तपाईंलाई के लाग्छ, संसारमा सबभन्दा धेरै सुन कहाँ प्रयोग भइरहेको होला?
गहना बनाउन, लगानीका रूपमा राख्न वा ठूला देशका केन्द्रीय बैंकले सञ्चित गर्न?
हो, यी सबै सुनका ठूला बजार हुन्।
तर अहिले सुनको अर्को एउटा उपभोक्ता तीव्र गतिमा विस्तार भइरहेको छ— आर्टिफिसियल इन्टेलिजेन्स (एआई)।
एआई चलाउन चाहिने शक्तिशाली चिप, मेमोरी, सर्भर र डेटा सेन्टरका उपकरण बनाउन सुन प्रयोग हुन्छ। विश्वका ठूला प्रविधि कम्पनीले एआई पूर्वाधारमा अर्बौं डलर लगानी गरिरहेका छन्। यसले इलेक्ट्रोनिक्स क्षेत्रमा सुनको माग बढाउन थालेको छ।
एआई विस्तारले सुनको मागमा मात्र प्रभाव पारिरहेको छैन। एआई कम्पनीका सेयर भाउमा ठूलो गिरावट आउँदा केही लगानीकर्ताले घाटा कम गर्न वा नगद जुटाउन आफूसँग भएको सुन पनि बेच्न सक्छन्।
त्यस्तै यसले बिजुलीको माग, वस्तु तथा सेवाको मूल्य र ब्याजदरमा पनि प्रभाव पार्न सक्छ। एआई प्रयोगले खानीबाट सुन निकाल्ने तरिकामा समेत परिवर्तन ल्याउन सक्छ। यी सबै कुराले सुनको मूल्य घटबढ गराउन सक्छन्।
त्यसो भए एआई विस्तारले सुनको बजारमा कस्तो असर पारिरहेको छ त?
सबभन्दा पहिले चिप र डेटा सेन्टरमा सुनको प्रयोग कसरी बढ्दैछ भन्ने बुझौं।
एआईका लागि सामान्य कम्प्युटरभन्दा धेरै शक्तिशाली चिप, मेमोरी र सर्भर चाहिन्छ। यी उपकरणले ठूलो परिमाणमा सूचना छिटो आदानप्रदान गर्नुपर्छ। त्यसका लागि विद्युत सम्पर्क भरपर्दो हुनुपर्छ।
सुन राम्रो विद्युत चालक हो। यसमा सजिलै खिया लाग्दैन र लामो समयसम्म यसको सम्पर्क क्षमता कायम रहन्छ। त्यसैले चिप, कनेक्टर, सर्किट बोर्ड, नेटवर्किङ उपकरण र सर्भरका केही महत्त्वपूर्ण भागमा सुन प्रयोग हुन्छ।
एआई विस्तारसँगै यस्ता उपकरणको उत्पादन बढिरहेको छ। विश्वभर डेटा सेन्टर निर्माण र उच्च क्षमताका चिपको माग बढ्दा सुनको माग र प्रयोगमा पनि त्यसको प्रभाव देखिन थालेको छ।
वर्ल्ड गोल्ड काउन्सिलले नोभेम्बर ३ मा सार्वजनिक गरेको सन् २०२६ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार प्रविधि क्षेत्रमा सुनको माग अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत बढेर ८४ टनभन्दा बढी पुगेको छ। यसमध्ये इलेक्ट्रोनिक्स क्षेत्रमा मात्रै साढे ७२ टन सुन प्रयोग भएको छ। यो सन् २०१७ को चौथो त्रैमासिक यताकै उच्च माग हो।
सन् २०२५ मा विश्वभर प्रविधि क्षेत्रमा ३२३ टन सुन प्रयोग भएको थियो। यो विश्वको वार्षिक सुन मागको करिब ६ देखि ७ प्रतिशत हो।
प्रविधि क्षेत्रमा सुनको माग बढ्नुमा एआई पूर्वाधारमा भइरहेको लगानीले पनि भूमिका खेलेको काउन्सिलको विश्लेषण छ। तर प्रविधि क्षेत्रमा प्रयोग हुने सबै सुन एआईका लागि होइन। मोबाइल, कम्प्युटर, सञ्चार उपकरण र अन्य विद्युतीय सामग्रीमा पनि प्रयोग हुन्छ। एआईका कारण मात्रै कति सुन खपत भइरहेको छ भन्ने छुट्टै तथ्यांक उपलब्ध छैन।
