पर्सामा बाँसघारीमा अखडा बनाएर जुवा खेलिरहेका तीन जना पक्राउ परेका छन्।
मंगलबार अपराह्न प्रहरीले बहुदरमाई नगरपालिका-१ विश्रामपुरको बाँसघारीबाट एक लाख ७६ हजार रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बहुदरमाई वडा नम्बर ९ का गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ का जंगबहादुर साह र कलैया उपमहानगरपालिका-१४ का राजेश मेहता छन्।
जुवा खालबाट रविन्द्र महतो कोइरीसमेत दर्जनबढी फरार भएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।
फरार भएका सबैको पहिचान भइसकेको र प्रहरीले खोजी गरिरहेको उनले बताए।
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा तथा नैतिकताविरूद्धको कसुरमा अनुसन्धान अघि बढाइएको कुँवरले जानकारी दिए।