नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बीमा प्रकरणमा नियम विपरीत काम गरेको ठहर गर्दै दुई इन्स्योरेन्स कम्पनी, एक ब्रोकर र एक अधिकारीलाई कारबाही गरेको छ।
प्राधिकरणले 'हुलदंगा तथा आतंकवाद जोखिम' सम्बन्धी पुनर्बीमामा निर्देशन विपरीत कार्य गरेको भन्दै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई कबुलियत गरिएको, हिमालयन रि-इन्स्योरेन्स र दी ओरिएन्टल इन्स्योरेन्सलाई जनही दुई–दुई लाख रूपैयाँ जरिवाना गरेको हो।
यस्तै, एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनीको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरिएको प्राधिकरणकी निर्देशक तथा प्रवक्ता पुजन ढुंगेल अधिकारीले जानकारी दिइन्।
प्राधिकरणका अनुसार सम्बन्धित कम्पनीहरूले बीमा ऐन र निर्देशन विपरीत नियोजित रूपमा हिल्टन होटलको जोखिमको पुनर्बीमा हिमालयन रि–इन्स्योरेन्समा गरेका थिए।
तर, सो जोखिमको दायित्व भने सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीमा सार्ने प्रयास गरिएको देखिएपछि कारबाही गरिएको हो।
बीमा ऐन, २०७९ को दफा १३८ (४) अनुसार प्राधिकरणले कारबाही गरेको हो।
उक्त व्यवस्थाअनुसार निर्देशन उल्लंघन गरेमा पहिलो पटक दुई लाख, दोस्रो पटक २५ लाख र तेस्रो पटकदेखि प्रत्येक पटक ५० लाख रूपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ।
गत भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनका क्रममा हिल्टन होटलमा आगजनी हुँदा होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सो घटनापछि करिब ६ अर्ब रूपैयाँ बराबरको बीमा दाबी परेको थियो।
प्राधिकरणले ओरियण्टल इन्स्योरेन्स, पुनर्बीमा ब्रोकर कम्पनी एलियन्ट इन्स्योरेन्स ब्रोकर, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि-इन्स्योरेन्स सबैमाथि थप अनुसन्धान हुनुपर्ने र कारबाही गर्नपर्ने सुझावसहित अर्थमन्त्रालय हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत प्रतिवेदन पठाएको थियो।
यो पनिः
हिल्टन होटलको बीमामा त्रुटि, चार संस्थालाई कारबाही गर्न प्राधिकरणको पत्र