सोमबार पनि नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ।
आज नेप्से २१.३२ अंकले घटेर २०७५.९७ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७६ वटा धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार सिवाइसी नेपाल लघुवित्त र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः १ हजार २८९ रुपैयाँ र १ हजार ५५४ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०८ रुपैयाँ ९० पैसा पुगेको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ८.९५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६५ पैसामा सीमित भएको छ।
यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ७.१३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९२५ रुपैयाँमा झरेको छ।
सोमबार हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५३२ रुपैयाँमा २३ करोड ९४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.१० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८४ रुपैयाँ ८० पैसामा २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज होटल्स तथा पर्यटन समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले बढेको छ।
यस्तै, जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले घटेको छ।