पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको ब्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन्।
खुल्ला बजारको अवधारणमा बैंकको ब्याजदर निर्धारण गर्न कुनै पक्षले एकरूपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिस्पर्धी बन्न नसकेको बताएका हुन्।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नाफिज संवादमा आर्थिक पत्रकारहरूलाई प्रशिक्षण दिँदै पूर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरूको ब्याजदरमा एकरूपता ल्याउने अभ्यास गर्न नहुने बताए।
'विगतदेखि भइरहेको अभ्यासले प्रतिस्पर्धी बजारको विकास हुन सकेको छैन,' उनले भने, 'यस सम्बन्धमा अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला आएको छ।'
परिस्थिति अहसज भएका बेला बैंकहरूले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भए पनि अहिले स्थिति सहज भएको भन्दै क्षेत्रीले ब्याजदर निर्धारणको जिम्मा बैंकहरू स्वयमलाई दिनुपर्नेमा जोड दिए।
उनकाअनुसार बैंकिङ क्षेत्रमा अहिले साढे ३ खर्ब रूपैयाँभन्दा बढी लगानीयोग्य रकम छ। यस्तो अवस्थामा बैंकहरूले आफू अनुकुल ब्याजदर निर्धारण गर्नुपर्ने उनको भनाइ छ।
'हिजो बजार असहज अवस्थामा हुँदा बैंकर्स संघले ब्याजदर नियन्त्रण गर्न राम्रो भुमिका खेलेको थियो, नेपाल राष्ट्र बैंकले अनौपचारिक दबाब पनि दिएको हो,' क्षेत्रीले भने, 'अहिले साढे ३ खर्बभन्दा बढी लगानीयोग्य रकम छ। यस्तोमा ब्याजदर बढाउने की घटाउने बैंकलाई नै छोड्नुपर्छ।'
अहिले बजारमा बैंकहरूसँग ३ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ। बैंकहरूसँग कुल स्रोत ५९ खर्ब २५ अर्ब रुपैयाँबाट ९० प्रतिशत सिडी अनुपातको आधारमा ५३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्ने क्षमता छ।
तर, शनिबारसम्मको तथ्यांकअनुसार ४९ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको छ। अर्थात् बैंकहरूसँग ३ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानीयोग्य पुँजी छ।
चालु आर्थिक वर्षको साढे ११ महिनामा बैंकहरूले १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह गरेका छन्। अर्थात् बैंकको क्षमता अनुसार कर्जा प्रवाह हुने हो भने दुई साताभन्दा कमको अवधिमा साढे ११ महिनाको भन्दा ३ गुणा बढी कर्जा प्रवाह गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल कर्जा प्रवाह १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको थियो। तर, साढे ११ महिनामा ३.०८ प्रतिशतले मात्र कर्जा प्रवाह बढेको छ।
बाँकी अवधिमा केन्द्रीय बैंकको लक्ष्यअनुसार कर्जा प्रवाह हासिल हुन बजारमा पर्याप्त लगानीयोग्य रकम भए पनि लक्ष्य पूरा हुने देखिँदैन।
पूर्व बैंकर क्षेत्रीले नेपालको कर्जा–जिडिपी अनुपात पनि दक्षिण एशियाली क्षेत्रकै सबैभन्दा बढी रहेको बताए। नेपालमा बैंकहरूले मात्र कर्जा प्रवाह गर्छन्। विदेशमा कर्पोरेट क्षेत्रले बैंकसँगै धितोपत्र बजार र विदेशी संस्थाबाट विभिन्न उपकरणका माध्यमबाट पनि ऋण लिन्छन्।
जसका कारण ति मुलुकमा कुल ग्राहस्थ उत्पादनमा कर्जाको अनुपात थोरै भएको देखिन्छ। तर नेपालको सन्दर्भमा भने कर्जा बैंकबाट मात्र परिचालन हुने भन्ने बुझाइ र व्यवहारले कुल ग्राहस्थ उत्पादनमा कर्जाको हिस्सा धेरै हुने गरेको उनी बताउँछन्।
ऋणका सबै स्रोत मिलाउँदा पनि नेपालको कुल ग्राहस्थ उत्पादनमा कर्जाको अनुपात दक्षिण एशिया क्षेत्रकै बढी हुने क्षेत्रीको ठहर छ। यद्यपी यी सबै कर्जा उत्पादनमूलक क्षेत्रमा भन्दा व्यापारिक क्षेत्रमा प्रवाह भएकाले आर्थिक वृद्धिमा योगदान दिन नसकेको क्षेत्रीको भनाइ छ।