आजभन्दा ठिक ६६ वर्षअघि क्यारेबियन सागरको एउटा देश डोमिनिकन रिपब्लिकमा तीन दिदीबहिनीको सडक दुर्घटनामा मृत्यु भएको खबर सार्वजनिक भयो।
उनीहरू सवार गाडी भीरबाट खसेको थियो।
मृत्यु हुने तीनै जना विवाहित थिए। तीनै जना आमा थिए। तीनै जना आफ्नो देशका तत्कालीन शासक राफेल ट्रुहियोको अधिनायकवादी शासनविरूद्ध सक्रिय थिए।
उनीहरूको मृत्यु भएको दिन थियो– सन् १९६० नोभेम्बर २५।
त्यो वास्तवमा दुर्घटना थिएन। दुर्घटनाको रूप दिइएको राजनीतिक हत्या थियो। उनीहरूको हत्या गर्न आदेश दिने व्यक्ति थिए, स्वयं शासक ट्रुहियो।
त्यो हत्याले डोमिनिकन रिपब्लिकको राजनीतिक इतिहास मात्र बदलेन, संसारभर महिलामाथि हुने हिंसाविरूद्धको आन्दोलनलाई एउटा साझा प्रतीक पनि दियो।
आज नेपालसहित संसारभर महिलामाथिको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। आजैदेखि लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू हुँदै छ।
हरेक वर्ष नोभेम्बर २५ मै यो दिवस किन मनाइन्छ? किन यही दिनबाट महिलामाथि हुने हिंसाविरूद्ध विश्वव्यापी अभियान सुरू हुन्छ?
यसको जबाफ तिनै तीन दिदीबहिनीको जीवन र संघर्षसँग जोडिएको छ।
उनीहरू थिए– पात्रिया मिराबाल, मिनर्भा मिराबाल र मारिया तेरेसा मिराबाल।
डोमिनिकन रिपब्लिकको साल्सेडो प्रान्तस्थित ओहो दे आगुआ भन्ने ठाउँमा उनीहरू जन्मेका थिए। पात्रिया सन् १९२४ मा, मिनर्भा सन् १९२६ मा र मारिया तेरेसा सन् १९३५ मा।
उनीहरू वास्तवमा चार दिदीबहिनी थिए। अर्की थिइन्– देदे मिराबाल। उनी पात्रियाभन्दा एक वर्ष कान्छी र मिनर्भाभन्दा एक वर्ष जेठी थिइन्।
उनीहरूका आमाबुबा खेतीपाती र व्यापार गर्थे। परिवार आर्थिक रूपमा सम्पन्न थियो। कफी प्रशोधन गर्ने मिल र पसल पनि थियो। छोरीहरूले पढ्ने अवसर पाएका थिए।
उनीहरूको बाल्यकाल भने डोमिनिकन रिपब्लिकको इतिहासकै एउटा कठोर राजनीतिक कालखण्डमा बित्यो। सन् १९३० मा सैनिक पृष्ठभूमिका राफेल ट्रुहियो सत्तामा आएका थिए। त्यसपछिका तीन दशक उनले देशको शासन आफ्नो नियन्त्रणमा राखे।
उनको शासनकालमा सरकारको विरोध गर्नु जोखिमपूर्ण थियो। राजनीतिक विरोधीहरूलाई जेल हालिन्थ्यो। यातना दिइन्थ्यो। हत्या गरिन्थ्यो।
त्यही वातावरणमा हुर्केका मिराबाल दिदीबहिनीमध्ये राजनीतिक रूपमा सबभन्दा सक्रिय थिइन् मिनर्भा।
राजधानी सान्तो दोमिङ्गोमा कानुन पढेकी मिनर्भाको विश्वविद्यालयमा मानोलो ताभारेस हुस्तोसँग चिनजान भयो। उनी पनि ट्रुहियोविरोधी अभियन्ता थिए। उनीहरूले सन् १९५५ मा विवाह गरे।
बिस्तारै पात्रिया र मारिया तेरेसा पनि आफ्ना श्रीमानसहित ट्रुहियोविरोधी आन्दोलनमा जोडिए।
सन् १९५९ जुन १४ मा ट्रुहियोको सत्ता ढाल्ने उद्देश्यले निर्वासनमा रहेका डोमिनिकन नागरिकहरूले सशस्त्र विद्रोहको प्रयास गरेका थिए। त्यो प्रयास असफल भयो। त्यसपछि देशभित्रै ट्रुहियोविरोधी भूमिगत राजनीतिक संगठन निर्माणको काम अघि बढ्यो।
असफल विद्रोहको सम्झनामा संगठनको नाम राखियो– जुन १४ आन्दोलन।
त्यो संगठन निर्माणमा मिराबाल दिदीबहिनीको महत्त्वपूर्ण भूमिका थियो।
