खत्र्याक्क गेट खुलेको आवाज आयो। भारी रुकस्याक भिरेको एउटा मानिस भित्र छिर्यो। उसको हिँडाइको चालले लाग्थ्यो, ऊ बेचैन अनि लखतरान छ।
उसले आश्रमको फलैँचामा झोला बिसायो र यताउता हेर्यो। चारै दिशा घुमेका उसका आँखा आफ्नै खुट्टामा स्थिर भए। उसको एउटा जुत्ताको तुना खुला थियो। ऊ त्यहीँ फलैँचाको छेउमा अडेस लाग्यो र झुकेर जुत्ताको तुना मिलायो।
पहाडको ठाउँ अनि मन्द बतास। सल्लाका पातहरू हुँदै बहेको चिसो हावाको स्याँठ आँगन हुँदै गुज्रियो। उसले फुस्किसकेको ज्याकेटको चेन मिलाउने प्रयास गर्यो र हावाको झोक्कासँग पराजित आफ्नो जिङ्गरिङ्ग परेको कपाललाई हातले मिलायो।
'कृपया, भित्र आउनुहोस्।' फलैँचा छेउको सानो स्पिकरमा मधुरो आवाज गुन्जियो। झोला त्यहीँ छाडेर ऊ छेउको मुख्य भवनको ढोकाबाट भित्र पस्यो।
यी सबै कुरा मैले हेरिरहेँ। फलैँचाको पूर्वपट्टिको भवनको बार्दलीमा म बसेकी थिएँ। सम्भवतः उसले मलाई देखेन। देखेको भए पनि नचिनेको मानिस, उसले वास्ता गरेन।
सायद, म पनि यो ठाउँमा आउँदा यस्तै अवस्थामा थिएँ होला— थकित शरीर, बेपर्वाह शैली अनि विचलित मन। मैले लावारिस बनेको उसको झोला हेरिरहेँ। कुनै ब्रान्डेड कम्पनीको जस्तो देखिने त्यो झोला धुलोले लगभग ढाकिएको थियो। स्पिकरमा सन्ध्याकालीन योग र आरतीको समय जनाउने घण्टी बज्यो। म खुला केशलाई केही मिलाएर मुख्य हलतर्फ लागेँ।
आश्रममा प्रत्येक बेलुका श्वासप्रश्वाससम्बन्धी क्रिया गराइन्थ्यो। महिना दिनभन्दा बढी अवधि आश्रममा अभ्यास गरेको साधकलाई सहजकर्ता साधक भनिन्छ। मैले नै त्यो क्रिया गराएँ। अभ्यासपश्चात् परमात्मामा धन्यवाद ज्ञापनको चरणमा हलको पछाडिको ढोकाबाट ऊ भित्र छिर्यो र अप्ठ्यारो मान्दै छेउको म्याटमा बस्यो।
मैले उसलाई नियालेर हेरेँ। ऊ भर्खरै नुहाएर आएको थियो। उसको शरीर र मन स्थिर थिएन। ऊ छेउछाउका साधकहरूलाई घरीघरी अचम्मको नजरले हेरिरहेको थियो। हामीले सन्ध्या आरती गर्यौँ। उसलाई एकाग्र हुन अप्ठेरो परिरहेको देखिन्थ्यो। आरती सकिनेबित्तिकै ऊ सबैभन्दा पहिले हलबाट बाहिरियो।
साँझको खाना खिचडी, बेथुको साग र हरियो मेवाको सलाद थियो। भान्साको पछाडिपट्टिको बेञ्चमा प्लेटमा अलिकति खानेकुरा लिएर ऊ बसिरहेको थियो। ऊ प्लेटमा चम्चा घुमाइरहन्थ्यो तर खाना खान सकिरहेको थिएन।
उसका औँलाहरू काँपिरहेका थिए। केही मिनेट उसले खाना खेलायो र प्लेट त्यसै छाडेर बाहिर निस्कियो। उसको प्लेट मैले सफा गरिदिएँ। आफ्नो सबै काम आफैँ गर्नुपर्ने नियम भए पनि आश्रममा सुरुको एक साता कठोर नियम लागू हुँदैन।
