गत मंगलबार नयाँ ब्रोकर थप्न लागिएको विषयमा अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग स्पष्टीकरण सोधेको थियो।
स्पष्टीकरणको क्रममा अध्यक्ष हमालले नयाँ ब्रोकर थप्दा हुने प्रतिस्पर्धाको सम्भावना देखाएका थिए।
उनले भनेका थिए, 'भारतमा ब्रोकरहरूको कमिसन तोकिएको छैन, उनीहरूलाई सेवाग्राहीसँग लिन सक्ने अधिकतम कमिसन मात्रै तोकिएको छ, त्यसैले त्यहाँ कम कमिसनमा समेत सेवाग्राहीले सेवा पाइरहेका छन्।'
उनले धेरै ब्रोकर हुँदा यहाँ पनि त्यस्तो अभ्यासमा जान सकिने सम्भावना हुनसक्ने बताएका थिए। हाल बजारमा ५० वटा ब्रोकर सञ्चालनमा आइसकेका छन्। ११ वटाले हालै सञ्चालन अनुमति पाइसकेको छन्। थप ३२ वटा अनुमति प्राप्त गर्ने चरणमा छन्।
यससँगै सेयर बजारमा ब्रोकर कमिसन घट्ने लगानीकर्ताहरूमा अपेक्षा बढेको छ। यही कारण केही दिनदेखि बढ्दो प्रवृत्तिमा देखिएको नेप्से परिसूचक आइतबार ६२ अंकले बढ्यो।
नेप्सेले २१ सयको बिन्दुमा दरिलो टेवा पाएको मान्ने लगानीकर्ताहरू पनि उत्तिकै छन् भने ब्रोकर कमिसन घट्ने चर्चाले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ। प्राविधिक र मनोवैज्ञानिक दुवै कारणले अहिले सेयर बजार बढ्दो क्रममा देखिएको हो।
बजारले ब्रोकर कमिसन घटाउने कुरामा सकारात्मक प्रतिक्रिया जनाइरहँदा हमालले अहिले भने त्यस्तो तयारी भइनसकेको स्पष्ट पारेका छन्।
'यो विषयमा हाम्रो धारणा पहिलेदेखि नै बनेको हो, तर अर्थसमितिको बैठकमा कमिसन घटाइहाल्ने विषय बारे बोलेको छैन,' हमालले सेतापाटीसँगको कुराकानीमा भने।
उनले आफूले ब्रोकर बन्न वा बाहिरिन खुला प्रणालीको अभ्यास गरेको र अन्य मुलुकमा जस्तै यहाँ पनि ब्रोकर कमिसनको माथिल्लो सीमा राख्न सकिने भए पनि तत्काललाई भने यसमा कुनै पनि काम नभएको स्पष्ट पारेका हुन्।
हाल कारोबार रकमका आधारमा ब्रोकर कमिसन ०.२७ देखि ०.४ प्रतिशतसम्म लाग्छ। कम रकमको कारोबारमा धेरै र धेरै रकमको कारोबारमा कम कमिसन लाग्ने गरेको छ।
५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत ब्रोकर कमिसन काटिन्छ।
त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्छ।
हमाल आएपछि नै बोर्डले २०७७ पुसमा ब्रोकर कमिसन घटाएको थियो।