यदि सामान्य संक्रमण नै प्राणघातक बन्न थाल्यो भने के होला?
संक्रमणको उपचारमा प्रयोग गरिने औषधिले नै काम गर्न छाडे भने के होला?
यो भविष्यमा हुन सक्ने कुनै काल्पनिक अवस्था होइन। एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) अर्थात् प्रतिजैविक प्रतिरोधका कारण हामी अहिले नै प्रतिजैविक औषधिले काम नगर्ने समस्याहरूको सामना गर्न थालिसकेका छौं।
ब्याक्टेरिया, भाइरस, ढुसी र परजीवीहरू समयसँगै परिवर्तन हुन्छन् र परिणामस्वरूप प्रतिजैविक औषधिहरू उनीहरूप्रति अप्रभावी हुने र असर नदेखाउने अवस्था नै प्रतिजैविक प्रतिरोध हो।
प्रतिजैविक प्रतिरोध बढ्दै जाँदा संक्रमणको उपचार झन् कठिन बन्दै जान्छ र कतिपय अवस्थामा उपचार असम्भवसमेत हुन सक्छ।
नेपालमा पनि यसका संकेत देखिन थालेका छन्। राष्ट्रियस्तरको प्रतिजैविक प्रतिरोधको निगरानीसम्बन्धी तथ्यांकले सामान्य संक्रमण गराउने ब्याक्टेरियाहरूमा समेत प्रतिजैविक प्रतिरोधको उच्च र गम्भीर अवस्था देखाएको छ।
स्वास्थ्यकर्मीहरूले लामो समयदेखि प्रभावकारी मानिँदै आएका प्रतिजैविक औषधिले समेत काम नगर्ने संक्रमणहरूको बढ्दो रूपमा सामना गरिरहेका छन्। यसले बिरामी र उनीहरूका परिवारको आर्थिक भार बढाउनुका साथै उपचारमा बढी समय लाग्ने र स्वास्थ्य प्रणालीमा समेत थप दबाब पर्ने अवस्था सिर्जना गरेको छ।
हामीले स्वीकार गर्नुपर्ने अर्को महत्त्वपूर्ण तथ्य के हो भने, प्रतिजैविक प्रतिरोधविरूद्धको लडाइँ भनेको एन्टिबायोटिकको प्रयोग घटाउनुपर्छ भनेर मानिसहरूलाई बुझाउनु मात्र होइन।
आफ्नो बिरामी बच्चाको उपचार खोजिरहेकी आमा, पशुपन्छीलाई रोगबाट जोगाउन चाहने किसान वा नजिकैको औषधि पसलबाट औषधि किन्ने बिरामीले जानाजानी गलत गरिरहेका हुन्छन् वा गैरजिम्मेवार नै हुन् भन्ने बुझ्नु गलत हुन सक्छ।
मानिसहरूले प्रायः आफूसँग भएका विकल्पका आधारमा निर्णय गरिरहेका हुन्छन्। सहज र सुलभ स्वास्थ्य परामर्श, भरपर्दो प्रयोगशाला परीक्षण, पशु स्वास्थ्य सेवा वा गुणस्तरीय उपचार सेवा उपलब्ध नहुँदा प्रतिजैविक औषधिको अनुचित प्रयोग हुने सम्भावना बढ्छ।
त्यसैले प्रतिजैविक प्रतिरोध केवल स्वास्थ्य उपचारसँग सम्बन्धित समस्या होइन, यो समग्र प्रणालीसँग जोडिएको विषय पनि हो।
एन्टिबायोटिकजस्ता जीवनरक्षक औषधिको पहुँच सीमित गर्नु मात्र यसको समाधान होइन। बरू, ती औषधि आवश्यक पर्ने व्यक्तिहरूलाई पहुँच सुनिश्चित गर्दै सही तथा विवेकपूर्ण प्रयोगको सुनिश्चितता गर्नुपर्छ।
प्रतिजैविक औषधिको उचित प्रयोग भन्नाले सही बिरामीलाई सही औषधि, सही मात्रा र सही अवधिसम्म सिफारिस गर्नु हो। औषधि प्रयोग सम्बन्धी निर्णय अनुमानका आधारमा नभई प्रमाण र परीक्षणका आधारमा गर्ने गरी स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनु पनि उत्तिकै आवश्यक छ।
तर उपचार त समाधानको एउटा पक्ष मात्र हो।
प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय संक्रमण हुनै नदिनु हो। यदि संक्रमणबाट जोगाउन सकियो भने उपचारका लागि प्रतिजैविक औषधि प्रयोग गर्नुपर्ने अवस्था पनि कम हुन्छ।
खोपको प्रयोग तथा सुनिश्चितता, सुरक्षित खानेपानी, सरसफाइ, स्वच्छता, स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण, पशु स्वास्थ्यमा सुधार र जैविक सुरक्षा जस्ता उपायहरूले संक्रमण फैलिनबाट रोक्न मद्दत गर्छन्।
