साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक स्थिर रहेको छ।
बुधबार ३९.२६ अंकले घटेर २०४९ बिन्दुमा बन्द भएको सेयर बजार बिहीबार पनि सोही बिन्दुमा पुगेर बन्द भएको हो।
दिनभर उतारचढावमा रहेको सेयर बजार २ बजेर १६ मिनेटमा बढेर २०६२ बिन्दुसम्म पुगेको थियो। सो पछि घटेको बजार अन्तिममा घटेर उक्त बिन्दुमा बन्द भएको हो।
बिहीबार कारोबार रकम पनि अघिल्लो दिन बराबर भएको छ।
गत कारोबार दिन ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १२६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँ पुगेको छ।
यस दिन २८० वटा धितोपत्रको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार सिटी होटल र रावा इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
सिटी होटलको सेयर मूल्य ६७७ रुपैयाँ १० पैसा पुगेको छ।
यस्तै, रावा इनर्जीको प्रतिकित्ता मूल्य ३०१ रुपैयाँ ६० पैसा पुगेको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा मोदी इनर्जी रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २१८ रुपैयाँ ७० पैसामा सीमित भएको छ।
यस्तै, अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य ५.६७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २५३ रुपैयाँमा झरेको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५९७ रुपैयाँमा १८ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा प्रभु लाइफ इन्स्योरेन्सको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १०० रुपैयाँमा १६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले बढेको छ।