जाडोको समयमा रगतका नली खुम्चिने, खानपिनमा लापरबाही हुने र व्यायाम नगर्ने भएकाले मुटु तथा हाई ब्लड प्रेसर (उच्च रक्तचाप) को समस्या बढ्छ।
चिसोमा खाना, खानासँगै नुन र बोसो धेरै खाइन्छ। व्यायाम पनि कम हुन्छ। फेरि धेरै जाडो र धेरै गर्मीमा व्यायाम गर्दा शरीरले थेग्न नसक्ने भएकाले मुटुको समस्यासँगै स्ट्रोकको खतरा हुन्छ।
कतिलाई यस्तो लाग्छ, जाडोमा रक्तचाप (प्रेसर) घट्छ र गर्मीमा बढ्छ। तर यो ठीक उल्टो हुन्छ। जाडोमा रगतका नली खुम्चिने भएकाले प्रेसर बढ्छ र गर्दा मुटुको समस्या हुन सक्छ।
नुन धेरै खाने तर व्यायाम कम गर्ने भएपछि शरीरमा भएको नुन पसिनाबाट बग्दैन। जाडो छ भनेर मासु र रक्सी बढी खाँदा पनि समस्या बढ्छ।
रक्सीले गर्ने हानि त छँदैछ। योसँगै अरू धेरै खानेकुरा खाँदा धेरै क्यालोरी थपिन्छ। जति धेरै परिकार, उति धेरै नुन खाइन्छ। यसले गर्दा जाडोमा हृदयघात, स्ट्रोक अनि प्यारालाइसिस धेरै हुन्छ।
खानपिनमा सतर्कता अपनाउनुपर्छ। जाडो भयो भनेर रक्सी, चुरोट, हुक्का खान हुँदैन। रातो मासु र बोसो भएको मासुले शरीरलाई फाइदा गर्दैन भन्ने पनि ख्याल गर्न जरूरी छ। माछा र सेतो मासु शरीरका लागि फाइदाजनक हुन्छ।
यस्ता समस्याबाट जोगिने सबभन्दा महत्वपूर्ण कुरा स्वस्थ खानपिन र रहनसहन हो। जाडोमा न्यानो भएर बस्नुपर्छ। यो सबैले बुझेका छन् र सबैजसोले गरेका पनि हुन्छन्।
तर धेरैले ख्याल नगर्ने के हो भने, बिहान हिँड्ने भन्दैमा अत्यधिक जाडो बढेको बेला समेत आफ्ना गतिविधि जारी राख्छन्। धेरै जाडो भएका बेला बिहानभन्दा साँझ हिँड्न सकिन्छ। त्यो भनेको घाम डुबिसकेपछि हो। धेरै राति पनि हिँड्नु हुँदैन।
बिहान उठेपछि शरीर सन्तुलनमा ल्याएर हिँड्दा राम्रो हुन्छ। हस्याङफस्याङ गर्दै हिँड्नु धेरै खतरनाक हुन्छ।
शरीरलाई सन्तुलनमा ल्याउने सँगै बाहिरको तापक्रमलाई पनि ख्याल राख्न जरूरी छ। मुटुको जोखिम भएकाहरूलाई यस्तो समयमा हृदयाघात हुने सम्भावना धेरै हुन्छ।
त्यसैले सकिन्छ भने जाडोमा घरमै आफ्नै तरिकाले व्यायाम गर्दा हुन्छ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. नवराज पौडेल मणिपाल शिक्षण अस्पताल र नाभ्यता हार्ट सेन्टरमा कार्यरत छन्।)