आइसिसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेपछि प्रारम्भिक टोलीबाट बाहिरिएका खेलाडीले सामाजिक सञ्जालमार्फत् निराशा व्यक्त गरेका छन्।
मंगलबार साँझ राष्ट्रिय टोली घोषणा गर्दा प्रारम्भिक टोलीमा रहेका २४ खेलाडी मध्ये ९ खेलाडी बाहिरिएका थिए।
राष्ट्रिय टोलीबाट बाहिरिने खेलाडीमा अलराउन्डर कुशल मल्लसहित आदिल अन्सारी, साहब अलाम, विनोद भण्डारी, अविनाश बोहरा, भीम सार्की, ईशान पाण्डे, प्रतिश जिसी र रूपेश सिंह छन्।
साँझ राष्ट्रिय टोली घोषणा गरेको दुई घन्टा भित्रमा पाँच खेलाडीले फेसबुक र इन्स्टाग्राममा स्टोरी सेयर गरेका थिए।
टोलीमा नपरेका स्पिनर साहब आलमले फेसबुकमा स्टाटस लेख्दा राष्ट्रिय टोलीमा नपरेमा दु:ख व्यक्त गरेको स्पष्ट संकेत गरेका थिए।
उनले लेखेका छन्- कसलाई दोष दिउ, भाग्यलाई कि आफूलाई?
अरु खेलाडीले भने इन्स्टाग्राममा स्टोरी सेयर गरेका छन्। अलराउन्डर कुशल मल्लेले राष्ट्रिय टोली घोषणा भएको केही बेरमा एउटा र्याप गीतमा आफ्नो पोस्ट राख्दै आफू ‘कुल’ भएको संकेत गरेका छन्।
यस्तै तीव्र गतिका बलर प्रतिश जिसीले विभिन्न तस्बिर पोस्ट गर्दै क्याप्सन लेखेका छन्- बाल हो !
अर्का तीव्र गतिका बलर अभिनास बोहराले हेमन्त धामीले राखेको तस्बिर सेयर गर्दै ‘बहुत थक गया’ भनिएको एउटा रमाइलो अडियो हालेका छन्।
मंगलबार साँझ विनोद भण्डारीले पनि अध्यात्मिक भिडियो सेयर गरे। उक्त भिडिओमा ‘आफूले जति गरे पनि परिणामले साथ दिँदैन’ भन्ने सन्देश बोकेको थियो। भिडियो भण्डारीले इन्स्टा स्टोरीमा राखेका थिए।
तर बुधबार विहान भण्डारीले अर्को पोस्ट गर्दै सबैको साथ र समर्थनका लागि धन्यवाद दिएका छन्। साथै आफूले क्रिकेटलाई धेरै माया गर्ने तथा आफू अनुशासन र उत्कृष्ट खेल्नमा केन्द्रीत हुने भनेर लेखेका छन्। साथै उनले जसले देशको जर्सी लगाए पनि विश्वकपका लागि देशको समर्थन गर्नु पर्ने पनि बताएका छन्।

अर्को महिना भारत र श्रीलंकमा हुने विश्वकपमा लागि घोषणा गरिएको नेपाली टोलीमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल स्थान बनाएका छन्। उनले नेपाली टोलीमा पहिलो पटक स्थान बनाएका हुन्। यस्तै बसिर अहमद र सन्दीप जोराले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्। शेर मल्लले त विश्वकपबाट नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यू गर्ने सम्भावना छ।
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी,करण केसी,सन्दीप जोरा र सन्दीप लामिछाने गरी ९ खेलाडीले भने लगातार दोस्रोपटक विश्वकप खेल्ने टोलीमा स्थान बनाएका हुन्। यी ९ खेलाडी सन् २०२४ को नेपालको विश्वकप टोलीमा पनि थिए।
सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले त लगातार तेस्रोपटक विश्वकप टोलीमा परेर इतिहास रचेका छन्।
अघिल्लो संस्करणको विश्वकप टोलीमा रहेका अनिलकुमार साह, कुशल मल्ल, प्रतिश जिसी, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी यस संस्करणको टोलीमा परेनन्। अनिल, सागर र कमल प्रारम्भिक टोलीमा नै परेनन् भने अरु खेलाडी प्रारम्भिक टोलीबाट बाहिरिएका हुन्।
नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई