आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने आठ महिनाकै उच्च भएको छ। यस दिन २३ अर्ब ५९ करोड रूपैयाँको सेयर किनबेच भयो।
यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। त्यसयता पहिलो पटक कारोबार २३ अर्ब रूपैयाँ नाघेको हो।
यसदिन ३६४ वटा धितोपत्रको ६ करोड १४ लाख सात हजार ७४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
यसदिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत र होटल फरेस्ट इनको मूल्य मूल्य ९.९८ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ब्यालेन्स्ड फण्ड रहेको छ।
उक्त इकाइको मूल्य ५.७१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ९८ पैसामा झरेको छ।
यसैगरी, सुपर मादी हाइड्रोपावरको मूल्य ३.१५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५२८ रूपैयाँमा सीमित भएको छ।
अइतबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २४३ रूपैयाँ २० पैसामा ८५ करोड ९६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३१५ रूपैयाँमा ७७ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस लघुवित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ।