जाडो बढ्दै जाँदा पुराना लुगाहरू कसिलो हुन थालेको वा तौल बढेको महसुस गर्नुभएको छ?
संसारका विभिन्न देशमा भएका वैज्ञानिक अध्ययनहरूले पनि मौसम अनुसार मानिसको खानपान, शारीरिक गतिविधि, निद्रा र तौलमा परिवर्तन आउने देखाएका छन्।
जाडो लाग्दैमा सबैको तौल बढ्छ भन्ने होइन। तर चिसो मौसममा खानेकुराको मात्रा बढ्ने र शारीरिक गतिविधि घट्ने हुँदा तौल बढ्ने सम्भावना हुन्छ।
चिसोबाट बच्न घरभित्रै बस्ने, घाम तापेर समय बिताउने र बिहानको हिँडाइ तथा व्यायाम छाड्ने बानीले पनि यसमा भूमिका खेल्छ।
जाडोमा तौल बढ्ने सम्भावना किन बढी हुन्छ त?
शारीरिक गतिविधि घट्छ
जाडोमा चिसोका कारण बिहान हिँड्न, दौडिन र व्यायाम गर्न अल्छी लाग्छ। घर वा कार्यालयभित्रै लामो समय बिताउने बानी बढ्छ।
बिहान हिँड्ने बानी भएका कतिपय मानिसले जाडोमा नियमित हिँडाइ छाड्छन्। घाम तापेर बस्ने समय बढ्न सक्छ।
यसले शरीरले खर्च गर्ने ऊर्जा घटाउँछ। तर खानेकुराको मात्रा उस्तै रह्यो भने शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा पुग्छ। यस्तो अतिरिक्त ऊर्जा शरीरमा बोसोका रूपमा जम्मा हुन सक्छ।
सन् १९९६ मा अमेरिकन जर्नल अफ ह्युमन बायोलोजीमा प्रकाशित क्याथरिन प्यान्टर-ब्रिकको अध्ययन नेपालकै ग्रामीण कृषक समुदायमा गरिएको थियो।
अध्ययनले मानिसको शारीरिक गतिविधि र तौलमा मौसम अनुसार परिवर्तन आउने देखाएको थियो। मौसमी कामको बोझ र त्यसमा खर्च हुने ऊर्जाले पनि तौलमा प्रभाव पार्ने अध्ययनको निष्कर्ष थियो।
खानेकुराको मात्रा बढ्छ
जाडोमा तातो र पेट भरिने खानेकुरा खान मन लाग्छ। चिया वा कफीसँग बिस्कुट, पाउरोटी, मिठाई, केक र अन्य खाजा खाने चलन पनि बढ्न सक्छ।
यस्ता खानेकुरामा चिनी, तेल र अन्य क्यालोरीको मात्रा बढी हुन सक्छ।
हामीकहाँ मकै, भटमास, तरूल, पिँडालु, आलु र चिउराजस्ता खानेकुरा जाडोमा बढी खाइन्छन्। यी सबै अस्वस्थ खानेकुरा होइनन्। तर आवश्यकताभन्दा बढी खाँदा शरीरमा अतिरिक्त क्यालोरी पुग्छ।
सन् २०२३ मा फ्रन्टियर्स इन न्युट्रिसनमा प्रकाशित विभिन्न अध्ययनको समीक्षाले पनि जाडो र वसन्तमा मानिसले गर्मीको तुलनामा बढी खाने प्रवृत्ति देखाएको छ।
नेपालमा जाडोयाममा विवाह, भोजभतेर, पारिवारिक जमघट र अन्य सामाजिक समारोह पनि धेरै हुन्छन्। यस्ता अवसरमा पनि सामान्य दिनभन्दा बढी खाना खाने सम्भावना हुन्छ।
घाम कम लाग्दा मानसिक अवस्थामा परिवर्तन आउँछ
जाडोमा दिन छोटो हुन्छ र घाम लाग्ने समय पनि घट्छ। चिसो र बादल लागेको मौसममा घरभित्रै बस्नुपर्ने अवस्था आउन सक्छ।
यसले केही मानिसमा उदासी, थकान र काम गर्ने जाँगर कम हुने समस्या ल्याउन सक्छ।