आश्रममा सबै काम स्वेच्छिक श्रम हो। खाना व्यवस्थापन टोलीलाई सहयोग गरेर म आफ्नै कोठातर्फ जाँदै थिएँ। उसको कोठा मेरो कोठा जाने बाटोको छेउमै रहेछ। ऊ आफ्नो ओछ्यानमा हातले अनुहार छोपेर बसिरहेको थियो।
आश्रम व्यवस्थापनले उसको अवस्था हेरेर दुई जना सहजकर्ता साधकको ओछ्यान उसको कोठाअगाडि सारिदिएको रहेछ। त्यो देखेपछि मलाई याद आयो, 'सुरुको पहिलो हप्ता मेरो कोठाबाहिर पनि दुई जना साधकहरू सुत्ने गर्थे।'
राति तल्लो तलामा कोही पुरुष बेस्सरी खोकेको आवाज आयो। लगत्तै मेरो कोठाको स्पिकरमा कोठा नं. १०२ बाट स्वास्थ्य सहायताका लागि अनुरोध गरिएको सन्देश आयो। उसको रक्तचाप केही न्यून देखिएको थियो। हातखुट्टा एकदम चिसो थिए भने टाउको बेस्सरी तातेको थियो। स्वयंसेवी साधकहरू उसको अवस्था देखेर चिन्तित थिए।
हामीले उसलाई एसी भएको कोठामा लग्यौँ। मैले केही सामान्य औषधि दिएँ भने अन्य साधकहरूले उसका हातखुट्टा र टाउकोमा मालिस गरिदिए। उसको अवस्थामा क्रमिक सुधार देखियो, उसले खोक्न छाड्यो। उसले मेरो अनुहारमा पुलुक्क हेर्यो, म मुस्कुराएँ। ऊ उदास अनुहारका साथ कोल्टे फर्कियो, 'सायद उसको ओठमा हाँसो हराएको धेरै भइसकेको थियो।'
ब्रह्ममुहूर्तको अलार्म बज्यो। हामी सबै योग एवं ध्यानका लागि हलतर्फ लाग्यौँ। सधैँझैँ हामीले ध्यानको सुरुवात प्राणायामबाट गर्यौँ। सबैजना मन्त्रध्यानका लागि तयारी गर्दै गर्दा मैले हलमा नजर डुलाएँ। उसलाई साधकहरूले अगाडिकै लाइनमा राख्नुभएको रहेछ। ऊ चुपचाप टाउको झुकाएर बसिरहेको थियो।
ब्रह्ममुहूर्तको अभ्यास सकिएपछि हामी भान्साकोठामा प्रवेश गर्यौँ। म हर्बल चिया लिनका लागि लाइनमा उभिएकी थिएँ। कागतीपानीको लाइनबाट गिलास खसेको आवाज आयो। गिलास उसकै हातबाट छुटेर खसेको रहेछ। तातोपानीले उसको खुट्टा पोलेको थियो।
मैले उसलाई प्राथमिक उपचार कक्षमा लगेँ। जलनले खुट्टामा फोका उठेको थियो। घाउमा मलम लगाउँदा उसका हातखुट्टा अझै पनि काँपिरहेका थिए। चोट सामान्य नै भए पनि ऊ धेरै आत्तिएको थियो।
त्यसपछि हामी शारीरिक व्यायाम र डाइनामिक मेडिटेसनका लागि हलमा प्रवेश गर्यौँ। सामान्यतया मेडिटेसनको दोस्रो चरणमा नयाँ साधकहरूमा अनौठो व्यवहार देखिने गरे तापनि आज चौथो चरणमा अगाडिकै लाइनबाट कसैले मुख छोपेर रोएको आवाज आयो।
