउनुपर्दैन।
प्राधिकरणका प्रवक्ता केसीका अनुसार उपयुक्त मोबाइल र नेटवर्कमा सिमकार्ड नभएको अवस्थामा पनि यस्तो सन्देश प्राप्त गर्न सकिन्छ। मोबाइल भने चालू अवस्थामा र सम्बन्धित नेटवर्कको पहुँचमा हुनुपर्छ। मोबाइलले पनि यस्तो चेतावनी ग्रहण गर्न सक्ने हुनुपर्छ।
नेपालमा प्रारम्भिक परीक्षण टुजी प्रविधिमा गरिएको केसीले जानकारी दिए। अब थ्रिजी र फोरजीमा पनि परीक्षण गरिनेछ।
उदाहरणका लागि, जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा ठूलो बाढी आउँदै गरेको पत्ता लगायो रे!
बाढीले कुनकुन बस्ती डुबानमा पार्न सक्छ भन्ने आकलनका आधारमा ती बस्तीलाई सेवा दिइरहेका मोबाइल नेटवर्कका सेलहरूबाट चेतावनी सन्देश प्रसारण गर्न सकिन्छ। त्यहाँ बस्ने स्थानीय बासिन्दा हुन् वा घुम्न गएका पर्यटक, काम गर्न गएका मजदुर हुन् वा सडकमा गुडिरहेका गाडीका यात्रु— सबैले आफ्नो मोबाइलमा यस्तो सूचना पाउन सक्छन्।
यसका लागि सम्बन्धित दूरसञ्चार नेटवर्क र मोबाइल उपकरणले यो प्रविधि समर्थन गर्नुपर्छ।
नेपाल टेलिकम वा एनसेलमध्ये कुनै एउटा कम्पनीका ग्राहकमा मात्र सीमित नराखी सबैलाई चेतावनी दिने गरी प्रणाली सञ्चालन गर्ने उद्देश्य रहेको केसी बताउँछन्।
एसएमएसभन्दा कसरी फरक?
नेपालमा मोबाइलमार्फत विपद पूर्वसूचना पठाउन थालिएको अहिले होइन।
सन् २०१६ मै जल तथा मौसम विज्ञान विभाग र निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलबीच बाढीको पूर्वसूचना मोबाइलमार्फत पठाउने सम्झौता भएको थियो। नेपाल टेलिकमसँग पनि विभागको यस्तै सम्झौता छ। वर्षा याममा कतिपयले ११५५ नम्बरबाट बाढी र मौसमसम्बन्धी चेतावनी सन्देश प्राप्त गरिरहेका हुन्छन्।
अहिलेको एसएमएस प्रणाली र सेल ब्रोडकास्टबीच मुख्यतः तीनवटा भिन्नता छन्।
पहिलो, सूचना पठाउने तरिका।
एसएमएस प्रणालीमा एकै किसिमको सन्देश भए पनि सम्बन्धित मोबाइल नम्बरहरूमा छुट्टाछुट्टै पठाउनुपर्छ। सेल ब्रोडकास्टमा भने सम्बन्धित क्षेत्रमा एकैपटक सन्देश प्रसारण गरिन्छ।
दोस्रो, सूचना पुग्ने गति।
विपद बेला धेरै मानिसले एकैपटक फोन गर्ने वा सन्देश पठाउने हुँदा मोबाइल नेटवर्कमा चाप बढ्न सक्छ। यस्तो अवस्थामा सामान्य एसएमएस पुग्न ढिला हुन सक्छ।
सेल ब्रोडकास्टले भने छुट्टै प्रसारण संयन्त्र प्रयोग गर्ने हुँदा सामान्य मोबाइल सञ्चारमा हुने चापको असर तुलनात्मक रूपमा कम पर्ने केसी बताउँछन्।
तेस्रो, मानिसको ध्यान खिच्ने तरिका।
मोबाइलमा दिनहुँ आउने दर्जनौं एसएमएसमध्ये विपदको सूचना पनि एउटा हुन सक्छ। हामीले त्यो सन्देश तत्काल नहेर्न सक्छौं।
सेल ब्रोडकास्टबाट आउने आपतकालीन सूचना भने मोबाइलको स्क्रिनमा स्वतः देखिन सक्छ। विशेष आवाज र कम्पनका कारण त्यसले मानिसको ध्यान तत्काल खिच्न सक्छ। मोबाइल साइलेन्टमा राखेको अवस्थामा पनि उपकरण र चेतावनीको प्रकार अनुसार आवाज आउन सक्छ।
केसीका अनुसार विपदको जोखिमको स्तर अनुसार फरकफरक चेतावनी दिने व्यवस्था यसमा हुन्छ।
