प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको प्रतिनिधि सभाको बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद भवनको कार्यकक्षमा छलफल भएको छ।
छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी छन्। त्यस्तै सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।
प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ। एमालेले सभामुखको भूमिकामा प्रश्न गर्दै नाराबाजी गर्दै आएको छ।