लामो समयदेखि ओरालो लागिरहेको शेयर सूचक यो साता भने सातै दिन बढ्यो। आइतबार ११३१.९२ अंकबाट कारोबार सुरु भएको नेप्से सूचक साताभरिमा ४०.७३ अंकले बढेर ११७२.६४ अंकमा पुगेर बन्द भयो।
यो हप्ता कारोबार रकम पनि बढेको छ।
हप्ताभरिमा २ अर्ब ५६ करोड ५६ लाख ४७ हजार रुपैयाँको कारोबार भयो। साताको अन्तिम दिन शेयर बजारमा सबैभन्दा बढी ७६ करोड ४० हजारको कारोबार भयो।
बिहीबार १६८ कम्पनीको २१ लाख २ हजार ६१ कित्ता शेयर खरिद विक्री भयो।
शेयर सूचक र कारोबार रकम दुवै बढेको बिहीबार उपसूचकहरु भने मिश्रीत देखिएका छन्।
आज सबैभन्दा बढी निर्जीवन वीमाको शेयर ३३२.४ अंकले बढ्यो। यस्तै जीवन वीमाको शेयर २७८.६९ अंकले बढेको छ। सबैभन्दा बढी उत्पादन उपसमूहको शेयर घटेको छ।
साताको अन्तिम दिन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयर सबैभन्दा बढी किनबेच भयो।
संस्थाको ८ करोड २८ लाखको कारोबार हुँदा डिप्रोक्स लघुवित्तको ४ करोड १७ लाख, एनएमबी बैंकको ३ करोड ८२ लाख तथा नेपाल लाइफ इन्सुरेन्सको शेयर ३ करोड ७० लाखको किनबेच भयो।
आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा गुराँस लभुवित्तका लगानीकर्ता छन्।