नयाँ साधक मुख छोपेर रोइरहेको थियो। सहजकर्ता साधकले उसलाई मुखबाट हात हटाउन लगाए। ऊ केही मिनेट रोइरह्यो अनि त्यहीँ म्याटमा ढल्यो। हामीले उसलाई प्राथमिक उपचार कक्षमा लग्यौँ।
भोलिपल्ट, ब्रेकफास्टको समयमा मैले उसको प्लेटमा नजर पुर्याएँ। उमारेका गेडागुडी र फलफूलका केही टुक्रा मात्र लिएर ऊ भान्साको एक कुनामा बसेको थियो। ऊ प्लेटको खानेकुरा खानुको सट्टा पटक-पटक पानी मात्र थपिरहेको थियो, उसको ध्यान खानाभन्दा अन्यत्रै अल्झिएको थियो।
सुरुको दुई-तीन दिन ऊ लगभग एक्लै बस्यो। त्यहाँ आपसी कुराकानी वर्जित भएकाले अरूसँग गफगाफ हुने कुरै भएन। योग एवं ध्यानमा ऊ निकै दबाब र छटपटीका साथ अडेको प्रस्टै देखिन्थ्यो। आश्रम व्यवस्थापनले उसलाई निकै ख्याल गरेको देखिन्थ्यो।
तर, दोस्रो हप्ताबाट उसमा क्रमशः परिवर्तन देखिन थाल्यो। ऊ नियमित योग साधना गर्न थाल्यो, सफा कपडा लगाउन थाल्यो अनि अरू साधकहरूलाई देख्दा मुस्कुराउन पनि थाल्यो। आश्रमका विभिन्न काममा सहयोग गर्नसमेत ऊ तत्पर देखिन थाल्यो। नयाँ साधकहरूलाई भान्सामा सिकाउने, भान्सा सफा गर्ने ऊ अग्रसर देखिन्थ्यो।
सुरुमा खाना खानै नसक्ने मानिस अब भने आफ्नो प्लेटमा खाना थप्न थाल्यो। खाइसकेपछि आफ्नो प्लेट आफैँ सफा गर्न थाल्यो। ध्यानको क्रममा उदास हुने क्रम पनि रोकियो। प्रवचनका क्रममा मन परेका कुराहरू डायरीमा टिपोट गर्न थाल्यो। भजनको समयमा ऊ मीठो धुनमा हार्मोनियम बजाउँथ्यो। मैले गाएका धेरैजसो भजनमा उसैले हार्मोनियमको साथ दिएको थियो।
आश्रममा हुर्किएका धूपीका बोटहरू निकै झाँगिएका थिए। उसले ती सबै बोटहरूलाई छाँटेर सुन्दर त्रिभुजाकार रूप दिएको थियो। फूलहरूको स्याहारसुसारमा ऊ एकदम सिपालु रहेछ। एक दिन उसले बजारबाट एक ट्रली नयाँ फूलहरू ल्यायो। फूल रोप्न र सजाउन मलाई पनि औधी मन पर्छ; त्यसैले उसले ल्याएका फूलहरू रोप्न मैले पनि सघाएँ।
तेस्रो हप्तामा उसको फूल सजाउने कला र योगदानको सम्मान गर्दै हामीले एउटा सानो धन्यवाद ज्ञापन कार्यक्रम राख्यौँ। त्यस दिन बेलुकाको खानाको सम्पूर्ण व्यवस्था उसैले सम्हाल्यो। लगभग पचास जना साधकका लागि उसले आफ्नै हातले गाँजरको हलुवा, पुरी-सब्जी र मेथीको अचार तयार पारेको थियो।
ऊ अब साधनामा सधैँ अगाडि हुन्थ्यो, उसका हरेक क्रियाकलाप व्यवस्थित थिए र ऊ सबैका लागि सहयोगी बनिसकेको थियो। सुरुमा आश्रममा भित्रिँदा र अहिलेको उसको रूपमा आकाश-पातालको फरक आइसकेको थियो।
एक महिने ध्यान अवधि सकियो। मेरो पनि बसाइको अवधि पुगेको भए तापनि म भने भोलिपल्ट मात्र आश्रमबाट निस्किने भएँ। आश्रमबाट बिदा भएर जाने मानिसहरूलाई म सधैँ त्यसरी नै हेर्ने गर्थें, जसरी पहिलो दिन उसलाई हेरेकी थिएँ।
ऊ बिहान आठ बजेतिर आश्रमको फलैँचामा आइपुग्यो। काँधमा उही पुरानो झोला थियो, खुट्टामा उही जुत्ता थियो तर उसको शरीरमा अब कुनै आलस्य थिएन। न त उसको झोला नै पहिले जस्तो धुलोले ढाकिएको थियो, न त जुत्ताको तुना नै फुस्केको थियो। उसले चारैतिर त्यसैगरी नजर दौडायो र मुख्य भवनतर्फ हेर्यो।
त्यही बेला छेउको स्पिकरबाट 'नयाँ जीवनका लागि शुभकामना' मधुरो वाक्य गुन्जियो। उसले म भएको ठाउँमा पुलुक्क हेर्यो। मैले हात हल्लाएँ। उसले पनि हात हल्लायो र मुस्कुराउँदै गेटबाट बाहिरियो।
आश्रमबाट फर्केपछि म नियमित दैनिकीमा व्यस्त भएँ। बिहान पढाउने र बाँकी समय अस्पतालमा बित्थ्यो। कामबाट केही फुर्सद पाउँदा म मेडिटेसनसम्बन्धी विभिन्न वेबसाइटहरू हेर्थें। ध्यानका माध्यमबाट जीवन रूपान्तरणसम्बन्धी सामग्रीहरू प्रकाशन गर्ने एउटा वेबसाइटमा अचानक मेरो नजर थामियो।
त्यहाँ एउटा छोटो भिडियो र लामो लेख प्रकाशित थियो। भिडियोमा देखिएको मानिस मैले कहीँ देखेजस्तो लाग्यो। भिडियो र लेख उही साधकको रहेछ, जसलाई मैले आश्रममा भेटेकी थिएँ।
'एउटा महिला, जसले एक महिनासम्म मलाई मौन रूपमा साथ दिइन्। सायद उनी मेडिकलकी विद्यार्थी थिइन्। म एकदमै नाजुक अवस्थामा थिएँ। ध्यान केन्द्रमा उनीसँग मेरो बोलचाल त भएन, तर नबोलेरै पनि उनले मलाई दिएको स्नेह र साथका कारण आज म आफ्नो पुरानो स्वस्थ अवस्थामा फर्कन सफल भएको छु। यदि सम्भव भयो भने उनलाई एकपटक भेटेर धन्यवाद दिने मेरो इच्छा छ।'
एक महिनाको भोगाइसँग जोडिएका अन्य सन्दर्भका अतिरिक्त उसले मेरो बारेमा लेखेको कुराले म छक्क परेँ। मैले त्यस्तो केही नगरेको भए पनि उसलाई मेरो व्यवहारको ठूलो प्रभाव परेको रहेछ।
मैले त्यो वेबसाइटको कार्यालयमा फोन गरेर उसको बारेमा बुझ्न खोजेँ। तर उसले कार्यालयमा उसको फोन नम्बर दिएको रहेनछ, उनीहरूले मलाई उसको इमेल दिए। मैले आफ्नो फोन नम्बर राखेर उसलाई इमेल पठाएँ। त्यसको तीन-चार दिनपछि उसले मलाई फोन गर्यो।
बुधबार दिउँसो मेरो ड्युटी नभएकाले मैले उसलाई नजिकैको एउटा कफी पसलमा भेट्न बोलाएँ। ऊ पहिलेभन्दा धेरै हँसिलो र फुर्तिलो देखिएको थियो।
