आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ।
विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन्।
बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रूपैयाँ कर सरकारलाई तिरेको थियो।
पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताै पटक हो।
नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सिइओ ढुंगानाले वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुशी लागेको बताए।
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रूपैयाँ कर बुझाएको छ। यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १.३२ गुणा रकम हो।
बैंकले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रूपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनस शेयर वितरण गरिसकेको छ।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको जनाएको छ।