नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्।
घोराहीमा पत्रकार सम्मेलन गरी उनले 'दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल' भन्ने नारासहित उनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।
दाङ अहिले ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै एमाले उम्मेदवार पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कने बीचको छनोट भएको बताए।
पोखरेलले आफूले विगतमा अघि सारेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना पूरा गर्न पुनः अवसर दिन मतदाता समक्ष आग्रह गरेका छन्।
उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको कुरा बताए।
लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरूयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रक्रिया सुरू गरिएको उनले बताए।
पोखरेलले दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार गरिएको भन्दै घोराही–तुलसीपुर चार लेन सडक समयमै निर्माण सम्पन्न गर्ने, घोराही–लमही सडक खण्डअन्तर्गतको अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चार लेन सडकको डिपिआर तयार गरिएको हुँदा अब वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अघि बढ्ने बताए।
त्यस्तै, साढे तीन सय बिगाहा क्षेत्रफलमा घोराहीमा औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढेको र डिपिआर तयारी तीव्र रूपमा भइरहेको उनले उल्लेख गरे।
आफ्नै पुर्ख्यौली घर क्षेत्रको ग्वार खोला हाई ड्याम निर्माण र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन तथा अध्ययन कार्य अघि बढाइएको उनको जानकारी दिए।
स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र एमडी अध्ययन सुरू हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको भन्दै उनले लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताए।
यसै आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे।
त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र उच्च प्राविधिक शिक्षाको आधार तयार गरिएको उनले बताएका थिए। त्यस्तै कृषि, खानेपानी र सामाजिक पूर्वाधारतर्फ स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएको एमाले महासचिव पोखरेलले दाबी गरे।
दाङमा खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब दुई अर्ब लगानी भएको उनले बताए। एमाले उम्मेदवार पोखरेलले अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट, धारपानीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको बताए।
भूमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरू गरिएको उनले जानकारी दिए।
हाल लमही–घोराही–तुलसीपुर फोरलेन सडक पुनः सुरू भई तीव्र गतिमा अघि बढिरहेको, घोराही–५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन रहेको, घोराही वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रंगशालाको निर्माण सुरू गरिएको उनले उल्लेख गरे।
सेवार, हापुर र कालाखोलामा चार लेन पुल निर्माण भइरहेको भन्दै उनले मध्य दाङको सडक सञ्जाल मजबुत बनाउन आवश्यक रहेको बताएका थिए।
आफू राजनीतिक रूपमा स्थापित भइसकेको अवस्थामा अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता बोध भएको भन्दै उनले केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने बताए।
कोइलाबास नाका सञ्चालन, औद्योगिक क्षेत्र विस्तार र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको भन्दै उनले आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरेका छन्।
यी हुन् पाँच वर्षमा पाँच क्रान्ति मुख्य एजेन्डा–
दाङ – २ का एमाले उम्मेदवार पोखरेलले आफ्नो संकल्प पत्रको केन्द्रीय प्राथमिकताका रूपमा ‘पाँच वर्ष – पाँच क्रान्ति’ का रूपमा प्रस्तुत गरेका छन्।
उनले दाङलाई तीव्र विकासको मार्गमा अघि बढाउन आर्थिक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सुशासन क्षेत्रमा एकसाथ रूपान्तरण आवश्यक रहेको बताए।
पोखरेलका अनुसार पहिलो क्रान्ति आर्थिक तथा पूर्वाधार क्षेत्रमा केन्द्रित हुनेछ। जसअन्तर्गत सडक सञ्जाल विस्तार, औद्योगिक क्षेत्र निर्माण, जलाशय तथा सिँचाइ आयोजना कार्यान्वयन र लगानीमैत्री वातावरण सिर्जना गरिने छन्।
दोस्रो – शैक्षिक क्रान्तिमार्फत दाङलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै डिजिटल शिक्षा, प्राविधिक अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिने कुरा समेटिएको छ।
तेस्रो– स्वास्थ्य क्रान्तिअन्तर्गत जिल्ला अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार, मेडिकल कलेज पूर्वाधार निर्माण र सबै नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना उनले प्रस्तुत गरेका छन्।
चौथो – प्रविधि क्रान्तिमार्फत ई–गभर्नेन्स, डिजिटल सेवा विस्तार, नवप्रवर्तन केन्द्र स्थापना र युवालाई प्रविधिमैत्री अवसर सिर्जना गरिने कुरा समेटेका छन्।
पाँचौँ– सुशासन क्रान्ति अन्तर्गत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, पारदर्शी प्रशासन र परिणाममुखी कार्यसंस्कृति विकास गरिने लक्ष्य समावेश गरेका छन्।
पोखरेलले यी पाँच क्रान्तिलाई दाङको दीर्घकालीन समृद्धिको आधार स्तम्भका रूपमा प्रस्तुत गर्दै मतदातालाई विकास र स्थायित्वको पक्षमा उभिन आग्रह गरेका छन्। उनका अनुसार पाँच वर्षभित्र संरचनात्मक परिवर्तन ल्याएर दाङलाई प्रदेश मात्र होइन, राष्ट्रिय विकास–मोडेलका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।