मैले आश्रमको बारेमा सामान्य औपचारिक कुराबाट गफको सुरुवात गरेँ। उसले मलाई आश्रममा सहयोग गरेकोमा धन्यवाद दियो। मैले सबैलाई जस्तै उसलाई पनि सहयोग गरेको भनेँ। उसका कुरामा ऊ मप्रति धेरै नै अनुगृहीत देखिन्थ्यो।
उसले आश्रमकै कारण आफ्नो आन्तरिक समस्या चिन्न र बुझ्न सकेको, त्यसको समाधानका लागि नयाँ विकल्पहरू अपनाउन सिकेको र जीवनप्रति नयाँ दृष्टिकोण बनाउन सकेको कुरा बतायो। सँगसँगै, सामान्य मानिसहरूले यस्ता संस्थाको सेवा सहजै नपाउने भएकाले यही सहर नजिकै न्यूनतम शुल्कमा एउटा नयाँ ध्यान आश्रम सुरु गर्ने योजना सुनायो। मलाई उसको योजना राम्रो लाग्यो। मैले पनि त्यो काममा सकेको सहयोग गर्ने बताएँ।
समय बित्दै गयो। ऊ मसँग नियमित सम्पर्कमा थियो। फुर्सदमा हामी त्यही कफी पसलमा भेट्थ्यौँ। ऊ योग ध्यानसम्बन्धी लेखरचनाहरू पत्रपत्रिकामा प्रकाशन गर्थ्यो। प्रकाशित लेखरचनाको लिङ्क मलाई सेयर गर्थ्यो।
ऊ आफ्नो योजनामा प्रतिबद्ध थियो। उसले आश्रमको डिजाइन गरिसकेको थियो। हामीले अघिल्लो आश्रमबाट नयाँ जीवनदृष्टि पाएका अन्य साधकहरूसँग पनि सम्पर्क बढायौँ। लगभग सय जना साधकहरूको सहभागितामा भएको एउटा भर्चुअल बैठकले नयाँ आश्रम निर्माण समितिको संयोजकमा मलाई र सचिवमा उसलाई चयन गर्यो।
हामीले बडादसैँको घटस्थापनाको शुभसाइतमा नयाँ आश्रम भवनको शिलान्यास गर्यौँ। सहरभन्दा केही परको शान्त, घमाइलो र रमणीय जग्गामा हाम्रो आश्रम निर्माण सुरु भयो। आश्रम निर्माणको स्रोत जुटाउन ऊ दिनरात खट्यो। दसैँको छुट्टीको सदुपयोग गर्दै हाम्रा धेरै साथीहरू श्रमदान गर्न आए। लगभग छ महिनाको अन्तरालमा हामीले आश्रम निर्माणको काम सफलतापूर्वक सक्यौँ।
नयाँ आश्रम सञ्चालनका लागि हामीले पहिले साधना गरेको आश्रमको व्यवस्थापन समूहले पनि हामीलाई ठूलो सहयोग गर्यो। मैले सुरुको एक वर्ष आश्रममै बसेर सेवा गर्ने सोच बनाएँ। मेरा लागि आश्रमको मूल गेट नजिकै एउटा कोठा तयार पारिएको थियो। कोठाअगाडि ठ्याक्कै त्यस्तै बार्दली थियो, जहाँ मैले दुई वर्षअगाडि दुई महिना बिताएकी थिएँ। त्यसको केही अगाडि आँपको बोटलाई बीचमा पारेर चिटिक्कको फलैँचा बनाइएको थियो।
मैले अस्पतालको काम पनि अलि छोट्याएकी थिएँ। बिहानको समयमा अस्पतालमा काम गरेर म दिउँसो प्रायः आश्रममै हुन्थेँ। आश्रमले एक हप्ता, एक महिना र दुई महिनाका योग तथा ध्यान कार्यक्रमहरू सञ्चालन गर्न थालेको थियो। नयाँ साधकहरू आउने क्रम पनि बिस्तारै सुरु हुँदै थियो।
