राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैंकहरूको पुससम्मको महत्वपूर्ण वित्तीय सूचकले आठ वटा बैंकहरूमा पुँजी कोष दबाब देखिएको छ।
राष्ट्र बैंकले केही ढिलो गरि आज (चैत ९ गते) यस्तो विवरण सार्वजनिक गरेको हो।
त्यसैले पछिल्लो समय बैंकहरूको यस्तो अनुपातमा थप सुधार भएको हुन सक्छ।
राष्ट्र बैंकको नियम अनुसार वाणिज्य बैंकहरूको न्यूनतम पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनुपर्छ।
हिमालयन बैंक, एनआइसी एसिया, माछापुच्छ्रे, प्रभु बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकमा दबाब देखिएको हो।
सबैभन्दा धेरै दबाब हिमालयन, प्रभु बैंक र सिटिजन्स बैंकलाई देखिएको छ।
हिमालयनको यस्तो ८.१९ प्रतिशत, प्रभुको ८.६८ प्रतिशत र सिटिजन्सको ८.६९ प्रतिशत छ।
कुमारीको यस्तो अनुपात ८.९३ प्रतिशत, एनआइसी एसियाको ८.७४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.९५ प्रतिशत छ।
एनएमबी बैंकको ८.७९ प्रतिशत र माछापुच्छ्रेको ८.८२ प्रतिशत छ।
अघिल्लो वर्ष कुमारीको यस्तो अनुपात ७.२३ प्रतिशतसम्म ओर्लिएको थियो। त्यसैले यस्तो अनुपातमा तुलनात्मक रूपमा सुधार देखिएको छ।
पुँजी कोष दबाबमा रहेका बैंकहरूले खराब कर्जामा सुधार नगर्दा वा पुँजी नबढाउँदासम्म थप कर्जा लगानी गर्न कठिन हुन्छ।
राष्ट्र बैंकले गत वर्ष नै पुँजी कोषमा गणना हुने अविमोच्य अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था पनि गरिदिएको थियो।
नबिल बैंक, एनएमबी बैंक, एनआइसी एसिया बैंक लगायतका केही बैंकले अविमोच्य अग्राधिकार सेयर जारी गरिसकेका छन् भने केही प्रक्रियामा छन्।
राष्ट्र बैंकको नियम अनुसार कुनै पनि त्रैमासमा यस्तो अनुपात ८.५ प्रतिशतभन्दा कम हुनेले सो वर्षको नाफा पछि लाभांश दिन नपाउने व्यवस्था छ।
यस आधारमा हिमालयन बैंकले चालु आर्थिक वर्षको नाफापछि लगानीकर्तालाई लाभांश दिन नपाउने भएको छ।
असोजमा ८.६८ प्रतिशत यस्तो अनुपात रहेको हिमालयन बैंकको पुसमा यो अनुपात थप घटेर ८.१९ प्रतिशतमा सीमित भएको हो।