कोरोना महामारीका बीचमा खुलेको सेयर बजार सम्हालिएको छ।
बजार खुल्ने दिन अत्याधिक गिरावट आई सर्किट ब्रेकर लाग्ने धेरैको अनुमान थियो। यसअघि वैशाख ३० र ३१ गते खुलेको बजारमा पटक पटक सर्किट लागेको थियो।
त्यसयता नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। त्यसका वावजुत पनि सोमबार खुलेको बजारमा एक पटक पनि सर्किट लागेन।
नेप्से परिसूचक ११ सय ९७ अंकमा रहँदा खुलेको बजार सवा १२ बजेसम्म ११ सय ४९ अंकमा झर्यो। त्यति नै बेला खरिदकर्ताहरु सक्रिय भए र बजार उकालो लाग्न थाल्यो। उकालो लाग्दा बजार केही बेर हरियो रंगमा देखियो।
२ः ३५ बजे नेप्से १२ सय अंकमा पुगेको थियो। यद्यपी अन्त्यमा सामान्य गिरावट आई ११ सय ८८ अंकमा कायम रहन पुग्यो। अन्ततः १२ दशमलव ८७ अंकले नेप्से घटेर बन्द भयो।
यस दिन कतिपय कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन्। नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, इन्भेष्टमेन्ट बैंकका साधारण र संस्थापक दुवैतर्फका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा नाफा कमाए।
त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले साढे ८ प्रतिशत, गुडविल फाइनान्सकाले ६. ८ प्रतिशत नाफा कमाए।
बजारमा कारोबार पनि उल्लेख्य भएको छ। यसअघि वैशाख ३१ गते कारोबार रकम १ करोड पनि पुगेको थिएन। यस दिन ३४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा हिमालय डिस्टिलरी सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ३ करोड ४३ लाखको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया, नविल, एनएमबि, नेपाल बैंक कारोबारका आधारमा क्रमश अगाडि रहे।
यस दिन व्यापार समूह ३९, उत्पादन १०२, अन्य २० र जीवन बीमा समूह २३७ अंकले बढेका छन्।
बैंकिङ २५, होटल २६, विकास बैंक ६३, जलविद्युत १३, फाइनान्स ४, निर्जीवन बीमा समूह १०१ तथा माइक्रोफाइनान्स समूह ३९ अंकले घटेका छन्।
स्वाबलम्वन लघुवित्त, पुनर्बीमा कम्पनी, आशा लघुवित्त, इनिफिनिटी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतकै हाराहारीमा गुमाए। सान्जेन, अपि जलविद्युतको मूल्य ८ प्रतिशत बढीले घट्यो।