ग्लोबल आइएमई बैंकले राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा सहकारीहरूको लागि 'कोप कार्ड' सेवाको शुभारम्भ गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूको लागि सहकारी पहिचान सहितको 'कोप कार्ड' को शुभारम्भ गरेकी हुन्।
यो कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल र भारतका एटिएम तथा पिओएस मार्फत जुनसुकै स्थानबाट सहजै चलाउन सकिने बैंकले बताएको छ।
यो कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरूले जारी गर्नेछन् ।
यस सहकार्य पश्चात मुलुकभरका करिब ३३ हजार सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन्।
सहकारीहरूले आफ्नो सदस्यहरूलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएमबाट रकम निकाल्न सक्नेछन् भने पिओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गरी भुक्तानी गर्न सक्नेछन्।
यसबाट सहकारी सदस्यहरुको सहकारी प्रतिको विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा चौबिसै घण्टा उपलब्ध हुने जानकारी दिइएको छ।
कोप कार्ड प्रयोग गर्ने ग्राहकहरूले ग्लोबल आइएमई बैंकको २६६ एटिएमबाट रकम निकाल्दा कुनै शुल्क नलाग्ने बैंकले बताएको छ।