एक दिन म बार्दलीमा बसिरहेकी थिएँ। भर्खरै हिउँद सुरु हुन लागेको पारिलो घाम र हल्का चिसो हावाको सिरेटोले वातावरण वास्तवमै लोभलाग्दो बनेको थियो। ठीक त्यतिबेला, खत्र्याक गर्दै गेट खुलेको आवाज आयो। आउनुअघि ऊ सधैँ मलाई फोन गरेर आउँथ्यो तर आज फोन नगरी आयो।
ऊ सिधै म बसेको ठाउँमा आयो र एउटा खैरो खाम मेरो हातमा थमाइदिएर कतै नरोकिई फर्किहाल्यो। मैले उत्सुकतापूर्वक खाम खोलेर हेरेँ। खामभित्र एउटा चिठी र एउटा पुस्तकको पाण्डुलिपि थियो।
'यो कृतज्ञता तपाईंप्रति मेरो सानो समर्पण हो। जटिल र मरेतुल्य अवस्थामा तपाईंले मलाई दिनुभएको मौन साथले नै आज म फेरि यो जीवन बाँच्न योग्य भएको छु। यस पाण्डुलिपिमा मैले तपाईंको बारेमा महसुस गरेका र मलाई लागेका कुराहरू समेटेको छु। यदि यो पढेर राम्रो लागेमा कुनै उपयुक्त शीर्षक दिएर व्यवस्थापन समूहलाई प्रकाशनार्थ दिनुहोला।'— सङ्गी साधक, संयोग शर्मा।
मैले त्यो रात पूरा पाण्डुलिपि पढेँ। त्यहाँ आश्रममा उसले बिताएको महिना दिनको हरेक क्षणको सूक्ष्म विश्लेषण गरिएको थियो। ध्यान र योगले उसको जीवनमा ल्याएको सकारात्मक परिवर्तनको गहिरो अनुभूति थियो। पाण्डुलिपिको अन्तिम पानामा त्यहाँ, म बार्दलीमा बसिरहेको एउटा सुन्दर पेन्सिल स्केच बनाइएको थियो।
मलाई अचम्म लाग्यो। हामीले कहिल्यै पनि आफ्नो व्यक्तिगत वा पारिवारिक जीवनका बारेमा एकअर्कासँग कुराकानी गरेका थिएनौँ। मलाई उसको बारेमा खासै केही थाहा पनि थिएन, तर उसले करिब तीन सय पृष्ठ लामो सामग्री तयार पारेको थियो, जसको सम्पूर्ण केन्द्रबिन्दु म आफैँ थिएँ। त्यहाँ केही गम्भीर र अपेक्षायुक्त वाक्यहरू पनि थिए, जसको अर्थ र आशयबारे स्पष्ट हुन मलाई जरुरी लाग्यो।
मैले उसलाई फोन गरेँ, तर उसको मोबाइल अफ थियो। त्यसपछि मैले उसलाई एउटा लामो इमेल लेखेर पठाएँ। तर त्यसको कुनै जवाफ आएन। ठ्याक्क एक महिनापछि ह्वाट्सएपमा एउटा नौलो नम्बरबाट उसले छोटो भिडियो पठायो। भिडियोमा ऊ कुनै युद्धग्रस्त भूमिमा सिपाहीको पोसाकमा बख्तरबन्द गाडी चलाइरहेको थियो।
करिब पन्ध्र सेकेन्डको त्यो भिडियो सकिनेबित्तिकै अर्को एउटा म्यासेज आयो— यहाँ फोन वा इमेल केही पनि चल्दैन। महिनामा एक दिन, मात्र एक मिनेटका लागि ह्वाट्सएप चल्छ। आश्रमको मुख्य भवनमा अर्को तला थप्ने योजना बनाउनुहोस्, त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण आर्थिक स्रोत मैले जुटाइसकेँ।'
मैले त्यो म्यासेजलाई लामो समयसम्म टुलुटुलु हेरिरहेँ। ह्वाट्सएपले उसको अनलाइन स्टेटस अफलाइन देखाइसकेको थियो।