जाडोयाममा देखिने यस्तो मौसमी डिप्रेसनलाई चिकित्सकीय भाषामा सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) भनिन्छ। यसबाट प्रभावित व्यक्तिमा धेरै सुत्ने, बढी खाने र तौल बढ्ने लक्षण देखिन सक्छन्।
तर जाडोमा तौल बढ्ने सबै मानिसमा यस्तो समस्या हुन्छ भन्ने होइन। सामान्य मौसमी परिवर्तन र चिकित्सकीय रूपमा देखिने उदासी फरक कुरा हुन्।
निद्रा र दैनिक तालिका बदलिन्छ
जाडोमा बिहान ढिलो उज्यालो हुने र साँझ छिटो अँध्यारो हुने भएकाले मानिसको सुत्ने र उठ्ने समय बदलिन सक्छ। चिसोका कारण बिहान ढिलो उठ्ने र शारीरिक गतिविधि घट्ने पनि हुन सक्छ।
निद्रा अनियमित हुँदा भोक नियन्त्रण गर्ने हर्मोन प्रभावित हुन सक्छन्। यसले बढी खाने र खानपान नियन्त्रण गर्न कठिन बनाउँछ।
तौल नियन्त्रण गर्न के गर्न सकिन्छ?
जाडो छ भन्दैमा नियमित व्यायाम छाड्नु हुँदैन। बिहान अत्यधिक चिसो भए दिउँसो घाम लागेको समयमा हिँड्न सकिन्छ।
घरभित्रै योग, नाच्ने वा सामान्य शारीरिक अभ्यास गर्न सकिन्छ। गाउँघरमा खेतबारीको काम, घाँसदाउरा र अन्य दैनिक गतिविधिलाई पनि निरन्तरता दिनुपर्छ।
विश्व स्वास्थ्य संगठनले वयस्कलाई हप्तामा कम्तीमा १५० देखि ३०० मिनेट मध्यम खालको शारीरिक गतिविधि गर्न सुझाव दिएको छ।
जाडोमा भोक बढी लागे पनि आवश्यकताभन्दा बढी खाना खानु हुँदैन। भात, रोटी, आलु, तरूल र पिँडालु खान सकिन्छ, तर मात्रा मिलाउनुपर्छ। दाल, गेडागुडी, सागसब्जी र फलफूल पनि खानामा समावेश गर्नुपर्छ।
नेपाली खानपानमा उपलब्ध स्थानीय खाद्यवस्तुबाटै सन्तुलित आहार बनाउन सकिन्छ।
चिया र खाजाको बानीमा पनि ध्यान दिनुपर्छ। चिनी कम गर्ने, बिस्कुट र मिठाईको मात्रा घटाउने तथा भोक लाग्दा फलफूल, भुटेको चना वा थोरै बदाम खानुपर्छ।
विवाह, भोज र पारिवारिक जमघटमा पनि खानेकुराको मात्रा नियन्त्रण गर्नुपर्छ। सबै परिकार चाख्न खोज्दा आवश्यकताभन्दा बढी खाना खाइन्छ। आफूलाई चाहिने मात्रामा खाना लिने र पटक पटक थप्ने बानी घटाउनुपर्छ।
हरेक दिन सकेसम्म एउटै समयमा सुत्ने र उठ्ने गर्नुपर्छ। बिहान घाम लाग्दा केही समय बाहिर बस्ने र दिनभर सक्रिय रहने बानीले शारीरिक तथा मानसिक स्वास्थ्यमा मद्दत गर्छ।
पर्याप्त निद्रा र नियमित दिनचर्याले खानपान नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ।
जाडो सुरू भएपछि र त्यसबीचमा पनि समय–समयमा तौल जाँच गर्नुपर्छ। केही हप्तामै तौल निरन्तर बढिरहेको छ भने खानपान र शारीरिक गतिविधिको समीक्षा गर्नुपर्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)