उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको उम्मेदवारीका कारण चर्चामा रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरू भएको छ।
गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरू गरिएको जानकारी निर्वाचन अधिकृत चमिला भट्टराईले दिइन्।
यहाँ नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालयमा मतगणनाको व्यवस्था मिलाइएको छ।
'सर्वदलीय सहमतिपछि हामीले भर्खरै मतगणना सुरू गरेका छौं,' उनले सेतोपाटीसँग भनिन्, 'भोलि दिउँसोसम्म सक्ने योजना छ।'
यहाँ कुलमान घिसिङ सहित नेकपा एमालेका नेता रामेश्वर फुयाल, नेपाली कांग्रेसका रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दरसिंह बोहरा (सुन्दरराम) लगायत विभिन्न दलबाट १६ जना उम्मेदवार छन् भने ६ जना स्वतन्त्र उम्मेदवार छन्।
६४ हजार ४७९ मतदाता रहेको यो उत्तरपूर्वी काठमाडौं भूगोलका हिसाबले सानो निर्वाचन क्षेत्र हो, जहाँ १३ वटा वडा मात्र छन्।
कागेश्वरी मनोहरा नगरपालिकाकाको वडा नम्बर १ (गागलफेदी), २ (आलापोट), ३ (भद्रबास र डाँछीका केही भाग); गोकर्णेश्वर नगरपालिकाको वडा १ (सुन्दरीजल), २ (नयाँपाटी), ३ (बालुवा), ४ (गोकर्ण), ५ (जोरपाटी चोक), ६ (नयाँ बस्ती), ७ (दक्षिणढोका), ८ (आत्तरखेल), ९ (आरूबारी) र काठमाडौं महानगरपालिकाका ६ नम्बर वडा यो निर्वाचन क्षेत्रमा समेटिएका छन्।
यस निर्वाचन क्षेत्रभित्र ठूलो मताधार जोरपाटी र बौद्ध क्षेत्रमै छ। त्यसमध्ये काठमाडौं–६, गोकर्णेश्वर–६, ५ र ८ नम्बर वडामा बढी मतदाता छन्।