भूमिगत राजनीतिक गतिविधिमा संलग्न हुँदा उनीहरू आफ्नो वास्तविक नामको सट्टा सांकेतिक नाम प्रयोग गर्थे। उनीहरू 'लास मारिपोसास' का रूपमा चिनिन थाले।
स्पेनिस भाषामा यसको अर्थ हुन्छ– पुतलीहरू।
त्यही बेला ट्रुहियोको शासनविरूद्ध अन्तर्राष्ट्रिय दबाब बढ्दै गयो। देशभित्र पनि राजनीतिक असन्तुष्टि बढ्दो थियो। ट्रुहियोले आफ्ना राजनीतिक विरोधीहरूमाथि दमन झन् तीव्र पारेका थिए।
सन् १९६० मा मिनर्भा र मारिया तेरेसा पक्राउ परे। उनीहरू पछि जेलबाट छुटे पनि उनीहरूका श्रीमान जेलमै थिए।
तीन दिदीबहिनीले आफ्नो राजनीतिक गतिविधि भने छाडेका थिएनन्।
सन् १९६० नोभेम्बर २५ मा तीनै जना दिदीबहिनी जेलमा रहेका मिनर्भा र मारिया तेरेसाका श्रीमानलाई भेट्न गएका थिए।
त्यसै दिन उनीहरूको हत्या गरियो। उनीहरूका गाडी चालक रूफिनो दे ला क्रुजको पनि हत्या भयो। घटनालाई सडक दुर्घटनाका रूपमा प्रस्तुत गरियो। तर ट्रुहियोको शासनमा भएका अनेकौं राजनीतिक हत्यामध्ये त्यो एउटा अर्को हत्यामा सीमित रहेन। तीन महिलाको हत्याले देशभित्र ठूलो आक्रोश जन्मायो। यसले ट्रुहियोविरोधी आन्दोलनलाई थप बल पुर्यायो।
ट्रुहियो आफैले भने त्यसपछि लामो समय शासन गर्न पाएनन्।
मिराबाल दिदीबहिनीको हत्या भएको करिब ६ महिनापछि सन् १९६१ मे ३० मा ट्रुहियोको पनि हत्या भयो। उनको तीन दशक लामो शासन अन्त्य भयो।
ट्रुहियोको मृत्युसँगै डोमिनिकन रिपब्लिकमा तत्काल लोकतन्त्र स्थापना भने भएन। देशले त्यसका लागि अझै लामो राजनीतिक संघर्ष गर्नुपर्यो।
यता तीन दिदीबहिनीको मृत्युपछि उनीहरूको परिवारमा अर्को संघर्ष सुरू भएको थियो। त्यो संघर्षको नेतृत्व गरेकी थिइन्– हत्याबाट जोगिएकी देदेले।
चार दिदीबहिनीमध्ये एक देदे मिराबाल। यो तस्बिर मिराबाल संग्रहालयमा खिचिएको हो।
देदे आफ्ना दिदीबहिनी जस्तो भूमिगत राजनीतिक गतिविधिमा प्रत्यक्ष सक्रिय थिइनन्। तीन दिदीबहिनीको हत्यापछि उनले आफ्ना सन्तानसँगै उनीहरूका सन्तान हुर्काउने जिम्मेवारी लिइन्। आफ्ना दिदीबहिनीको कथा जीवित राख्न पनि उनले जीवनको लामो समय खर्च गरिन्।
आफ्नी आमासँग मिलेर उनले दिदीबहिनीका किताब, लुगाफाटा, फर्निचर र व्यक्तिगत सामान जोगाएर राखिन्। उनीहरूको जीवन र राजनीतिक संघर्षबारे जान्न घरमा आउने मानिसहरूलाई उनले दिदीबहिनीका कथा सुनाउँथिन्।
तीन दिदीबहिनीले जीवनका अन्तिम महिनाहरू बिताएको घरलाई पछि संग्रहालयमा परिणत गरियो।
सन् १९९४ मा त्यसले औपचारिक रूपमा संग्रहालयको मान्यता पायो। अहिले पनि त्यहाँ पुग्ने मानिसहरूले ती दिदीबहिनीका व्यक्तिगत सामान हेर्न पाउँछन्। त्यो घर डोमिनिकन रिपब्लिकमा अधिनायकवादी शासनविरूद्ध महिलाहरूले गरेको संघर्षको ऐतिहासिक स्मारक बनेको छ।
देदेको सन् २०१४ मा ८८ वर्षको उमेरमा निधन भयो।
उनीहरू जन्मेको साल्सेडो प्रान्तको नामसमेत सन् २००७ मा परिवर्तन गरेर 'हर्मानास मिराबाल' राखिएको छ। यसको अर्थ हो– मिराबाल दिदीबहिनी।
