फागुन २१ को निर्वाचनलाई लिएर नयाँ र पुराना राजनीतिक शक्तिबीच पार्टीगत तथा कार्यगत एकताको क्रम ह्वात्तै बढेको छ।
पुरानाहरू आपसमा जुटेर नयाँ दल वा मोर्चा बनाइरहेका छन् भने नयाँ दलहरू पनि एकअर्कासँग मिलेर जान एकता वा गठबन्धन गरिरहेका छन्। त्यसै क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेपछि राजनीतिक तापक्रम ह्वात्तै बढेको छ।
उनीहरूको एकतामा छुटेका कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि कसै न कसैसँग कार्यगत एकता गर्ने दौडधुपमा छ।
कुलमानले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत सामेल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग सहकार्य गर्न छलफल बढाएका छन्। अर्कातिर, बालेन र रविसँगै एकताको बाटो खोज्न नयाँ शिराबाट छलफल पनि सुरू गरेका छन्।
पुराना दलहरूलाई टक्कर दिने उद्देश्यले नयाँ दलहरूले सुरू गरेको यो दौडधुपमा गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) को नाम भने कतै सुनिएको छैन।
के गतिलो पनि आफ्नो तालमा गुपचुप कसैसँग एकताको पहल गर्दैछ? कि हर्क साम्पाङको श्रम संस्कृति पार्टीजस्तै एक्लै चुनावमा जाने मन बनाउँदैछ?
यसैबारे हामीले सोमबार गतिलोका संस्थापक तथा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसँग कुरा गर्यौं।
'नयाँ दलहरू मिल्ने, जुट्ने माहोल छ, गतिलो के गर्दैछ?'
हाम्रो यो प्रश्नमा बस्नेतले भने, 'हामी आफ्नै रफ्तारमा काम गर्दैछौं। आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले साथीहरू त्यसैमा व्यस्त हुनुहुन्छ। हाम्रो सूची लगभग बनिसकेको छ।'
हामीले अगाडि सोध्यौं, 'नयाँहरू मिलेर जाने तयारीमा रहेका बेला गतिलो पनि गुपचुपसँग कसैसँग मिल्दै त छैन?'
'कसैसँग पार्टीगत एकता गर्ने त हाम्रो सोच नै छैन। जहाँसम्म सहकार्यको सवाल छ; हाम्रो सिद्धान्त, विचार सँग मिल्ने समूहसँग सहकार्य गरेर जान सकिन्छ। तर हामी चुनावी नम्बरका लागि कसैसँग सहकार्य गर्ने पक्षमा छैनौं।'
उनले अगाडि भने, 'अहिले जस्तो खालको एकता र सहकार्य भइरहेका छन्, तीमध्ये धेरै त चुनावपछि नै छयाल्लब्याल्ल हुन्छन्। नम्बरको सहकार्यको परिणाम हामीले विगतमा देखेकै हौं। यस्तो गतिविधिले जनताले चाहेको, देशले चाहेको कुरा पूरा हुँदैन।'
'त्यसैले हामी यस्ता गतिविधिबाट प्रभावित नभई आफ्नै रफ्तारमा हिँड्ने र दीगो रूपले अगाडि बढ्ने पक्षमा छौं,' उनले भने।
उनले पछिल्लो समय चुलिएका राजनीतिक भेटवार्ता र एकताको सिलसिलाले राजनीतिक वृत्तमा बढ्ता 'हल्लाखल्ला' सिर्जना गरेको बताए। त्यही हल्लाखल्लामा गतिशील लोकतान्त्रिक पार्टीको उपस्थिति र एजेन्डा हराएजस्तो भएको स्वीकार पनि गरे।
'अहिले राजनीतिमा 'हल्लाखल्ला' बेसी छ। त्यो हल्लाखल्लामा हामीले आफ्नो 'प्रिजेन्स' महसुस गराउन सकेका छैनौं। हाम्रो प्रिजेन्स र एजेन्डा अहिलेको हल्लाखल्लामा पुरिएको हामीले पनि महसुस गरेका छौं,' उनले भने, 'तर हामी विचलित छैनौं। हामीले यसलाई स्वाभाविक रूपमा लिएका छौं। एकदिन यो हल्लाखल्ला मत्थर हुन्छ नै, किनभने यसले राष्ट्रलाई समाधान दिँदैन। जनतालाई डेलिभरी चाहिएको हो, चुनावी हल्ला होइन।'
उनले आफू कुनै पद वा सत्ताको स्वार्थका राजनीतिमा नआएको बताए।
आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र संघीयता बलियो बनाएर लैजाने मूलभूत एजेन्डासहित आफू राजनीतिमा आएकाले को कता जाँदैछ भन्नेले आफूलाई कुनै प्रभाव नपर्ने उनको भनाइ छ।
'यो हल्लाखल्लामा त झन् हामीले आफ्नो एजेन्डा बचाएर अगाडि बढ्नुपर्छ। यसलाई हामीले चुनौतीका रूपमा लिएका छौं,' उनले भने।
गतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनभन्दा २०८४ को प्रदेशसभा र स्थानीय तह निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको बस्नेतले बताए।
'नेपालको संघीय संरचनमा डेलिभरी गर्ने मुख्य तह भनेकै प्रदेश र स्थानीय सरकार भएकाले तिनको भूमिका बलियो बनाउनुपर्छ भन्ने हाम्रो पार्टीको विश्वास छ,' उनले भने, 'यसका लागि आवश्यक कानुनहरू ल्याएर प्रदेश र स्थानीय तह थप बलियो बनाउनुपर्छ भन्ने हाम्रो एजेन्डा हो। हामी यो एजेन्डा निरन्तर उठाइरहन्छौं।'
फागुन २१ को चुनावपछि पनि आर्थिक रूपान्तरण र रोजगारी नै अहम् प्रश्न बनिरहने उल्लेख गर्दै बस्नेतले भने, 'त्यति बेला सबै हल्लाखल्ला मत्थर भइसक्छन्। अनि हाम्रो प्रिजेन्स देखिएला, हाम्रो एजेन्डा सुनिएला। नसुने पनि हामी सुनाइरहन्छौं। आर्थिक रूपान्तरणको पक्षमा आवाज उठाइरहन्छौं।'
यी सबबीच गतिलोले बोकेका एजेन्डामा विश्वास गर्नेहरू खोजी खोजी पार्टीमा आबद्ध हुन आइरहेको बस्नेतले उल्लेख गरे।
'हाम्रो कोर टिम बढ्दैछ। हाम्रा सदस्य बढ्दै छन्। चुनावपछि पद पाइएला वा कुनै स्वार्थ पूरा होला भनेर होइन, हाम्रो एजेन्डाले देशलाई केही योगदान गर्न सक्छ भन्ने विश्वास भएकाहरू खोजी खोजी हामीसँग जोडिन आइरहनुभएको छ,' उनले भने।
'अरूको जस्तो लहरो पहरो छैन।'