जोखिमको स्तर रेड (अत्यधिक जोखिम), अरेन्ज (जोखिम) वा येलो (सतर्क रहनुपर्ने अवस्था) के हो भन्ने आधारमा सन्देश र चेतावनीको प्रकृति फरक हुन सक्छ।
'मान्छेले त्यो इग्नोर नै गर्न पाउँदैन। त्यो मेसेज नहेरेसम्म बज्न छोड्दैन,' उनले परीक्षण गरिएको चेतावनीको विशेषता बताउँदै भने।
अहिलेको एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने वा पुगे पनि मानिसले नहेर्ने समस्या रहेको केसी बताउँछन्।
उनले रसुवा–भोटेकोशी क्षेत्रमा एसएमएसबाट सूचना पठाउँदा पनि कतिपय मानिसले सन्देश नहेरेको उदाहरण दिए।
सामान्य परिस्थितिमा एसएमएस र सेल ब्रोडकास्टबीचको फरक त्यति ठूलो नलाग्न सक्छ। विपद बेला भने सूचना पुग्न र मानिसले त्यो सूचना थाहा पाउन लाग्ने केही मिनेटको अन्तरले पनि ठूलो अर्थ राख्छ।
कतिपय अवस्थामा त्यही केही मिनेट मानिसको जीवन र मृत्युबीचको अन्तर हुन सक्छ।
नेपालमै कसरी विकास गरियो?
सेल ब्रोडकास्ट विश्वका लागि नयाँ प्रविधि होइन। जापान, अमेरिका, बेलायत लगायत मुलुकमा आपतकालीन सूचना नागरिकसम्म पुर्याउन यो प्रविधि प्रयोग भइरहेको छ।
प्राधिकरणका प्रवक्ता केसीका अनुसार विश्वका ५४ देशमा यो प्रविधि प्रयोगमा छ। तीमध्ये धेरै देशले विदेशबाट प्रविधि खरिद गरेर प्रयोग गरेका छन्। भारतले भने आफ्नै प्रविधि विकास गरेको छ।
नेपालले पनि आफ्नै प्राविधिकहरूबाट यो प्रणाली विकास गरेको केसी बताउँछन्।
उनका अनुसार प्राधिकरणले यसअघि नेपालमा सेल ब्रोडकास्ट प्रणाली आवश्यक छ कि छैन, विदेशबाट खरिद गर्दा कति खर्च लाग्छ र नेपालमै विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गर्न एउटा कार्यदल बनाएको थियो। उक्त कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ।
कार्यदलको अध्ययन अनुसार विदेशबाट यस्तो प्रणालीको सफ्टवेयर खरिद गर्दा २५ देखि ७५ करोड रूपैयाँसम्म खर्च लाग्न सक्छ।
नेपालमै विकास गरिएको प्रणाली प्रयोगमा ल्याउन सकियो भने सफ्टवेयर खरिदमा लाग्ने उक्त रकम जोगिन सक्ने केसी बताउँछन्।
आफ्नै प्रणाली विकास गर्दैमा सञ्चालन खर्च नलाग्ने भने होइन। यसका लागि आवश्यक प्राविधिक जनशक्ति, कम्प्युटर प्रणाली, सेल ब्रोडकास्ट सेन्टर र अन्य प्राविधिक पूर्वाधार व्यवस्थापन गर्नुपर्ने हुन्छ।
प्रणाली विकासमा अहिलेसम्म कति खर्च भयो र देशभर विस्तार गर्न कति खर्च लाग्छ भन्ने विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
प्राधिकरणले प्रणाली कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि (एसओपी) को मस्यौदा तयार पारेको छ। अब त्यसलाई स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस गर्ने तयारी छ।
प्रणालीको प्रारम्भिक परीक्षण सफल भए पनि यसको वास्तविक क्षमता जाँच्न थप परीक्षण आवश्यक रहेको केसी बताउँछन्।
'अहिले त सानो क्षेत्रमा परीक्षण गर्यौं। अब यसलाई लामो दुरी र ठूलो क्षेत्रमा पनि परीक्षण गर्नुपर्छ,' उनले भने।
उनका अनुसार बलम्बुमा गरिएको परीक्षण पहिलो चरण हो। अब तीन–चार चरणमा विभिन्न कोणबाट परीक्षण गरेर प्रणालीको क्षमता जाँच्ने तयारी छ।
मोबाइलमा सूचना पठाउँदैमा ज्यान जोगिन्छ?
नेपालले विगतमा भोगेका विपदका केही घटना हेर्ने हो भने नयाँ प्रविधिको आवश्यकता जति देखिन्छ, त्यसका सीमाहरू पनि उत्तिकै देखिन्छन्।
दुई वर्षअघिको एउटा उदाहरण हेरौं।
२०८१ साल असोजमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गर्यो।
त्यति बेला जल तथा मौसम विज्ञान विभागले भारी वर्षा र बाढीको जोखिमबारे पहिल्यै चेतावनी दिएको थियो। मोबाइलमा एसएमएसमार्फत समेत सूचना पठाइएको थियो।
तैपनि ठूलो क्षति रोक्न सकिएन।
उक्त बाढीबारे सन् २०२५ मा 'नेचुरल हजार्ड्स रिसर्च' नामक वैज्ञानिक जर्नलमा प्रकाशित एउटा अनुसन्धानले पूर्वसूचना दिइए पनि पर्याप्त पूर्वतयारी र प्रतिकार्य हुन नसक्दा विपदको असर बढेको औंल्याएको छ।
यसले विपद व्यवस्थापनमा एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ— सूचना नागरिकसम्म पुर्याउनु मात्र पर्याप्त हो कि त्यो सूचनाका आधारमा नागरिकलाई सुरक्षित स्थानसम्म पुर्याउने संयन्त्र पनि उत्तिकै बलियो हुनुपर्छ?
विश्व मौसम विज्ञान संगठनका अनुसार आँधी वा अत्यधिक गर्मीजस्ता प्रकोपबारे २४ घन्टाअघि मात्र सूचना दिन सकियो भने पनि सम्भावित क्षति ३० प्रतिशतसम्म कम गर्न सकिन्छ।
तर त्यसका लागि मानिसले त्यो सूचनाका आधारमा सुरक्षात्मक कदम चाल्न सक्नुपर्छ। संयुक्त राष्ट्रसंघले प्रभावकारी विपद पूर्वसूचना प्रणालीका चारवटा आधार पहिचान गरेको छ।
पहिलो, कुन ठाउँमा कस्तो विपदको जोखिम छ भन्ने जानकारी।
दोस्रो, सम्भावित विपद पत्ता लगाउने, अनुगमन गर्ने र पूर्वानुमान गर्ने क्षमता।
तेस्रो, जोखिममा रहेका मानिससम्म समयमै चेतावनी पुर्याउने संयन्त्र।
चौथो, चेतावनी पाएपछि विपदबाट जोगिन गरिने पूर्वतयारी र प्रतिकार्य।
नेपालमा अहिले परीक्षण गरिएको प्रविधि यी चारमध्ये तेस्रो कामसँग सम्बन्धित छ।
अर्थात्, सेल ब्रोडकास्टले कहाँ बाढी आउँदै छ वा कहाँ पहिरो जाँदै छ भन्ने पत्ता लगाउने होइन। अन्य संयन्त्रबाट प्राप्त त्यस्तो सूचना नागरिकसम्म छिटो पुर्याउने हो।
प्राधिकरणका प्रवक्ता केसीका अनुसार विपदको चेतावनी जारी गर्ने मुख्य जिम्मेवारी प्राधिकरणकै हुने गरी प्रणाली सञ्चालन गर्ने तयारी छ। कुन विपदबारे कहिले चेतावनी जारी गर्ने भन्ने विषयमा भने सम्बन्धित सरकारी निकायको भूमिका रहनेछ।
उदाहरणका लागि, बाढी र मौसमसम्बन्धी जोखिमबारे जल तथा मौसम विज्ञान विभागले सूचना उपलब्ध गराउनेछ। वायु प्रदूषणको विषयमा वातावरण विभाग र भूकम्पको विषयमा खानी तथा भूगर्भ विभाग जोडिनेछन्। महामारीको हकमा स्वास्थ्यसम्बन्धी निकायको भूमिका हुनेछ।
'यसमा सबै निकायको संयुक्त भूमिका हुन्छ,' केसीले भने।
