झापा क्षेत्र नम्बर १ को बहुप्रतिक्षित रिङरोड निर्माण गर्न सरकारले बजेट व्यवस्थापन गरेको छ।
सरकारले भदौ २५ मा प्रतिनिधि सभामा प्रस्तुत गरेको बजेटमा उक्त रिङरोडका लागि पहिलो किस्ताका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ।
०७० मा पहिलोपटक चुनाव लड्दा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो रिङरोडको प्रस्ताव गरेका थिए।
उनी निर्वाचनमा पराजित भए पनि कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले रिङरोडलाई प्राथमिकता दिएर सर्भे गर्ने निर्णय गरेको थियो।
शर्माको त्यसबेलाको चुनावी घोषणा पत्रमा झापा १ को काँकरभिट्टा- सतिघट्टा- दुहागढी- चन्द्रगढी- तेलिबाडि- धाइजन- शान्तिनगर - गडिगाउँ-बाहुन्डांगी हुँदै कांकरभिट्टा जोड्ने रिङरोडको प्रस्ताव गरिएको थियो।
शुसील कोइराला प्रधानमन्त्री छँदा शर्माकै पहलमा प्रस्तावित गरेर अघि बढाइएको झापा १ को यो रिङ रोडमा प्रथम किस्ताका रूपमा ३ करोड रुपैयाँ बजेट प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नयाँ बजेटमा परेको छl
कोइराला नेतृत्वको सरकारले ल्याएको पहिलो बजेट आर्थिक बर्ष ०७१/७२ मा रिङ रोडको भुगोल उल्लेख भएको थियोl रातो किताबमा प्रकाशित भएर सर्भेका लागि रकम विनियोजन भएको थियो।
०७२/७३ मा डिपिआरका लागि बजेट स्वीकृत भएपछि ०७३ मा डिपिआर सम्पन्न भएको थियोl ०७४ देखि ०७७ को अवधिमा भने रिङरोडमा कुनै बजेट परेको थिएन।
कांग्रेस नेताले योजना पारेको भन्दै केपी ओली नेतृत्वको सरकारले यसलाई वेवास्ता गर्दै आएको आरोप थियो। जबकी ओलीको गृहनगर दमक र आसपासका क्षेत्रमा भने विकास आयोजनाको बाढी लागेको भन्दै आलोचना हुने गरेको थियो।