यसले प्रतिजैविक औषधिमाथिको निर्भरता पनि घटाउँछ। त्यस्तै, औषधिको सुरक्षित विसर्जन र वातावरणमा हुने प्रदूषण न्यूनीकरणले पनि प्रतिरोध फैलिन नदिन महत्त्वपूर्ण भूमिका खेल्छन्।
यसै कारण प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि 'एक स्वास्थ्य' अवधारणा विश्वव्यापी प्रतिकार्यको महत्त्वपूर्ण आधार बनेको छ।
मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएका छन्। प्रतिरोधी सुक्ष्मजीवहरू अस्पताल, पशुपालन फार्म, समुदाय वा पर्यावरणको सीमामा मात्र सीमित रहँदैनन्। कुनै एक क्षेत्रमा गरिएका कार्यहरूको प्रभाव अन्य सबै क्षेत्रमा पर्छ।
यसैलाई ध्यानमा राख्दै विभिन्न देशहरूसँगै नेपालले सन् २०२४ मा संयुक्त राष्ट्र संघको महासभामा आयोजित प्रतिजैविक प्रतिरोध सम्बन्धी उच्चस्तरीय बैठकमा सन् २०३० सम्म हासिल गर्ने लक्ष्यप्रति प्रतिबद्धता जनाएको थियो।
साथै, सन् २०२६–२०३६ का लागि अद्यावधिक गरिएको प्रतिजैविक प्रतिरोध सम्बन्धी विश्वव्यापी कार्ययोजनामार्फत यो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
नेपालले पनि सन् २०२४–२०२८ का लागि राष्ट्रिय प्रतिजैविक प्रतिरोध कार्ययोजना कार्यान्वयनमा ल्याएर यस क्षेत्रमा जबाफदेहिता देखाएको छ।
साथै, प्रतिजैविक प्रतिरोधको निगरानी प्रणाली र प्रयोगशालाको क्षमता विस्तार, संक्रमण रोकथाम तथा नियन्त्रणका अभ्यास सुदृढीकरण, प्रतिजैविक औषधिको विवेकपूर्ण प्रयोग र विभिन्न क्षेत्रबीचको सहकार्यलाई पनि अघि बढाइएको छ।
यी महत्त्वपूर्ण उपलब्धि हुन्। तर सफलता अन्ततः परिणाममा निर्भर गर्छ।
उदाहरणका लागि, प्रतिजैविक प्रतिरोधी संक्रमणका बिरामी घटे कि घटेनन्? स्वास्थ्यकर्मीले सही औषधि छनोट र प्रयोग गर्न आवश्यक प्रविधि तथा सुविधा पाए कि पाएनन्? किसानले प्रतिजैविक औषधिमा अनावश्यक निर्भर नभई पशुपन्छीलाई रोगबाट जोगाउन सके कि सकेनन्? परिवारले समयमै रोगको सही पहिचान र उचित उपचार सेवा पाए कि पाएनन्?
यस्ता प्रश्नको जबाफले नै हाम्रा प्रयासको उपलब्धि देखाउँछ।
अबको चुनौती भनेको नीति र प्रतिबद्धतालाई व्यवहारमा उतार्नु हो।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहले यस विषयमा गरिएका प्रतिबद्धता दोहोर्याई यसको रोकथाम तथा नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउने अवसर प्रदान गर्छ।
प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि स्वास्थ्य संस्था, पशुपालन फार्म, प्रयोगशाला, समुदाय र हरेक व्यक्ति तथा परिवारको दैनिक व्यवहारसँग जोड्दै सबै क्षेत्र तथा हामी सबैको पहल जरूरी छ।
आज हामी निर्भर रहेका प्रतिजैविक औषधिहरू हाम्रा अमूल्य सम्पत्ति हुन्। तिनको प्रभावकारिता जोगाइराख्नु हामी सबैको साझा दायित्व हो।
आजको हाम्रो विवेकपूर्ण निर्णयले यी जीवनरक्षक औषधिहरू हाम्रा भावी पुस्ताका लागि पनि प्रभावकारी रहिरहने सुनिश्चित गर्नेछ।
(डा. आलिसन गोकोटानो विश्व स्वास्थ्य संगठन, नेपालस्थित कार्यालयका कार्यवाहक प्रमुख तथा स्वास्थ्य आपत्कालीन कार्यक्रममा टिम लिडका रूपमा कार्यरत छन्।)