निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई अद्यावधिक गरेको छ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात उपलब्ध गराएको थियो।
सोअनुसार आयोगको मंगलबारको बैठकले थापा नेतृत्वको नेपाली कांग्रेस अद्यावधिक गरेको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको सेतोपाटीलाई बताए।
‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट आएको पदाधिकारी र विधान अद्यावधिक गर्ने निर्णय आयोगको हिजोको बैठकले गरिसकेको छ,’ उनले भने।
१५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो।
त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगमा उपलब्ध गराउँदै अद्यावधिकका लागि निवेदन दिएका थिए।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी हेरफेर गरे त्यसको जानकारी दिनुपर्ने व्यवस्था छ। त्यसअनुसार आयोगले दल दर्ता किताबमा पदाधिकारी हेरफेरसँग सम्बन्धित विषय अद्यावधिक गर्ने व्यवस्था छ।