राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले मन्त्री बनाएकाहरूलाई फिर्ता बोलाउँदा नआउने प्रवृत्ति देखा परेको बताएका छन्।
आज ललितपुरमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष केसीले पार्टीको अनुशासन नमान्ने प्रवृत्ति देखिएको बताए।
‘पार्टीका मानिस मन्त्री र सांसद बनाउँछौं, तिम्रो पालो पुग्यो अर्कालाई पालो दिनुपर्यो भन्यो भने उसले मरे पनि मान्दैन,’ उनले भने, ‘यो मैले यस्तो भोगेँ। गण्डकीका सांसदलाई बोलाएर फिर्ता आऊ भनेको ज्यान जाला नमान्ने!’
उनले राजनीति सेवाभन्दा पनि व्यवसायका रूपमा अघि बढेको बताए।
‘पार्टीले सांसद र नेता बनायो। जान्ने सुन्ने बनायो। पार्टीले भनेको नमानेपछि के हामीले पार्टी राम्रोसँग चलाएका छौं?,’ उनले प्रश्न गरे, ‘पार्टी अनुशासन के हो? राजनीति गर्ने भनेको आफू बन्ने मात्रै हो? राजनीति व्यवसाय भयो।’
उनले संघीयता देशले धान्न नसक्ने पनि बताएका थिए।
‘संघीयतालाई कसरी धान्ने? मन्त्रीहरू पाल्ने पैसा खोई? गफ गरेर हुन्छ?,’ उनले भने, ‘वाम र प्रजातान्त्रिक शक्ति मिलेर आएको हो अहिलेको परिवर्तन। यसलाई हटाउन चलखेल हुँदैछ।’
उनले सत्ता गठबन्धनभित्र पनि कतिपय कुरामा मनमुटाव भए पनि पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियता र गणतन्त्रको रक्षा गर्न एकजुट भएको बताएका थिए।
उनले देशमा भ्रष्टाचार बढिरहे पनि नियन्त्रण गर्न नसकिएको बताए। ‘भ्रष्टाचार नियन्त्रण गर्न सकिएन। म पनि सत्तामा बसेँ केही लागेन,’ केसीले भने।