राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। सोमबार राति बुझाएको सूचीमा चर्चित गायक प्रकाश सपुतदेखि चलचित्र निर्माता आसिफ साह र क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समेटिएका छन्।
रास्वपाले भर्खरै एकताका लागि सहमति गरेको उज्यालो नेपाल पार्टीले बुझाएको नाम केही नामको रोस्टर पनि यो सूचीमा समेटेको छ। जसअनुसार पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, अभिषेकराज सिंह, डा महेन्द्र लावती, मनीषा कुमारी, सोमप्रसाद चौधरी, सीतादेवी पाण्डे, सरला लामिछाने, दुर्गाबहादुर घिमिरे, बालिका चौधरी रहेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन्।
आइतबार र सोमबार समानुपातिक सूची बुझाउने दिन तोकिएकोमा कुल ६४ दलले बन्द सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ५४ वटा दलले आ-आफ्नो चुनाव चिह्न कायम रहने गरी सूची बुझाएका छन्। १० वटा दलले भने विभिन्न चार वटा चुनाव चिह्न कायम गरी सूची बुझाएका हुन्। आयोगका अनुसार ६४ दलका ४ हजार ४२४ जना समानुपातिक तर्फ उम्मेदवार कायम भएको छ।