मिराबाल दिदीबहिनीको कथा डोमिनिकन रिपब्लिकको सीमाभित्र मात्र रहेन। उनीहरूको हत्या भएको २१ वर्षपछि सन् १९८१ मा कोलम्बियाको राजधानी बोगोटामा ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका महिला अधिकार अभियन्ताहरूको पहिलो क्षेत्रीय नारीवादी सम्मेलन भयो।
त्यही सम्मेलनमा महिला अधिकार अभियन्ताहरूले मिराबाल दिदीबहिनीको सम्झनामा हरेक वर्ष नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरूद्धको दिवसका रूपमा मनाउने निर्णय गरे।
एउटा देशको अधिनायकवादी शासनविरूद्ध लडेका तीन महिलाको संघर्ष यसरी संसारभरका महिलाहरूले भोग्दै आएको हिंसाविरूद्धको आन्दोलनसँग जोडियो।
त्यसको दस वर्षपछि सन् १९९१ मा महिला अधिकार अभियन्ताहरूले अर्को अभियान सुरू गरे। उनीहरूले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लगातार १६ दिन महिलामाथि हुने हिंसाविरूद्ध विभिन्न कार्यक्रम गर्ने निधो गरे।
डिसेम्बर १० लाई अभियानको अन्तिम दिन बनाउनुको पनि खास अर्थ थियो।
सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गरेको थियो। त्यसैको सम्झनामा हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ।
महिलामाथि हुने हिंसाविरूद्धको दिवस र मानव अधिकार दिवसलाई जोडेर अभियान सञ्चालन गर्नुको उद्देश्य थियो– महिलामाथि हुने हिंसा मानव अधिकारको उल्लंघन हो भन्ने स्थापित गर्नु।
अहिले नेपालमा पनि सञ्चालन हुँदै आएको लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानको सुरूआत यसरी भएको हो।
त्यसको आठ वर्षपछि सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले एउटा प्रस्ताव पारित गर्यो।
५४/१३४ नम्बरको उक्त प्रस्तावमार्फत महासभाले हरेक वर्ष नोभेम्बर २५ लाई महिलामाथिको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने औपचारिक निर्णय गर्यो।
तीन दिदीबहिनीको हत्या भएको ३९ वर्षपछि त्यो दिनले अन्तर्राष्ट्रिय दिवसको मान्यता पायो।
आज त्यो हत्याको ६६ वर्ष बितिसक्दा पनि महिलामाथि हुने हिंसाको अवस्था कस्तो छ त?
विश्व स्वास्थ्य संगठनले सन् २०२५ नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार संसारभर करिब ८४ करोड महिलाले आफ्नो जीवनकालमा आफ्ना पति वा अन्तरंग साथीबाट हिंसा वा यौन हिंसा भोगेका छन्। यो भनेको संसारका लगभग हरेक तीन महिलामध्ये एक जना हो।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००० यता यो अनुपातमा खासै परिवर्तन आएको छैन।
नेपालको अवस्था पनि फरक छैन। सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरयता कुनै न कुनै समयमा शारीरिक हिंसा भोगेका छन्। त्यही उमेर समूहका आठ प्रतिशत महिलाले यौन हिंसा भोगेका छन्।
डोमिनिकन रिपब्लिकका ती तीन दिदीबहिनी आफूमाथि हुन सक्ने हिंसाको पर्वाह नगरी आफ्नो देशका नागरिकहरूको अधिकारका लागि लडेका थिए। आज संसारभरका महिला हिंसारहित जीवन बाँच्न पाउने आफ्नो अधिकारका लागि उनीहरू मारिएको दिनलाई संघर्षको दिनका रूपमा मनाउँछन्।
ट्रुहियोले ती तीन दिदीबहिनीको आवाज दबाउन उनीहरूको हत्या गरेका थिए। ६६ वर्षपछि पनि संसारले हरेक वर्ष उनीहरूको सम्झनामा आवाज उठाइरहेको छ।
***