यो साता सेयर बजारले राजनीतिक समाचारको लय समातेको छ। सेयर बजारमा सबैभन्दा नाटकीय उतारचढाव साताको पछिल्लो दुई दिनको कारोबारमा देखिएको छ।
बुधबार पहिलो समाचार आयो, राष्ट्रिय सभामा वामदेव गौतम आउने, अर्थ मन्त्रीबाट युवराज खतिवडा बाहिरिने। सेयर बजार परिसूचक नेप्से त्यसदिन ५१ अंकले बढेर १५९६ मा पुग्यो। लगत्तै अर्को समाचार आयो, प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने। यो समाचार व्यापक भइसक्दा सेयर बजारमा बुधबारको कारोबार बन्द भइसकेको थियो।
बिहीबार मुख्य सञ्चार माध्यममा सत्तारुढ दलभित्रकै नेताहरुलाई उदृत गरी फरकफरक समाचार आएका थिए। केही समाचारले अर्थमन्त्रीमा युवराज खतिवडाले निरन्तरता नपाउने संकेत गरेका थिए भने अर्का समाचारले बामदेव गौतम राष्ट्रिय सभामा आउने संकेत गरेका थिए। बिहीबारको कारोबारमा पनि यो अन्योल प्रतिबिम्बित भएको छ।
बिहीबार बजार खुल्नै बित्तिकै नेप्से बुधबारको तुलनामा ३९ अंकले घटेर १५५७ अंकमा आएको थियो। बिहान ठूलो परिमाणमा कारोबार पनि भएको थिएन। बजार खुलेको झण्डै १० मिनेटपछि बजार ५२ अंकले बढेर १६०९ मा पुग्यो। यो उचाइमा पनि नेप्से धेरै बेर बसेन। बजार फेरि ओरालो लाग्यो। दिउसो १ बजेसम्म तीब्र उतारचढाव देखिएको बजार त्यसपछि स्थिर रुपमा अघि बढ्यो।
सामाजिक सञ्जालहरुमा वामदेव र युवराज खतिवडाको चर्चा थियो। ‘यो साताको कारोबारमा पूरै वामदेव–युवराज इफेक्ट देखिन्छ,’ एक सेयर दलालले भने, ‘बजारमा अरु कुनै नयाँ सूचना आएको छैन, कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्टको प्रभाव पनि सकिइसकेको थियो।’
अर्थ मन्त्री युवराज खतिवडा सेयर बजारमैत्री नभएको गुनासो लगानीकर्ताले गर्दै आएका छन्। ‘खतिवडा बाहिरिँदै छन् भन्ने खबरले उनीहरुलाई उत्साही बनाएको हो,’ उनले भने । विगतमा पनि यस्तो हुने गरेको उनले बताए।
लगानीकर्ताहरुले आफूले किन्दै वा बेच्दै गरेको कम्पनीको अवस्थालाई हेरेका छैनन्। ‘बजार बढ्नलाई एउटा बहाना चाहिएको थियो,’ उनले भने, ‘यी समाचारहरु नै बहाना भए।’ बजार बढेको बेलामा नयाँ लगानीकर्ता आउने, बजार अझै बढ्छ भन्ने मनोविज्ञानले काम गर्ने उनले जानकारी दिए।
यो साताको सुरूमै नेप्से ७० अंकले बढेको थियो, सोमबार दुई अंकले घट्यो। मंगलबारदेखि फेरि नेप्से लगातार बढ्यो। कारोबार रकममा यो साता दिनैपिच्छे नयाँनयाँ कीर्तिमान बने।
आइतबार स्टक एक्सचेन्जले ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको विज्ञप्ति जारी गरेको थियो। बुधबार ४ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो, बिहीबार ४ अर्ब ४६ करोड रुपैयाँ बराबरका सेयर किनबेच भए।
बिहीबारको नेप्सेको उतारचढावमा वाणिज्य बैंक समूहको ठूलो हात रहेको जानकार बताउँछन्। ‘बिहीबार वाणिज्य बैंक समूहको परिसूचक र समग्र नेप्सेको आकार एउटै छ,’ अर्का ब्रोकरले भने, ‘वाणिज्य बैंकहरूको सेयर मूल्य बढ्दा नेप्से बढेको छ, घट्दा घटेको छ।’
उनका अनुसार अघिल्ला दिनहरूको कारोबारमा वाणिज्य बैंकहरुको प्रभाव थिएन। बिहीबार सबैभन्दा उच्च दरमा सेयर मूल्य बढ्ने दस कम्पनीमध्ये ७ वाणिज्य बैंक छन्, घट्नेमा अधिकांश लघुवित्त समूहका कम्पनी छन्।
बैंकिङ समूह ८३ अंकले बढेको छ। विकास बैंक र उत्पादन समूह क्रमशः ३८ र १६ अंकले बढे।
व्यापार ४८, होटल २७, जलविद्युत २१, फाइनान्स ८, निर्जीवन बीमा समूह २१३, अन्य २२, माइक्रोफाइनान्स ५६ तथा जीवन बीमा समूह १६४ अंकले घटे।
यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड ९२ लाखको कारोबार भयो।
दोस्रोमा रहेको एनआइसी एसियाको २० करोड ५९ लाखको कारोबार हुँदा एनएमबि बैंकको १५ करोड ७० लाखको किनबेच भयो। उच्च नाफा कमाउनेमा एभरेष्ट बैंक, एसबिआई, हिमालयन र नविल बैंकका लगानीकर्ता रहे। ति सबै कम्पनीको साढे ९ प्रतिशत बढी मूल्य बढेको छ।
गुमाउनेमा ङादी पावर कम्पनी र सिनर्जी पावरका लगानीकर्ता अगाडि रहे। ति लगानीकर्ताले साढे ६ प्रतिशत बढी मूल्य गुमाए।