काउन्सिलका वरिष्ठ बजार रणनीतिकार जोसेफ काभाटोनीले एआईसँग सम्बन्धित सुनको प्रत्यक्ष माग समग्र बजारको तुलनामा अझै सानो रहेको बताएका छन्। नयाँ प्रविधि र प्रयोगले भविष्यमा सुनको माग बढाउन सक्ने भए पनि त्यसले मात्रै मूल्य निर्धारण गर्न नसक्ने उनको भनाइ काउन्सिलको प्रतिवेदनमा उल्लेख छ।
सुन महँगिँदै जाँदा उत्पादकले उपकरणमा यसको प्रयोग घटाउँछन्। सुनको तह पातलो बनाउँछन्, कम गर्छन् वा सम्भव भएका ठाउँमा अर्को धातु प्रयोग गर्छन्। विशेषगरी सस्ता उपकरणमा यस्तो प्रवृत्ति देखिएको काउन्सिलले जनाएको छ।
यसरी एआईका कारण सुनको माग बढिरहे पनि महँगो भएकाले त्यसको प्रयोग घटाउने दबाब परिरहेको छ। त्यसैले एआई विस्तार हुँदैमा सुनको माग त्यही अनुपातमा बढ्छ भन्ने छैन।
एआई र सुनको सम्बन्ध चिप र सर्भरमा प्रयोग हुने धातुमा मात्रै सीमित छैन। यसको ठूलो प्रभाव ऊर्जा माग, उत्पादन लागत, मुद्रास्फीति र ब्याजदरमार्फत पनि देखिन सक्छ।
एआई मोडलहरूलाई तालिम दिन र सञ्चालन गर्न डेटा सेन्टरमा हजारौं सर्भर र अन्य उपकरण निरन्तर चलाउनुपर्छ। ती उपकरण चिस्याउन पनि ऊर्जा चाहिन्छ। त्यसैले डेटा सेन्टर सञ्चालनका लागि ठूलो परिमाणमा विद्युत आवश्यक पर्छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को 'इनर्जी एन्ड एआई' प्रतिवेदन अनुसार सन् २०२४ मा विश्वका डेटा सेन्टरले ४१५ टेरावाट आवर बिजुली खपत गरेका थिए। यो विश्वको कुल बिजुली खपतको करिब १.५ प्रतिशत हो। सन् २०३० सम्म डेटा सेन्टरको बिजुली खपत बढेर करिब ९४५ टेरावाट आवर पुग्ने अनुमान एजेन्सीले गरेको छ।
यसमा एआईसँगै अन्य डिजिटल सेवाको विस्तारले पनि योगदान गर्नेछ।
डेटा सेन्टरको संख्या र विद्युत खपत बढ्दै जाँदा ऊर्जा आपूर्ति गर्न थप लगानी चाहिन्छ। माग अनुसार बिजुली आपूर्ति बढ्न नसके यसको मूल्य महँगिन सक्छ। त्यस्तै, डेटा सेन्टर बनाउन चाहिने जग्गा, निर्माण सामग्री र उपकरणको माग बढ्दा लागत बढ्न सक्छ। यी कारणले समग्र अर्थतन्त्रमा मूल्यवृद्धिको दबाब पर्न सक्छ।
मुद्रास्फीति बढ्दा पैसाको क्रयशक्ति घट्ने चिन्ता हुन्छ। यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य जोगाउन सुनमा लगानी बढाउन सक्छन्।
यसरी एआई विस्तारले बिजुली र पूर्वाधारको माग बढाउँदै त्यसको लागत तथा मुद्रास्फीतिमार्फत सुनको मागमा अप्रत्यक्ष प्रभाव पार्न सक्छ।
यसको अर्को पाटो पनि छ।
एआईले उद्योग र सेवा क्षेत्रमा काम छिटो र कम लागतमा गर्न सम्भव बनाउँछ। यसबाट उत्पादन बढ्न र उत्पादन लागत घट्न सक्छ। लामो समयसम्म यस्तो अवस्था रहे मुद्रास्फीति कम हुन सक्छ। मुद्रास्फीति घटे पनि ब्याजदर सोही अनुपातमा नघटे वास्तविक ब्याजदर बढ्न सक्छ। त्यसले सुनको आकर्षण घटाउन सक्छ।
वास्तविक ब्याजदर भनेको मुद्रास्फीति घटाएपछिको ब्याजदर हो। सुन राख्दा ब्याज आम्दानी हुँदैन। तर बैंकको निक्षेप वा ऋणपत्रमा लगानी गर्दा ब्याज पाइन्छ। मुद्रास्फीति घटेको अवस्थामा यस्ता विकल्पबाट राम्रो वास्तविक प्रतिफल पाइने भए लगानीकर्ता सुनभन्दा त्यतैतिर आकर्षित हुन सक्छन्।
त्यसैले वास्तविक ब्याजदर बढ्दा सुनमा आकर्षण घट्ने र घट्दा बढ्ने प्रवृत्ति देखिन्छ।
एआईले मुद्रास्फीति र ब्याजदरमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा केन्द्रीय बैंकहरूको अन्तर्राष्ट्रिय संस्था बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस) ले पनि विश्लेषण गरेको छ।
बिआइएसले यसै वर्ष सार्वजनिक गरेको 'एआई एन्ड द ग्लोबल इकोनोमी : इम्प्लिकेसन्स फर सेन्ट्रल बैंक' शीर्षकको अध्ययन अनुसार एआई विस्तारले डेटा सेन्टर, चिप र डिजिटल पूर्वाधारमा ठूलो लगानी बढाइरहेको छ। यस्तो लगानीले तत्काल आर्थिक गतिविधि र माग बढाउन सक्छ। तर एआईबाट उत्पादकत्व कति बढ्छ र त्यसको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रमा कति फैलिन्छ भन्ने अझै निश्चित छैन।
एआईले एकै पटक माग र आपूर्ति दुवैमा प्रभाव पार्ने अध्ययनले औंल्याएको छ। पूर्वाधारमा ठूलो लगानीले मूल्यवृद्धिको दबाब बढाउन सक्छ भने उत्पादकत्व वृद्धि र उत्पादन क्षमता विस्तारले दीर्घकालमा लागत तथा मुद्रास्फीति घटाउन सक्छ।
यसले मुद्रास्फीति र ब्याजदरको दिशा अनुमान गर्नसमेत कठिन बनाउन सक्ने बिआइएसको निष्कर्ष छ।
त्यस्तै, एआईले सुनको बजारमा पार्ने अर्को प्रभाव लगानीकर्ताको व्यवहारमार्फत देखिन थालेको छ।
सामान्य अवस्थामा सेयर बजारमा अनिश्चितता बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुन्छन्। तर सेयर बजारमा ठूलो घाटा हुँदा उनीहरूलाई तत्काल नगद चाहिन सक्छ। यस्तो अवस्थामा सजिलै बिक्री गर्न सकिने सम्पत्ति बेचेर पैसा जुटाउने प्रवृत्ति देखिन्छ। सुन पनि त्यसबाट अछुतो रहँदैन।
यसको पछिल्लो उदाहरण नोभेम्बर २० को अन्तर्राष्ट्रिय बजार हो। त्यस दिन सुनको मूल्य तीन प्रतिशत घटेर प्रतिऔंस ३५१४.०८ डलरमा झरेको थियो। साताभरमा सुनको मूल्य करिब ९.४ प्रतिशत घट्यो। एआईसँग जोडिएको सेयर बजारको गिरावटका बेला केही लगानीकर्ताले घाटा पूर्ति गर्न सुन बिक्री गरेका रोयर्टसले जनाएको छ।
तर सुन घट्नुको कारण एआईसँग जोडिएको सेयर बजारको गिरावट मात्रै थिएन। अमेरिकी डलर बलियो हुनु, ब्याजदर बढ्ने अपेक्षा र मुद्रास्फीतिको जोखिमले पनि दबाब पारेका थिए। त्यसैले यो घटनालाई एआईका कारण मात्रै सुनको मूल्य घटेको उदाहरणका रूपमा भने बुझ्न हुँदैन।
यसले के देखाउँछ भने, बजारमा तरलताको दबाब पर्दा सुरक्षित मानिने सम्पत्ति पनि बेचिन सक्छ। लगानीकर्ताले घाटा पूर्ति गर्न वा तत्काल नगद जुटाउन सुन बेचे भने छोटो अवधिमा यसको मूल्यमा थप दबाब पर्न सक्छ।
अर्कोतर्फ अमेरिका र चीनबीच एआई प्रविधि तथा उन्नत चिप उत्पादनमा प्रतिस्पर्धा बढ्दो छ। यसले भूराजनीतिक अनिश्चितता थप्न सक्छ। चिपको निर्यात नियन्त्रण, प्रविधिमा पहुँच र आपूर्ति शृंखला सम्बन्धी तनावले विश्व अर्थतन्त्रमा जोखिम बढाउँछन्।
