ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन्। ग्लोबल आइएमई बैंकमा जनता गाभिएर मंसिर २० गते देखि एकीकृत कारोबार सुरु भएको हो।
तीन दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंकको प्रमुख कार्यकारी अधिकृत भए। यसअघि उनले तत्कालीन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए।
वि.सं. २०४२ साल देखि तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका क्षेत्रीले तत्कालीन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंकको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब साढे ३ वर्ष कार्य गरे।
शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रमपश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुन्।
एकीकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी कोष २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी छ।
त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु संचालनमा छन्।