महिना फेरिए, ऋतु फेरिए
वर्ष फेरियो, फेरियो समय पनि
सहर फेरियो, साथी फेरिए
अनि तिम्रो नजरमा फेरिएँ म पनि
फेरिएन केवल तिमीलाई हेर्ने मेरा नजरहरू
तिमी अझै पनि उस्तै छौ मेरो लागि
जस्तो तिमी पहिले हुने गर्थ्यौ
उस्तै छन् तिम्रा ती समुन्द्र झैँ विशाल अनि
शान्त नयनहरू
जहाँ म घण्टौँसम्म हराउन सक्छु
तिम्रा मिठा गफहरूमा म
मन्त्रमुग्ध भएर रमाउन सक्छु
म हुँदा या नहुँदा फरक नपर्ने तिमीलाई
तिमी रिसाउँदा म अझै पनि मेरा बकवास गफले
तिमीलाई हँसाउने कोसिस गर्छु
तिमी फेरियौ, सायद तिम्रो मनबाट म हराएँ
तर म अझै पनि त्यहीँ छु
जहाँ तिमीले मलाई आफ्नै ठानेकी थियौ
तिम्रो लागि म सायद
जिन्दगीको किताबको एउटा सानो अध्याय होला
तर तिमी मेरो लागी अझै पनि
मेरो जीवनीको प्रिय पात्र हौ
अधुरै रहेको एउटा सपना हौ
मलाई तिमीमा सबैभन्दा मन पर्ने
तिम्रा आँखामा हेर्दा
पहिलेको त्यो अपनत्व भेटिँदैन
तिम्रा शब्दहरू उस्तै सुनिए पनि
ती शब्दहरूमा अब मेरो नाम अट्दैन
सायद, हाम्रो सम्बन्धको अर्थ फेरियो
सायद तिमीलाई गुमाउनु
मेरो भाग्यमा लेखिएको थियो
तर तिमीलाई माया गरिरहनु
यो मनले आफैँ रोजेको सजाय थियो।