नदीको माथिल्लो क्षेत्रमा हिमताल विस्फोट भएर बाढी आएको छ भने त्यो घटना जतिसक्दो छिटो पत्ता लगाउनुपर्छ। उक्त बाढी कहाँसम्म र कति समयमा पुग्छ भन्ने आकलन गर्नुपर्छ।
त्यसपछि मात्र तल्लो तटीय क्षेत्रमा रहेका मानिसको मोबाइलमा चेतावनी पठाउन सकिन्छ।
जोखिम पहिचान गर्ने संयन्त्र कमजोर छ भने सूचना पठाउने प्रविधि जतिसुकै अत्याधुनिक भए पनि त्यसको उपयोग सीमित हुन्छ।
त्यस्तै, मोबाइलमा बाढी आउँदै छ भन्ने सन्देश पठाएर मात्र पुग्दैन। मानिसहरू कहाँ जानुपर्छ, कुन बाटो प्रयोग गर्नु सुरक्षित हुन्छ र कति छिटो त्यहाँ पुग्नुपर्छ भन्ने जानकारी पनि दिन सक्नुपर्छ।
अर्को चुनौती हो, मोबाइल उपकरणको प्राविधिक क्षमता।
प्राधिकरणका प्रवक्ता केसीका अनुसार सन् २०१३ पछि आएका मोबाइलमा यो प्रविधिले काम गर्ने अपेक्षा गरिएको छ। तर विभिन्न कम्पनी र मोडलका मोबाइलमा यसको व्यावहारिक परीक्षण गर्न बाँकी छ।
नेपालमा पुराना मोडलका मोबाइल प्रयोग गर्नेहरू पनि छन्। विभिन्न भाषा बोल्ने मानिस छन्। लेखिएको सन्देश पढ्न नसक्ने मानिस पनि छन्। तिनलाई कसरी विपदको जोखिमबारे जानकारी गराउने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ।
सेल ब्रोडकास्टको अर्को प्राविधिक सीमा छ— कुन व्यक्तिले सूचना प्राप्त गर्यो र कुन व्यक्तिले गरेन भन्ने जानकारी यो प्रणालीबाट स्वतः प्राप्त हुँदैन।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले पनि सन्देश प्राप्त भएको व्यक्तिगत पुष्टि नहुनुलाई यो प्रविधिको सीमाका रूपमा औंल्याएको छ।
त्यसैले सेल ब्रोडकास्ट प्रणाली प्रयोगमा आए पनि साइरन, रेडियो, स्थानीय स्वयंसेवक, एसएमएस तथा विपद पूर्वसूचना प्रवाह गर्ने अन्य माध्यमलाई निरन्तरता दिनुपर्ने हुन्छ।
अहिले संयुक्त राष्ट्रसंघले पनि विश्वभर विपद पूर्वसूचना प्रणाली विस्तार गर्न जोड दिइरहेको छ। सन् २०२७ सम्म संसारका सबै मानिसलाई विपद पूर्वसूचना प्रणालीको पहुँचमा ल्याउने उद्देश्यसहित 'अर्ली वार्निङ्स फर अल' अर्थात् 'सबैका लागि पूर्वसूचना' अभियान सञ्चालन गरिएको छ।
यो अभियानको एउटा महत्त्वपूर्ण हिस्सा सेल ब्रोडकास्ट प्रविधिको विस्तार पनि हो।
प्राधिकरणको योजना सफल भए आगामी मनसुनअघि नेपालले आफ्नै प्राविधिकहरूले विकास गरेको प्रणालीबाट विपदको चेतावनी नागरिकको मोबाइलमा पठाउन सक्नेछ।
सोमबारको परीक्षणमा मोबाइलसम्म सन्देश पुग्न ५ देखि १० सेकेन्ड लागेको छ। यसको वास्तविक सफलता भने कुनै दिन हिमालमा हिमताल विस्फोट हुँदा वा पहाडमा ठूलो बाढी आउँदा त्यसको सूचना तल्लो तटीय क्षेत्रमा रहेका मानिससम्म बाढीभन्दा कति अगाडि पुग्छ र त्यो सूचनाले कति मानिसको ज्यान जोगाउँछ भन्ने कुराले निर्धारण गर्नेछ।
***