कुर्सीका मालिकहरूलाई
स्वागतका तालीहरूको चाकरी
परापूर्वदेखि बज्दथ्यो
जयजयकारहरू गुन्जिन्थे।
कुर्सीहरू जादु गरेर निस्कँदैन
कुर्सीका इतिहास आफै बाङ्गोटिङ्गो हुन्छ
त्यहाँ धूलोहरू हुन्छन्
रगतका डोबहरू छन्
सहिदका चित्कार र बारुदको गन्धहरू छन्
अनि
कमजोरीहरू पनि बग्रेल्ती छन्
पाना पल्टाउने साहस गर
सच्याउनुपर्ने ठाउँमा सच्याऊ
मिलाउनु पर्ने पानाहरू मिलाऊ
तर कुर्सीको मातमा पानाहरू च्यातेर
आफ्नो गाथा नलेख।
भीडले तिमीलाई उचाल्दा
आफ्नो उचाइ नसम्झनु
तल हेर्न पनि नभुल्नु
तिमीमुनि धेरै काँधहरू छन्
ती थाक्न सक्छन्
प्रशंसाको तालीको बिचमा
असहमत स्वरहरू सुन्न खोज्नु
उसको स्वर रोक्नु अघि
आफूलाई रोकेर हेर्नु
सायद उसले तिम्रा आँखाले नदेखेको
खाल्डो देखेको पनि हुन सक्छ।
बोल्ने मुखहरू बन्द भएपछि
सभा शान्त त देखिन्छ
तर त्यो बनावटी शान्तिमा
तिमीले आफ्नै प्रतिध्वनिलाई
जनताको आवाज ठान्न सक्छौँ
कुर्सीको छाया लामो हुँदै जाँदा
तिमीले साँझ परेको बिर्सन सक्छौँ
र तिमीलाई लाग्ला
देश मेरै छायामा अडिएको छ।
एक दिन पक्कै
तिम्रो नामको पाटी निकालिनेछ
र अर्को नाम टाँसिनेछ
तर कुर्सीले
कुनै शोक मनाउने छैन
देश
कुनै एक मानिसको आत्मकथा होइन
तिमीले समातेको पानामा
सयौँ वर्ष पहिले लेखिएका अक्षर पनि छन्
तिमी पछि लेख्न बाँकी ठाउँ पनि छन्
त्यसैले आफ्नो भाग लेख
कम जोस र धेरै होस पुर्याएर।