यस्तो अवस्थामा लगानीकर्ताले सुरक्षित सम्पत्ति खोज्न सक्छन्। सुनको माग बढ्ने एउटा कारण यही पनि हुन सक्छ।
वर्ल्ड गोल्ड काउन्सिलको प्रतिवेदन अनुसार वरिष्ठ बजार रणनीतिकार काभाटोनीले आफ्नो विश्लेषणमा एआईको प्रभावलाई चार क्षेत्रमा बाँडेका छन्— ऊर्जा र मुद्रास्फीति, उत्पादकत्व र ब्याजदर, भूराजनीतिक अनिश्चितता तथा खानी उत्पादन।
उनका अनुसार एआई विस्तारले यी सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। यीमध्ये केही प्रभाव सुनका लागि सकारात्मक हुन सक्छन् भने केही नकारात्मक। कुन प्रभाव बलियो हुन्छ भन्ने कुरा समय र आर्थिक अवस्थाले निर्धारण गर्नेछ।
त्यस्तै, एआईले सुनको माग मात्रै होइन, यसको आपूर्तिमा पनि प्रभाव पार्न सक्छ। कम्पनीहरूले नयाँ खानी खोज्न, खनिजको सम्भावित मात्रा अनुमान गर्न र उत्पादन प्रक्रिया सुधार्न एआई प्रयोग गर्न थालेका छन्।
नयाँ खानी खोज्दा ठूलो क्षेत्रको भूगर्भीय तथ्यांक विश्लेषण गर्नुपर्छ। एआईले यस्ता तथ्यांक छिटो विश्लेषण गरेर सुन पाइने सम्भावित क्षेत्र पहिचानमा सघाउन सक्छ। खानी सञ्चालनमा उपकरण बिग्रनुअघि सम्भावित समस्या अनुमान गर्ने र उत्पादन प्रक्रिया सुधार्ने काममा पनि यसको प्रयोग हुन सक्छ।
यसको एउटा उदाहरण ब्यारिक माइनिङ हो।
यो कम्पनीले सन् २०२६ मा उत्तर अमेरिकाका खानी सञ्चालनमा एआई प्रविधि विस्तार गर्न अमेरिकी कम्पनी अवाथोनसँग साझेदारी गरेको थियो। कम्पनीले खानी अन्वेषण, योजना, उत्पादन, प्रशोधन, मर्मत र आपूर्ति व्यवस्थापनसम्म एआई प्रयोग गर्ने भनेको छ।
यस्तो प्रविधिले दीर्घकालमा उत्पादन लागत घटाउन र खानी सञ्चालनलाई प्रभावकारी बनाउन सक्छ।
एआईले नयाँ सुनको भण्डार भने सिर्जना गर्दैन। खानीको भौगोलिक अवस्था, अनुमति प्रक्रिया, लगानी र पूर्वाधारजस्ता पक्षले उत्पादनको सीमा निर्धारण गर्छ। त्यसैले एआईका कारण सुनको आपूर्ति तत्कालै ठूलो परिमाणमा बढ्छ भन्ने सोच्न मिल्दैन।
यसरी हेर्दा एआई विस्तारले सुनको माग र आपूर्ति दुवै पक्षमा प्रभाव पार्न सक्छ।
एकातिर चिप, सर्भर र अन्य विद्युतीय उपकरणको उत्पादन बढ्दा सुनको औद्योगिक माग थपिन सक्छ। अर्कोतिर, खानीमा एआई प्रयोगले उत्पादन लागत घटाउन र आपूर्ति प्रक्रिया प्रभावकारी बनाउन सक्छ। त्यस्तै, उत्पादकत्व वृद्धि, ब्याजदरमा आउने परिवर्तन र लगानीकर्ताको व्यवहारले पनि सुनको माग तथा मूल्यलाई प्रभावित गर्न सक्छन्।
त्यसैले एआईले सुनको मूल्यलाई एउटै दिशामा लैजाने छैन।
अब सुनको बजार बुझ्न एआई उद्योगले कति सुन खपत गर्छ भन्ने मात्रै हेरेर पुग्दैन। वास्तविक ब्याजदर, अमेरिकी डलर, लगानीकर्ताको व्यवहार र केन्द्रीय बैंकको खरिदजस्ता पक्षमा एआई विस्तारले पार्ने प्रभाव पनि हेर्नुपर्नेछ।
सुनको बजारमा एआईको प्रभाव प्रत्यक्ष औद्योगिक मागभन्दा पनि यस्ता अप्रत्यक्ष माध्यमबाट बढी देखिन सक्छ।
***